अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म
राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला एमालेनिकट अनेरास्ववियुको निर्वाचनमा यस पटक डाक्टर, इन्जिनियरहरुको आकर्षक उपस्थिति देखिएको छ । अनेरास्ववियुको मात्र नभएर विद्यार्थी संगठनहरुकै इतिहासमा सम्भवतः पहिलोपटक मेडिकल डाक्टर अध्यक्ष बनेका छन् ।
क्लिनिकल साइकोलोजीमा काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस गरेका ३२ वर्षीय डा.सुजन कडरिया अध्यक्ष निर्वाचित भएका छन् । रामेछापका कडरियाले कोभिडकै बेलादेखि गाउँ गाउँमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएका छन् । त्यस्तै उपाध्यक्षमा पनि इन्जिनियर विकास श्रेष्ठ निर्वाचित भएका छन् । सिभिल इन्जिनियर श्रेष्ठ पनि रामेछापकै हुन् ।
उपमहासचिवमा निर्वाचित भएका कमल जोशी एमएस्सीका सर्वोत्कृष्ट विद्यार्थी हुन् भने उपमहासचिवमा पराजित प्रेमिका राज्यलक्ष्मी शाही स्टाफ नर्स हुन् । अखिलका ४ जना निर्वाचित सचिवमध्ये रचना सापकोटा सिभिल इन्जिनियर हुन् भने गोपाल नेपाल अधिवक्ता हुन् । त्यस्तै अर्का सचिव आकाश घर्ती पनि स्वास्थ्यकर्मी हुन् । घर्ती पेशाले फर्मासिस्ट हुन् ।
चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्ज मेडिसिन क्याम्पसको सभापति भइसकेका डा.आनन्द कुमार सिंह भने सचिवमा पराजित भए । त्यस्तै ४९ सदस्यीय केन्द्रीय सचिवालय सदस्यमा ५ जना इन्जिनियरले जितेका छन् ।
गण्डकीबाट किशोरचन्द्र सुवेदी, सुदूरपश्चिमबाट रोशनबहादुर साउद, विश्वविद्यालय राष्ट्रिय कमिटीबाट विशाल आचार्य, बागमतीबाट नवीन्द्र चालिसे, खुला सचिवालय सदस्यमा नितेश लामिछाने र सुकृति सुवेदी इन्जिनियरले जितेका छन् ।
त्यस्तै खुला सचिवालय सदस्यमा डाक्टर पुष्पराज भाम, एमएस्सीका रुद्रहरी पोखरेल,अधिवक्ता समीर रिजाल पनि विजयी भएका छन् । पोखरेल अमृत साइन्स क्याम्पस ठमेल र रिजाल नेपाल ल क्याम्पसका सभापति समेत हुन् ।
त्यस्तै केन्द्रीय सदस्यमा इन्जिनियर सुदिन अधिकारी, सचिवन श्रेष्ठ, प्रेमबहादुर लामा, आकाश खत्री, अनीश पोखरेल र लोकेन्द्रबहादुर विष्ट निर्वाचित हुँदा डाक्टर प्रविण भुसाल र अधिवक्ता स्मृति अधिकारी पनि जित्न सफल भएका छन् ।
प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार ०६ : ४७ बजे