ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’



हाम्रो इकोनोमि

 

 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा (एमाले) की उम्मेदवार अस्मिता थापाले ओखलढुङ्गाको सर्वाङ्गीण विकासका लागि आफ्नो ६ बुँदे मुख्य कार्ययोजना सार्वजनिक गरेकी छिन् । “समृद्ध ओखलढुङ्गा र सुखी ओखलढुङ्गावासी” को नारासहित चुनावी मैदानमा होमिएकी थापाले भौतिक पूर्वाधार, कृषि, प्रविधि, उद्यमशीलता, युवा परिचालन र शिक्षालाई आफ्नो मूल एजेन्डा बनाएकी छिन् ।

थापाको पहिलो प्राथमिकतामा जिल्लाको ‘लाइफलाइन’ मानिएका सडक कोरिडोरहरू रहेका छन् । दूधकोशी, मोलुङ र लिखु कोरिडोरको निर्माणलाई यथाशीघ्र सम्पन्न गरी बाह्रै महिना यातायात चल्ने सुनिश्चित गर्ने उनले प्रतिवद्धता जनाएकी छिन्। ग्रामीण बस्तीहरूलाई सदरमुकाम र मुख्य राजमार्गसँग जोड्दै ओखलढुङ्गालाई सडक सञ्जालमा नमुना बनाउने उनको योजना छ ।

परम्परागत खेतीलाई विस्थापित गरी व्यवसायिक र आधुनिक कृषि प्रणाली लागू गर्ने थापाको दोस्रो संकल्प हो। उनले कृषि सहकारीमार्फत किसानको उत्पादन बिक्रीको ग्यारेन्टी गर्ने, चिस्यान केन्द्र (कोल्ड स्टोरेज) निर्माण गर्ने र बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि राष्ट्रियस्तरको कार्यक्रम ल्याउने ठोस योजना अघि सारेकी छिन् ।

युवा पुस्तालाई लक्षित गर्दै थापाले ‘डिजिटल ओखलढुङ्गा’ को अवधारणा ल्याएकी छिन्। सस्तो र तीव्र इन्टरनेटको पहुँचसँगै जिल्लामा ‘आईटी हब’ (Information Technology Hub) स्थापना गरी किशोर-किशोरी र युवाहरूलाई प्रविधिमार्फत स्वरोजगार बनाउने उनको दाबी छ। यसले ओखलढुङ्गाका युवालाई विश्व बजारसँग जोड्ने विश्वास गरिएको छ ।

स्थानीय कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरूको प्रवद्र्धनलाई थापाले विशेष जोड दिएकी छिन्। डेरी, जडिबुटी प्रशोधन, चिया र अलैँची जस्ता स्थानीय उत्पादनलाई ब्रान्डिङ गरी बजार विस्तार गर्ने र महिला समूहहरूलाई सीपमूलक तालिममार्फत आर्थिक रूपमा सबल बनाउने उनको कार्ययोजनामा उल्लेख छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको सीपलाई स्वदेशमै उपयोग गर्न उनले सहुलियत कर्जा र अनुदानको नीति लिने बताएकी छिन्। ‘गाउँ फर्क’ अभियानलाई नारामा मात्र सीमित नराखी नीतिगत रूपमै कार्यान्वयन गर्ने र युवा प्रतिभाहरूलाई खेलकुद तथा अन्य क्षेत्रमा अघि बढाउन जिल्लाभर खेल मैदान र तालिम केन्द्रहरू निर्माण गर्ने उनको योजना छ ।

शिक्षालाई केवल प्रमाणपत्रमा मात्र सीमित नराखी सीप र रोजगारीसँग जोड्ने थापाको अन्तिम तर महत्त्वपूर्ण संकल्प हो । संस्कारयुक्त, व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार गर्ने र ओखलढुङ्गालाई शैक्षिक केन्द्रको रूपमा विकास गर्ने उनले प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

नेकपा (एमाले) को तर्फबाट अघि सारिएका यी ६ वटा खम्बाहरूले ओखलढुङ्गाको भविष्य बदल्ने र एक सक्षम नेतृत्वको रूपमा अस्मिता थापाले जिल्लाको आवाज संसदमा बुलन्द पार्ने स्थानीय नेता तथा कार्यकर्ताहरूको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...