भारतको पाँचवटा सैन्य जेट खसालेको पाकिस्तानको दाबी
भारतले गरेको आक्रमणको जवाफमा पाकिस्तानले पाँच भारतीय वायुसेना जेटहरू खसालेको दाबी गरेको छ । भारतले आक्रमणमा पठाएका तीन राफेल जेट, एक मिग-२९ र एक एसयू-३० लडाकु विमान र एक ड्रोन खसालेको पाकिस्तानी सेनालाई उद्धृत गर्दै सीएनएनले जनाएको हो ।
भारतले बुधवार बिहान पाकिस्तानी भूभागमा मिसाइल हमला गरेको थियो । मिसाइल हमलाले पाकिस्तानको घना बस्ती भएको पन्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा रहेको कथित ‘आतंकवादी पूर्वाधार’ लाई निशाना बनाएको भारतीय मिडियाले जनाएका छन्। यो हमला भारत प्रशासित कश्मीरमा भएको पर्यटकहरूको हत्याकाण्डको दुई हप्ताभन्दा बढी समयपछि भएको हो, जसलाई नयाँ दिल्लीले आफ्नो छिमेकीमाथि दोष लगाएको थियो।
पाकिस्तानी सुरक्षा स्रोतको ब्रिफिङले जेटहरू कहाँ र कसरी खसालिए भन्ने कुरा खुलाएन। स्वतन्त्र रूपमा यी दाबीहरूको पुष्टि गर्न नसकेको र भारतीय सरकारसँग प्रतिक्रियाको लागि सम्पर्क गरेको सीएनएनले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले दक्षिण एसियाली छिमेकी देशहरूबीचको तनावलाई ‘नजिकबाट निगरानी’ गरिरहेको बताएको छ । भारतले आतंकवादीका पूर्वाधारमा आक्रमण गरिएको बताए पनि पाकिस्तानले यो दाबीलाई अस्वीकार गरेको छ । हमलाले मुख्य रूपमा आम नागरिकहरूलाई हानि पुर्याएको पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानी सैन्य स्रोतले सीएनएनलाई कोटली, अहमदपुर पूर्व, मुजफ्फराबाद, बाग र मुरिदकेमा पाँच स्थानमा हमला भएको बताएको छ ।