विपक्षीको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरूले सदन अवरोध गरेपछि आजै बस्ने गरी ३० मिनेटका लागि बैठक स्थगित गरिएको हो । प्रतिनिधि सभाको सुरुमै बोल्दै माओवादीको उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाए ।
उनले अख्तियारले मुख्य आरोपित भनेको तीर्थ भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्यहाँ पठाइएको र गृहमन्त्रीको सचिवालय यो घटनामा प्रत्यक्ष जोडिएको बताए । उनले राजीनामा दिएर अनुसन्धानलाई सघाउन आग्रह गरे । रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने घोषणा गरे ।खनालले राजनीतिक संरक्षणमा नै विमानस्थलमा लुटको धन्दा चलाइएको आरोप लगाए ।
उनले विवादित पृष्ठभूमिको सहसचिवलाई गृहमन्त्रीले किन अध्यागमनमा पठाएको ? त्यहाँ गृहमन्त्रीको पनि स्वार्थ जोडिएको हुनसक्ने भएकाले अनुसन्धान हुनुपर्ने बताए । उनले प्रहरी अनुसन्धानमा आशंका रहेको भन्दै आयोग बनाउनुपर्ने माग राखे । वर्षमान र शिशिरले बोलेपछि विपक्षी दलहरूले उठेर नाराबाजीमा उत्रेपछि सभामुखले बैठक स्थगित भएको घोषणा गरे ।