६ महिनामा २० अर्बको धानचामल आयात



हाम्रो इकोनोमि

 

 

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा चामल आयात गर्न करिब साढे २० अर्ब रुपैयाँ बराबर खर्च गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको ६ महिनामा नेपालले २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको हो ।

विभागका अनुसार गत आव २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष धान र चामल आयातमा १ अर्ब २८ करोड रुपैयाँभन्दा धेरै वृद्धि देखिएको हो ।

गत वर्ष साउनदेखि पुससम्म नेपालले १९ अर्ब ९ करोड ९६ लाख  बराबरको धान र चामल आयात गरेको थियो । सोही अवधिको तुलनामा धानचामल आयात मूल्य करिब ६.७३ प्रतिशतले वृद्धि भएको छ ।

चालु आव पुससम्म ४ अर्ब २७ करोड १२ लाखको बासमती चामल आयात भएको छ, जुन गत वर्ष सोही अवधिमा ३ अर्ब ७६ करोड ७३ लाखमात्र थियो ।

त्यसैगरी अन्य अर्ध–पालिस वा पूर्ण पालिस गरिएका चामल आयात पनि उल्लेख्य बढेको छ । गत वर्ष ४ अर्ब ९० करोड ५६ लाख रुपैयाँको यस्तो चामल भित्रिएकोमा यस वर्ष बढेर ६ अर्ब २ करोड ६ लाख पुगेको छ ।

प्रशोधित चामल आयात बढे पनि धान आयातमा भने सामान्य गिरावट आएको छ । गत वर्ष ६ महिनामा १० अर्ब ४२ करोड ४४ लाख बराबरको २७ करोड ५५ लाख किलो धान आयात भएकोमा यस वर्ष ९ अर्ब ८७ करोड ९ लाख र परिमाण २७ करोड ७ लाख किलोमा झरेको छ ।

यसैगरी बिउका लागि प्रयोग हुने धान आयात भने यस वर्ष बढेर २२ लाख ८३ हजार रुपैयाँ पुगेको छ, जबकि गत वर्ष ६० किलो बिउका लागि जम्मा ४ हजार रुपैयाँमात्र बाहिरिएको थियो ।

गत वर्ष पहिलो ६ महिनामा जम्मा १७ लाख ५४ हजार रुपैयाँको कनिका आयात भएकोमा यस वर्ष ५३ लाख ३० हजार किलोभन्दा बढी परिमाणको २२ करोड ७ लाख ६८ हजार बराबरको कनिका नेपाल भित्रिएको छ ।

तथ्यांक अनुसार आयात मूल्य बढे पनि सरकारले संकलन गर्ने राजस्वमा भने गिरावट आएको छ । गत वर्ष धानचामल आयातबाट १ अर्ब ७६ करोड ८७ लाख बराबर राजस्व संकलन भएकोमा यस वर्ष घटेर १ अर्ब ४४ करोड २६ लाखमा खुम्चिएको छ ।

मुलुकभित्र उत्पादन बढाउने सरकारी नीति भए पनि मुख्य खाद्यान्नमा परनिर्भरताको दर झन् बढ्दै जानुले अर्थतन्त्रमा थप चुनौती थपेको छ ।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...