दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट
दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको छ । चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको भन्दै सरकारी अधिकारी उत्साहित देखिएका छन् ।
चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर अध्ययन थालेका थिए । त्यसका लागि ४ हजार मिटर गहिराइसम्म खनिएको थियो ।
त्यतिबेला जमिन मुनिबाट ग्याँसको गन्ध आएको थियो । तर ग्याँसको मात्रा र गुणस्तर लगायतका थप परीक्षणका लागि चट्टानका नमूना संकलन गरी चीन लगिएको थियो । त्यसको उद्देश्य दैलेखको ग्याँस व्यापारिक दृष्टिकोणले उपयुक्त छ कि छैन भन्ने पनि पत्ता लगाउनु थियो ।
अहिले हामीलाई प्रारम्भिक रुपमा जुन रिपोर्ट प्राप्त भएको छ, त्यसमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस छ भन्ने पुष्टि भएको छ’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भने यो मिथेन ग्याँस हो भन्ने छ ।
दैलेखका विभिन्न स्थानहरुमा आगोको ज्वाला बल्ने गरेको छ । स्थानीयले दैवी शक्ति भन्दै पूजा गर्दै आएका छन् । तर विज्ञहरुले जमिन मुनि प्रज्ज्वलनशील ग्याँस भएको र त्यही बाहिर निस्किएर आगो बलेको पुष्टि गरेका छन् । उद्योग मन्त्री भण्डारीले चिनियाँ प्राविधिक टोलीले ड्रिल गरेको ठाउँबाट नेपाललाई ५० वर्षसम्म पुग्ने प्राकृतिक ग्याँस रहेको पुष्टि भएको बताए ।
भारतको नाकाबन्दीपछि सरकारले देखाएको थियो चासो
२०७२ सालमा भारतीय नाकाबन्दीका कारण ग्याँस र इन्धन आपूर्तिमा संकट भएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा पेट्रोलियम पदार्थ र ग्याँसको अध्ययन गर्न चीनलाई निम्तो दिएको थियो ।
त्यसैका आधारमा चिनियाँ टोलीले नेपालमा विभिन्न सम्भाव्य पेट्रोलियम खानीहरुमा पुगेर अध्ययनका लागि नमूना संकलन गरेको थियो । तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे आफैं दैलेखको श्रीस्थान, नाभिस्थान, धुलेश्वर र पादुका लगायतका क्षेत्रमा पुगेका थिए । त्यतिबेला पाण्डेले ६ महिनाभित्र सरकारले दैलेखमा रहेका सम्भावित ग्याँस र पेट्रोल खानीको उत्खनन गर्ने घोषणा गरेका थिए । तर उत्खनन सुरु हुन झण्डै १० वर्ष लाग्यो ।
नेपालमा व्यवस्थित रूपमा पेट्रोलियम अन्वेषण कार्य भने सन् १९९७ बाट मात्र सुरु भएको थियो । खानी तथा भूगर्भ विभागले विश्व बैंकको सहयोगमा सन् १९७८/७९ मा तराई र सिवालिक क्षेत्रमा ४८ हजार वर्ग किलोमिटर क्षेत्रफल ढाक्ने एअरबोर्न म्याग्नेटिक सर्वेक्षण सम्पन्न गरेको थियो, जसले उत्साहजनक नतिजा देखाएको थियो ।
त्यसपछि नेपाल सरकारले सन् १९८२ मा पेट्रोलियम अन्वेषण प्रवर्धन परियोजना स्थापनागरी अन्वेषण कार्यलाई प्रवर्द्धन तथा अनुगमन गर्ने काम सुरु गरेको थियो । परियोजनाले नेपालको चुरेभन्दा मुनिको सबै तराई भूभागबाट पेट्रोलियम पदार्थ उत्खनन् हुन सकिने अनुमान गरेको छ । पेट्रोलियम पदार्थको स्रोत पहाडी भूभाग र चुरे क्षेत्रमा पर्छ ।
विभिन्न अध्ययनका आधारमा सम्भावित भूभागलाई १० वटा ब्लकमा विभाजन गरिएको छ । तीमध्ये दैलेखमा मात्र ग्याँस उत्खनन् गरिएको छ । ड्रिल गरेको ठाउँबाट ११२ अर्ब घनमिटर ग्याँस रहेको अनुमान गरिएको र थप तीन स्थानमा ड्रिल गर्दा यसको मात्रा बढ्ने मन्त्री भण्डारीले बताए ।
प्रकाशित मिति : ५ असार २०८२, बिहिबार ०५ : ११ बजे