इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

 अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । इरानभर भएका हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक छ ।

राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई ‘जंगली कार्य’ र ‘आक्रमणकारीहरूले गरेका असंख्य अपराधहरूको इतिहासमा अर्को कालो पाना’ भनेर टिप्पणी गरेका छन् ।

इजरायल र अमेरिकाबाट भने विद्यालयमा आक्रमण भएको विषय पुष्टि भएको छैन । उक्त विद्यालय इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) को क्याम्पबाट करिब ६०० मिटर नजिकै पर्दछ । आईआरजीसी क्याम्प इजरायल र अमेरिकाको आक्रमणको निशाना बनेको थियो ।

एक अधिकारीका अनुसार होर्मोजगान प्रान्तको मिनाब सहरस्थित उक्त विद्यालयमाथि तीनवटा मिसाइल खसेका थिए ।जेनेभामा रहेका रेडक्रस र रेड क्रिसेन्टका अधिकारीहरूले घटनापछि विद्यालयतर्फ उद्धार टोली परिचालन गरिएको बताएका छन् ।

बीबीसीले विस्फोटपछिको अवस्थासम्बन्धी केही भिडियो क्लिपहरू प्रमाणीकरण गरेको जनाएको छ, जसमा एक भवनबाट धुवाँ उडिरहेको, वरिपरि मानिसहरूको भीड लागेको र चिच्याइरहेको सुनिन्छ ।

तर मृतकको संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न भने नसकेको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई प्राय: इरानमा भिसा नदिइने भएकाले त्यहाँ तथ्य संकलन गर्न कठिन हुने गर्दछ ।

घटनापछि इरानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरेका छन् । विदेशमा बस्ने र इरानमाथि सैनिक हस्तक्षेपको विरोध गर्ने एक इरानीले लेखेका छन्, ‘यस युद्धका पहिलो पीडित मिनाबका ४० बालिकाहरू हुन्, जो मिसाइल आक्रमणमा परे । के तपाईंहरूले समर्थन गरेको युद्ध यही हो ?’

तर इरानी शासनप्रति गहिरो अविश्वास रहेकाले धेरैलाई सरकारी विवरण स्वीकार गर्न गाह्रो भएको छ, र केहीले सीधै शासनलाई नै दोष दिएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘यदि शासनले विद्यालयलाई प्रत्यक्ष रूपमा निशाना नबनाएको भए पनि, मिनाबमा बालबालिकाको मृत्युको जिम्मेवारी इस्लामिक गणतन्त्रकै हो ।

‘जनतासँग आश्रयस्थल छैन, इन्टरनेट काटिएको छ, फोन सेवा बन्द छ र बालबालिकालाई विद्यालय नजान चेतावनीसमेत दिइएको छैन । यस्तो अवस्थामा घरमै बस्नुपर्थ्यो,’ उनले लेखेका छन् । यो विद्यालयको त्रासदी अमेरिका र इजरायलले शनिबारभर इरानका विभिन्न सहरमा लगातार हवाई आक्रमण गरिरहेका बेला भएको हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...