गृहमन्त्रीको राजीनामा नआए सदन चल्न नदिने रास्वपाको तयारी
राष्ट्रिय स्वतन्त्र पार्टीले आज बस्ने संसद बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरोध गर्ने तयारी गरेको छ । अन्य प्रतिपक्षी दलहरूले समेत गृहमन्त्रीको राजीनामाको माग चर्काउने भएका छन् ।
रास्वपाको हिजो बसेको संसदीय दलको बैठकले आजको संसद बैठकमा गृहमन्त्री लेखक विरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । यसबमोजिम आजको संसद बैठक अवरोध गर्ने तयारी रहेको पार्टी स्रोतले बतायो । स्रोतले भन्यो- ‘गृहमन्त्रीको राजीनामा हाम्रो बटमलाइन हो । राजीनामा नआएसम्म सदन सुचारु हुँदैन ।
रास्वपाको यो अडानले जेठ १५ मा हुने बजेट भाषण पनि प्रभावित बन्न सक्ने देखिएको छ । सत्ता गठबन्धन दलहरूले गृहमन्त्री लेखकको राजीनामाको विषय उछालेर विपक्षी दलहरूले बजेट रोक्न खोजेको आशंका गरेका छन् । संवैधानिक बाध्यताअनुसार सरकारले बिहीबार बजेट ल्याउनै पर्छ । तर, विपक्षी दलहरूले गृहमन्त्री नै मानव तस्करीमा संलग्न भएको भन्दै राजीनामा मागेका हुन ।
यसअघि रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सहकारीको विषय उठाउँदै लेखकले ‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने’ बताएका थिए। त्यो आफ्नो अभिव्यक्ति उनलाई अहिले भारी परेको छ । रविमाथि छानबिनको माग राख्दै कांग्रेस सदनमा जुन हदसम्म गएको थियो भोलिबाट सुरु हुने बैठकमा रास्वपाले त्यसको बदला लिने तयारी गरेको छ ।
गृहमन्त्री भने यसबारे सदनमा जवाफ दिँदै सबै दोष कर्मचारीलाई थोपरेर पन्छिने दाउमा छन् । त्यसको प्रतिवाद रास्वपाले कडा रूपमा गर्दै छ । तर बजेट ल्याउनुपर्ने बाध्यताले सरकार दबाबमा छ । रास्वपाले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सहित सबै विपक्षी दलहरूलाई पनि आफूहरूको अडानमा साथ दिन आग्रह गरेको छ ।