सतुङ्गलको कपडा गोदाममा आगलागी
काठमाडौंको चन्द्रागिरि नगरपालिका–११, सतुङ्गलस्थित आर.आर. कम्प्लेक्समा रहेको कपडाको गोदाममा आज विहान एक्कासी आगलागी भएको छ । विहान ५ः२० बजे सुरु भएको आगो करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागी भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारी र डीएसपी सुन्दर तिवारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु, मातातिर्थ प्रहरी चौकी लगायत विभिन्न निकायबाट करिब ३० जना सुरक्षाकर्मी परिचालित भएका थिए ।
आगो नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको दमकल, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगर, नेपाली सेना र काठमाडौं महानगरपालिकाबाट गरी जम्मा ६ वटा दमकल परिचालन गरिएको थियो । साथै, स्थानीयबासीले उपलब्ध गराएका १५ वटा पानी ट्यांकरको पनि प्रयोग गरिएको थियो ।
सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयको सक्रियतामा आगो बिहान ७:३० बजेसम्ममा नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन भने वित्तीय क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुमानअनुसार आगलागी विद्युत सर्ट भएर भएको हुनसक्ने बताइएको छ, तर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।