योगेश भट्टराईले राखे संसद्‌ पुनर्स्थापना प्रस्ताव



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि ५ बुँदे प्रस्ताव अघि सारेका छन् । पुनर्स्थापित प्रतिनिधि सभाबाट अब पूर्वप्रधानमन्त्रीहरूलाई पुन: प्रधानमन्त्री नियुक्त नगर्ने शर्तसहित उनले प्रतिनिधि सभा पुनर्स्थापनको प्रस्ताव गरेका हुन् ।

केन्द्रीय कमिटी बैठकमा आफूले राखेको धारणा बहसका लागि आइतबार नेता भट्टराई सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । त्यसमा उनले सर्वदलीय तथा ‘जेनजी’ प्रतिनिधिहरूको सहभागितामा सरकार निर्माण गरिने र पुनर्स्थापित संसदबाट नयाँ राजनीतिक सहमति निर्माण गरी सीमित अवधिभित्र निर्वाचनमा जाने प्रस्ताव राखेका छन् ।

अन्य दलले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने बताइरहेका बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने चुनावमा भाग नलिने बताउँदै आएका छन् । ओलीले एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डा बोकेर सडक आन्दोलनमा जाने बताएका छन् ।

नेता भट्टराईले सोहीतर्फ लक्षित गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिबाट गरिएको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भए पनि त्यसको समाधान शान्त र संवैधानिक प्रक्रियामार्फत खोजिनुपर्ने तर्क गरेका छन् ।

उनले लेखेका छन्, भाद्र २३ र २४ गतेको घटनापछि उत्पन्न राजनीतिक अवस्थाको निकासका रूपमा नयाँ सरकार बनेर प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको हो । यसको संवैधानिक र न्यायिक निरूपणमा पार्टीले सहयोग गर्नुपर्छ ।

भट्टराईले तत्कालीन प्रधानमन्त्री ओली र राष्ट्रपतिबाट भएको ‘सकारात्मक पहल’को प्रशंसा गर्दै अहिलेको परिस्थितिमा ‘प्रतिनिधिसभा पुनर्स्थापनाको मागले समाधान ल्याउँछ कि द्वन्द्व चर्काउँछ ? भन्ने प्रश्न उठाएका छन् ।

उनका अनुसार समाजमा द्वन्द्व बढ्दै गएर संवैधानिक शून्यता सिर्जना हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सबै दलले संयमता अपनाउन आवश्यक छ ।

भट्टराईले भनेका छन्, यदि तोकिएको समयमा निर्वाचन गर्न सरकारले असफलता देखायो भने प्रतिनिधिसभा पुनर्स्थापनाको माग जनसमर्थनसहित उठ्न सक्छ । त्यस अवस्थामा हामीले स्पष्ट प्रतिबद्धतासहित अघि बढ्नुपर्छ ।

 

यस्ता छन् नेता भट्टराईले गरेका पाँच बुँदे प्रस्ताव :

१. पुन:स्थापित प्रतिनिधिसभाबाट पूर्वप्रधानमन्त्रीहरू पुन: प्रधानमन्त्रीमा नियुक्त हुने छैनन् ।

२. सर्वदलीय तथा ‘जेनजी’ प्रतिनिधिहरूको सहभागितामा सरकार निर्माण गरिनेछ ।

३. पुन:स्थापित प्रतिनिधिसभाले ‘जेनजी आन्दोलन’का माग र भावनाअनुसार सहमतिका आधारमा संविधान संशोधन गर्नेछ ।

४. सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कानुनी व्यवस्था गर्दै ठोस प्रतिबद्धतासहित विशेष प्रस्ताव पारित गरिनेछ ।

५. बढीमा आठ महिनाभित्र संघ, प्रदेश र स्थानीय तहका निर्वाचन गरी ‘वन नेसन, वन इलेक्सन’ प्रणाली कार्यान्वयन गरिनेछ ।

भट्टराईले प्रतिनिधिसभा पुन:स्थापनाको सवाललाई भावनात्मक भन्दा पनि राजनीतिक सहमति र संवैधानिक निकासको दृष्टिले हेरिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...