जेठ १५ गते राजावादीलाई एमालेले काउन्टर दिने
एमालेले जेठ १५ गते आयोजना गर्ने जनप्रदर्शनको तयारीका लागि जनसंगठन पदाधिकारीको बैठक बसिरहेको छ । पार्टी मुख्यालयमा जारी बैठकमा प्रदर्शनका दिन बढीभन्दा बढी सहभागिता जुटाउने रणनीतिमा छलफल हुने बताइएको छ । एमालेको हिजोको सचिवालय बैठकले गणतन्त्र दिवसलाई देशभर उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो । जेठ १५ गते राजावादीको आन्दोलनलाई समेत ध्यान दिएर एमालेले ‘काउन्टर’ प्रदर्शनको तयारी थालेको हो ।
च्यासलमा जारी बैठकमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव लेखराज भट्ट, योगेश भट्टराई, पद्मा अर्याललगायत उपस्थित छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीको आन्दोलन निस्तेज पार्न जेठ १५ गते बिहान ११ देखि अपरान्ह २ बजेसम्म काठमाडौंलाई नियन्त्रणमा लिन पार्टी पंक्तिलाई निर्देशन दिएका थिए । एमालेले गणतन्त्र दिवसको उत्सवमा सक्रिय सहभागिताका लागि नागरिकमा अपिल पनि गरेको छ ।