पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर ८ चोरमारा बजारमा रहेको गिरुबारी पुल भासिएपछि यातायात अवरुद्ध भएको छ । गएराती ९ बजेको समयमा ओभरलोड ट्रक बिच पुलमा पुग्दा पूर्वतर्फको भागमा भासिएपछि अवरुद्ध भएको हो । अहिले लामा तथा छोटा दुरीका सवारी साधनहरू अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । सडक अवरुद्ध भएपछि सवारी साधनहरू करिब ३ किलोमिटर दक्षिण रानीबारी हुँदै आवतजावत भएका छन् ।
पुल भासिएर मुख्य मार्ग अवरुद्ध पूर्वपश्चिम राजमार्गमा साना गाडीहरू वैकल्पिक बाटोबाट सञ्चालन गरिएको छ । पुल धेरै पुरानो र जीर्ण अवस्थामा रहेको र अहिले ओभरलोडले भासिएपछि नजिकैको खोला छेउबाट डाइभर्सन गरिएको छ तर सानो पानी आए पनि चल्न नसक्ने अवस्थामा छ । चोरमारामा रहेको गिरुबारी खोलाको पुलमा मप्र०३-००१ क ३१६३ नं को १८ चक्के टेलर० किलिङ्गर बोकी होङ्सी सिमेन्ट कम्पनीबाट वीरगन्जतर्फ जाँदै गरेको टेलर पुलमा हिँड्दै गर्दा पुल भासिएपछि यातायात गएरातीबाट अवरुद्ध भएको थियो ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेका अनुसार पुल भासिएपछि अवरुद्ध यातायात खोलामा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा सञ्चालन गरिएको छ ।