फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा मतदान समेत नगर्ने भएका छन् । विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि स्तब्ध बनेका देउवा निर्वाचन आयोगले आफूलाई आधिकारिकता नदिएपछि विचलित थिए ।
सर्वाेच्च अदालतले समेत अन्तरिम आदेश नदिएपछि अन्तिमपटक रुख चिह्नबाट चुनाव लड्ने प्रयास गरेका थिए । तर सभापति गगन थापाले टिकट नदिएपछि देउवा प्रतिनिधि सभा निर्वाचनका सबै प्रक्रियाबाट बाहिर छन् ।

उनलाई ‘बदलिएको कांग्रेस’का पदाधिकारीहरुले विभिन्न च्यानलबाट पार्टीको चुनावी अभियानलाई साथ दिन आग्रह गरे पनि उनले मानेका छैनन् । कांग्रेसका उम्मेदवारलाई जिताउनका लागि रुखमा मत माग्ने अपिलमात्र भने पनि सार्वजनिक गराउने प्रयास समेत सफल भएको छैन ।

प्रवक्ता देवराज चालिसेले पूर्व सभापति देउवालाई पार्टीका उम्मेदवार जिताउने अभियानमा सामेल गराउने प्रयास भइरहेका बताएका छन् । तर देउवाको सचिवालयले भने कसैसँग भेटघाट र कुराकानी नभएको तथा कसैको प्रचारमा जाने सम्भावना पनि नरहेको प्रष्ट पारेको छ ।

डडेलधुराबाट २०४८ देखि लगातार ७ वटा चुनावमा कांग्रेसको उम्मेदवार भएर सातैपटक जितेका देउवा अन्तिम चुनाव लड्न नपाएपछि घरबाट निस्केका छैनन् । उनको ठाउँमा उनीनिकटकै युवा नेता नैनसिंह महरले टिकट पाएका छन् । महरले देउवाको फोटो राखेरै आफ्नो चुनाव प्रचार गरिरहेका छन् ।

सचिवालय स्रोतले भन्यो–बदलियो कांग्रेस,बदल्छौं देश भन्ने नेताहरुले शेरबहादुरको अनुहार देखाएर चुनाव गयौं भने हारिन्छ भनेर सेटिङ मिलाएर जबर्जस्ती पार्टी कब्जा गरेको होइन ? अहिले आएर उहाँहरुलाई किन देउवा चाहियो ? देउवाको अपिल वा देउवा अभियानमा हिँड्दा कांग्रेसको भोट घट्यो भन्ने आरोप भोलि चुनावपछि उहाँहरुले नै लगाउने सम्भावना भएकाले उहाँ चुपचाप सबै अत्याचार सहेर बस्नुभएको छ ।

यसबीचमा महरसहित जिल्ला सभापति भिम साउदलगायतले देउवालाई एकपटक भने पनि डडेलधुरा लैजान गरेको प्रयास असफल भएको छ। देउवा यसपटक भोट हाल्न पनि डडेलधुरा नआउने जानकारी महरलाई गराइएको छ । यद्यपी औपचारिक रुपमा भनिएको छैन र देउवालाई फागुन २१ मै भने पनि डडेलधुरामा देखाउने प्रयास जारी छ ।

तर स्वास्थ्य र सुरक्षाको कारण देउवा मतदानको लागि डडेलधुरा जाने सम्भावना लगभग अन्त्य भएको निकट स्रोतले जनाएको छ । फागुन २१ को चुनाव लगत्तै कांग्रेसमा निर्णायक लडाइ शुरु हुने र त्यो कानूनी तथा राजनीतिक दुवै मोर्चाबाट गरिने भएकाले देउवासहितका साबिक संस्थापन पक्षका शीर्षस्थ नेताहरु अहिले रणनीति बनाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...