भारतीय गायिका आशा भोसलेको निधन



हाम्रो इकोनोमि

 

 

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल लगिएकी उनलाई शनिबार राति आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

७ दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र होइन, विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन् । उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन् ।

उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ । गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका छन् । भारतीय संचारमाध्यमले पनि उनको निधनको खबर लेखेका छन् ।

उनको अन्त्येष्टि भोलि सोमबार गरिने परिवारले जनाएको छ । भारतीय सिनेमाकी सबैभन्दा सफल, लोकप्रिय र अत्यन्तै सक्रिय गायिकामध्ये एक भोसलेको स्थान हिन्दी फिल्म संगीतमा उनकी दिदी स्वर्गीय लता मंगेशकरसँग मात्र तुलना गरिन्थ्यो ।

सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गरेकी थिइन् । उनले सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी थिइन् भने १९५० को दशकसम्म आइपुग्दा बलिउडमा आफ्नै पहिचान स्थापित गरिसकेकी थिइन् । त्यसपछिका तीन दशकसम्म उनी अधिकांश संगीतकारहरूको रोजाइकी गायिका बनिरहेकी थिइन् ।

सुरुआती समयमा उनलाई नृत्यप्रधान गीतमा मात्र सीमित गरिए पनि उनले आफ्नो दायरा फराकिलो बनाउँदै ‘उमराव जान’ जस्ता फिल्ममा गजल गायनमा पनि उत्कृष्टता देखाइन् ।

उनी फिल्मफेयर उत्कृष्ट महिला पाश्र्वगायनतर्फ सात पटक सम्मानित भएकी थिइन् । साथै, ‘उमराव जान’को ‘दिल चीज क्या है’ र ‘इजाजत’को ‘मेरा कुछ सामान’ गीतका लागि दुई पटक राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन् ।

सन् २०२३ मा हिन्दुस्तान टाइम्ससँगको एक अन्तर्वार्तामा आशा भोसलेले समकालीन संगीतबारे आफ्ना विचार व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको आयकर योगदान ३१ अर्ब ९३ करोड

     नबिल बैंकले स्थापना भएदेखि आर्थिक वर्ष २०८२/८३ सम्म सरकारलाई ३१ अर्ब...

आधिकारिक कांग्रेस हामी हौँ : विमलेन्द्र निधी

    नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशनको तयारी...

स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

   निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने...

तोलामा १२ हजार दुई सयले घट्यो सुनको भाउ

    स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला...