सरकारको भुक्तानी प्रणाली सुचारु, कर्मचारीले तलब-भत्ता पाउने



हाम्रो इकोनोमि

 

 

नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार सरकारले आजैदेखि भुक्तानी दिने काम थालिसकेको छ । उता, राजस्व संकलनको काम समेत सुचारु भएको छ । धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका छन् । पूर्णक्षति भएका केही आन्तरिक राजस्व कार्यालयबाहेक अन्य कार्यालय समेत सञ्चालनमा आइसकेको प्रवक्ता पाण्डेयले जानकारी दिए ।

अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोडफोड गरेका थिए । चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा भने आंशिक क्षति भएको छ । सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब-भत्ता पाउने सबै कर्मचारीले दशैं अगाडि नै तलब-भत्ता पाउने भएका छन् । सरकारले नियमित प्रक्रियाबाट दिनुपर्ने आवश्यक भुक्तानीहरू अब क्रमश: गर्छ, उनले भने । अहिले चालु आर्थिक वर्षको दोस्रो महिना चलिरहेको छ । यसबेला पूँजीगत तर्फको खर्च धेरै नहुँदा चालु खर्च मात्र धेरै हुन्छ ।

सरकारको ढुकुटीमा अनिवार्य दायित्व भुक्तानी गर्न आवश्यक पर्याप्त रकम रहेको समेत उनले जानकारी दिए । सरकारको अनिवार्य दायित्व अन्तर्गत तलव भत्ता र सामाजिक सुरक्षाको भुक्तानी समेत हुनेछ । अन्य दायित्वको हकमा भने सरकारले प्राथमिकताका आधारमा भुक्तानी गर्ने उनी बताउँछन् । काठमाडौंमा अर्थ मन्त्रालय करिब सुरक्षित अवस्थामा छ । मुख्य भवन अगाडि रहेको सानो भवन जलाइएको छ । उपत्यका भित्रका आन्तरिक राजस्व विभाग, भन्सार विभाग र अन्य आन्तरिक कार्यालय समेत सुरक्षित रहँदा अर्थले आफ्नो कामलाई छिट्टै सुचारु गर्न सकेको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सरकारले १ खर्ब ४४ अर्ब ५८ करोड राजस्व उठाइसकेको छ । अन्य आम्दानीसहित शनिबारसम्म सरकारको ढुकुटीमा १ खर्ब ४६ अर्ब ९२ करोड संकलन भएको छ । यसै अवधिसम्म सरकारको खर्च १ खर्ब २० अर्ब ७८ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्षको पहिलो दुई महिना सकिँदासम्म सरकारको ढुकुटी बचतमै देखिन्छ । तर, दशैं भत्तासहित अनिवार्य दायित्वको सबैभन्दा ठूलो हिस्सा भने भदौ मसान्तसम्म खर्च हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...

३० अंकले घट्यो सेयर बजार

    मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको...

व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको...

ओलीलाई पक्राउ गर्नु नै सरकारले १०० दिनको उपलब्धि ठान्यो : एमाले

    नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सुशासनका नाममा सरकारले गैरकानुनी...