अबदेखि वृद्धभत्ता ७० वर्ष माथिकाले मात्र पाउने



हाम्रो इकोनोमि

 

 

सरकारले वृद्धभत्ता पाउने उमेर बढाउने भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ का सुझाव कार्यान्वयनका लागि तयार गरिएको कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको छ । सो कार्ययोजनामा ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने उल्लेख छ ।

अहिले नेपालमा ६८ वर्ष पूरा भएका सबै ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन् । यसलाई बजेटबाटै ७० वर्ष कायम गर्ने तयारी सरकारले गरेको हो । भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने समेत कार्ययोजनामा उल्लेख छ । यस्तो काम १ वर्षभित्रै गरिसक्ने समेत कार्ययोजनामा लेखिएको छ । यसबाट भत्ता पाउने उमेर ७० वर्ष कायम भएको हुने र राष्ट्रिय परिचय पत्रमा आवद्ध भएको हुने सम्भावित नतिजामा उल्लेख छ ।

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा फराकिलो बनाउने भनेको छ । यसका लागि भने समय सीमा तोकिएको छैन । आगामी बजेटबाट सामाजिक सुरक्षा भत्ताको दुरुपयोग, दोहोरोपन रोक्न समेत प्रयास गर्ने अर्थ मन्त्रालयको तयारी छ ।

अहिले साविकको कर्णाली अञ्चलमा पर्ने जिल्लाका नागरिक र देशभरिका दलित नागरिकले ६० वर्ष उमेर पुगेसँगै वृद्धभत्ता पाउँछन् । उनीहरूलाई मासिक २६ सय ६० रुपैयाँ दिने गरिन्छ । विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका महिलाले समेत सोही दरमा मासिक भत्ता पाइरहेका छन् ।

पतिको मृत्यु भएका जुनसुकै उमेरका महिलाले समेत सो दरमा मासिक भत्ता पाइरहेका छन् । यसबाहेक अपाङ्गता भएका, लोपोन्मुख आदिवासी जनजाती र तोकिएका क्षेत्रका बालिबालिकालाई समेत मासिक भत्ता दिने गरिन्छ । सरकारले आव २०७९/८० बाट वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको हो । त्यसअघि उमेर सीमा ७० वर्ष थियो । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सम्मान गर्ने समेत बताएका थिए । तर, दोहोरो सुरक्षा लिने लाभग्राही कति छन् भन्ने यकिन तथ्यांक समेत राज्यसँग छैन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...