एमाले महाधिवेशनस्थलमा मञ्च निर्माण अन्तिम चरणमा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)को ११ औं महाधिवेशनको उद्घाटन सभा हुने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम धमाधम भइरहेको छ । भोलि २७ मंसिरमा हुने उद्घाटन समारोहको निर्माणस्थल र पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन प्रतिनिधिहरूको बाक्लो चहलपहल देखिएको छ ।

देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले उद्घाटनस्थल अवलोकन, तथा पार्टी कार्यालयमा भेटघाट, भिडियो कैद, सामाजिक सञ्जालका सामग्री निर्माण जस्ता गतिविधि गरेसँगै भीड बढ्दै गएको हो ।

उद्घाटनस्थल विश्व सम्पदा सूचीमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी निर्माण हुँदैछ । भक्तपुरसहित उपत्यकाका ऐतिहासिक–सांस्कृतिक सम्पदाको पहिचानलाई मञ्चमा समेटिने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण भइरहेको छ । मञ्चको दायाँ–बायाँ हिमालको आकृति बनाइँदै गर्दा स्थलमा कार्यकर्ता र स्थानीय नागरिकको भीड थपिएको छ ।

मञ्च निर्माणमा खटिनु भएकी एमाले भक्तपुर जिल्ला उपाध्यक्ष तथा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले रातदिन मञ्च निर्माण, अस्थायी संरचना स्थापनासहितका काम जारी रहने बताए । उनका अनुसार मञ्चको मुख्य संरचना लगभग तयार भइसकेको छ भने करिब ३० वटा अस्थायी शौचालय, प्रवेशद्वार तथा आवश्यक अन्य संरचनाहरू बनाउने काम तीव्रताका साथ जारी रहेको छ ।

चाँगुनारायण मन्दिरको आभास दिनेगरी निर्माण भइरहेको मुख्य मञ्च बाहिरबाट हेर्दा नै आकर्षक देखिने र मञ्चबाट उभिएर मन्तव्य दिँदा मन्दिरको सिँढीमै उभिएको अनुभूति हुनेगरी विशेष डिजाइन गरिएको उनले बताए । मञ्चमा नेवारी कला–संस्कृति झल्कने दृश्य, प्रतीक तथा सजावटका संरचनाहरू राखिनेछन् । मञ्चको उत्तरतर्फ करिब ३० वटा अस्थायी शौचालय निर्माण भइरहेको छ । त्यस्तै, उद्घाटनका दिन झाँकी प्रदर्शन गर्ने गेट, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूका लागि छुट्टै प्रवेशद्वार र सर्वसाधारणका लागि पृथक गेट निर्माण हुँदैछ ।

उद्घाटन समारोहस्थलमा तीन लाखसम्म अट्ने गरी तयारी भइरहेको छ । प्रमुख दर्शकस्थलतर्फ २५ हजार कुर्सी राखिने र एमालेसहित विभिन्न दलका शीर्ष नेता, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी हुने व्यवस्था मिलाइँदै गरिएको उपाध्यक्ष थापाले बताए ।

मञ्च निर्माण स्थलमा अनुगमन गर्न पुगेका एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले कार्यक्रम भव्य र अनुशासित बनाउन १० हजार नेसनल भोलेन्टियर तथा अन्य जनसंगठनका स्वयंसेवक परिचालन गरिने जानकारी दिए । उनका अनुसार पोसाकसहितका ५ सय ५० स्वयंसेवक विशेष रूपमा व्यवस्था गरिनेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ गते मध्यान्हमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेकाले पूर्वतर्फबाट जगाती र पश्चिमतर्फबाट गठ्ठाघर हुँदै विशाल र्‍यालीसहित सहभागीहरू सभास्थलतर्फ जाने व्यवस्थासमेत मिलाइएको उनले बताए ।

यसअघि पार्टी अध्यक्ष ओलीको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर भक्तपुरका चारै नगरपालिका क्षेत्रमा घरदैलो अभियान सकिएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए । उनका अनुसार वडाअनुसार कार्यकर्ताहरूले घरघरमा पुगेर करिब २२ हजार निमन्त्रणा पत्र वितरण गरिसकेका छन् । बिहीबारैविभिन्न स्थानमा ब्यानर, पार्टी झण्डा राखी प्रचार–प्रसार गरिएको र आजदेखि माइकिङ सुरु गरिने जानकारी उनले दिए ।

उद्घाटनका दिन भक्तपुरका सबै वडाबाट सांस्कृतिक झाँकीसहितको र्‍याली प्रदर्शन गरी कार्यक्रमस्थल प्रवेश गर्ने तयारीसमेत समापन भइरहेको देउजाले बताए । भक्तपुरबाट मात्रै करिब २५ हजार कार्यकर्ता सहभागी गराउने लक्ष्य राखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...