भारतको उत्तराखण्ड बाढीपहिरोमा २२ जना नेपाली सम्पर्कविहीन



हाम्रो इकोनोमि

 

 

साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ । यसअघि उत्तराखण्डको बाढीमा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएको स्थानीय जनप्रतिनिधिहरुमार्फत् जानकारी आएको थियो । धादिङका समेत चार जना थपिएपछि सम्पर्कविहीन हुने नेपालीको संख्या २२ पुगेको छ ।

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार त्यहाँका १३ जना नेपाली सम्पर्कविहीन छन् । उनका अनुसार कुशे गाउँपालिका वडा नम्बर २ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, निम सिंह, रविन सिंह र परिचय नखुलेका अरु ७ जना बाढीपहिरोमा परेको जानकारी त्यहाँ रहेका नेपालीहरुले दिएका छन् ।

यसैगरी बर्दिया मधुवनका नरेन्द्र खड्का, सरस्वती खड्का, अमृता परियार र सुवास विक पनि बाढीमा परेर बेपत्ता भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् ।

भारतको उत्तराखण्डमा मजदुरीका लागि गएका धादिङको ज्वालामुखी गाउँपालिकाका चार जना नेपाली पनि सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई अनुरोध गरेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ,  फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् ।

उनीहरु कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरुकै परिवारका सदस्यहरुबाट जानकारी पाएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताए । ‘त्यसपछि हामीले पत्राचार गरेर गृह मन्त्रालयमार्फत् दूतावासलाई जानकारी गराएका छौं, उनले  भने ।

यस्तै जुम्लाको तिला गाउँपालिका निवासी जनकबहादुर शाही पनि पहिरोमा परी बेपत्ता भएको जानकारी आएको त्यहाँका जनप्रतिनिधिहरुले बताएका छन् । स्थानीय पालिकाहरुले नेपालीहरु हताहत भएको सूचना आएको भन्दै उनीहरुको खोज तथा उद्धारका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...