तीन ठुला दलले यसरी मनाउँदैछन् संविधान दिवस



हाम्रो इकोनोमि

 

 

जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरुले आ–आफ्नो तरिकाले संविधान दिवस मनाउने तयारी गरेका छन् । उनीहरुले संविधान रक्षाका लागि खबरदारीसहित दिवस मनाउने तयारी गरेका छन् ।

जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भए पनि लोकतान्त्रिक गणतन्त्र माथि आक्रमण हुनसक्ने आशंकामा दलहरु छन् । त्यसैले उनीहरुले संविधान रक्षालाई नै केन्द्रमा राखेर दिवस मनाउने जनाएका छन् ।

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर संविधान दिवस मनाउन सर्कुलर गरिसकेको जनाएको छ । बुधबार केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भनेका थिए, संयमतापूर्वक दृढतापूर्वक संविधानको रक्षा गर्ने जिम्मेवारीलाई शीरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ ।

यसैगरी नेकपा एमालेले काठमाडौंको हकमा जेनजी आन्दोलनको क्रममा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमा संविधान दिवस मनाउने तयारी गरेको छ । महासचिव शंकर पोखरेलले संविधान दिवस मनाउन आह्वान गर्दै पठाएको सर्कुलरमा आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्र भइरहेको उल्लेख छ । त्यसैले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवसको कार्यक्रम आयोजना गर्न भनिएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रको हकमा च्यासलस्थित पार्टी कार्यालयमा र राजधानी बाहिर ७७ वटै जिल्लामा संविधान तथा लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वृहत कार्यक्रम आयोजना गरेर दिवस मनाइने बताए ।

नेकपा माओवादी केन्द्रले पनि जेनजी आन्दोलनमा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमै कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने जनाएको छ । संविधान माथि खतरा पैदा भएको भन्दै हालसम्मको राजनीतिक उपलब्धि रक्षाका लागि खबरदारीसहित संविधान दिवस मनाउने जनाएको छ ।

नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव गणेशमान पुनले संविधान र व्यवस्थाको रक्षाका लागि आह्वान गर्दै दिवस मनाउने जानकारी दिए । उनले शहीदहरुको सम्झनामा दीप प्रज्वलन लगायतका कार्यक्रम पनि आयोजना गर्ने बताए ।

नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलका अध्यक्ष पुष्प ओलीले बदलिँदो परिस्थिति अनुसार संविधान र व्यवस्थाको रक्षाका लागि खबरदारी गर्दै दिवस मनाउने तयारी गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
महेश बस्नेतविरुद्ध रास्वपाका राजीव खत्री मैदानमा

    आगामी प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर-२ बाट नेकपा (एमाले) का सचिव महेश बस्नेतविरूद्व...

मन्त्री गुप्ताले दिए पदबाट राजीनामा

    अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्...

बालेन साहले मेयरबाट दिए राजीनामा

    मेयर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका छन् ।  उपमेयर...

बझाङमा ऎन महर र कञ्चनपुर १ मा तारा लामाले टिकट पाए

    नेकपा एमालेले सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार हेरफेर गरेको छ ।...