आफ्नै दल बनाउने बालेनको योजना, रविको नेतृत्व नस्वीकार्ने



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक सक्रियता बढाएका छन् । आफ्नै नेतृत्वमा पार्टी बनाउने गृहकार्य अनुसार उनले विभिन्न दलका नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग छलफल गरेका छन् । यसैक्रममा ललितपुरको कुपण्डोलस्थित एक घरमा गएराति अबेरसम्म बालेनले विभिन्न व्यक्तिहरुसँग अलग–अलग र सामूहिक छलफल गरेका थिए । छलफल आज पनि जारी रहने स्रोतले जनायो ।

बालेनसँग बुधबारको छलफलमा राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेन–जेजी फ्रन्टलगायत केही सञ्चारकर्मीहरू सहभागी थिए । स्रोतका अनुसार छलफलमा नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, मिलन पाण्डे, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकालसमेत सहभागी थिए । मिडियाकर्मी सुरजसिंह ठकुरी र ऋषी धमलासँग पनि बालेनले छलफल गरेको स्रोतको भनाइ छ ।

यस्ता छलफल निरन्तर अगाडि बढाउने कुरा छ । आफ्नै नेतृत्वमा दल बनाउने मुडमा छन् बालेन । गत सोमबार बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग कमलपोखरीमा छलफल गरेका थिए । सो छलफल टुंगोमा नपुगेपछि उनले बुधबार अन्यसँग छलफल चलाएको स्रोत बताउँछ ।

बुधबार बालेनसँगको छलफलमा सहभागीहरुका अनुसार बालेन आफ्नै नेतृत्वमा दल बनाउने मुडमा छन् । छलफलमा सहभागी स्रोतले भन्यो, देश विकास पार्टीको नेतृत्व आफैंले गर्ने र लौरो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने बालेनको मुड बुझियो ।

देश विकास पार्टीको अध्यक्ष हाल सन्ध्या खनाल छिन् । पहिले इन्जिनियर अनन्तराज घिमिरे नेतृत्वमा रहेको ‘हाम्रो नेपाली पार्टी’लाई अध्यावधिक गरेर ‘देश विकास पार्टी’बनाइएको हो । चुनाव चिह्न ‘हाम्रो नेपाली पार्टी’कै लौरो नै कायम गरिएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदको चुनाव बालेनले लौरो चुनाव चिह्नबाटै जितेका थिए ।

 

रविको नेतृत्व बालेनले नस्वीकार्ने संकेत

यसअघि गत सोमबार कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम साहको कार्यालय भवनमा रवि लामिछाने र बालेन साहबीच मध्यरातसम्म छलफल भएको थियो । छलफलपछि एउटै गाडी चढेर बाहिरिएको दृष्यले धेरैलाई उनीहरु अब एउटै पार्टीमा रहने अनुमान गरेका थिए । तर बुधबार कुपण्डोलको छलफलमा बालेनले रविको नेतृत्वमा नभई आफ्नै नेतृत्वमा जेनजीसहितका नयाँ शक्तिलाई समेटेर अघि बढ्न खोजेको संकेत गरे ।

उहाँका कुराबाट के बुझियो भने रविसँग छलफल भए पनि पार्टीको नेतृत्व आफैंले गर्ने, अरुको नेतृत्वमा नजाने भन्ने हो, छलफलमा सहभागी एक नेताले भने । कमलपोखरी छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो ।

त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरु निकट नेताहरुले बताएका थिए । तर बुधबारको छलफलमा बालेनले रविको नेतृत्व नस्वीकार्ने संकेत गरेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...