अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस घेराउ, सबै राज्यमा प्रदर्शन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूको विरोधमा हजारौँ प्रदर्शनकारी फेरि एकपटक सडकमा उत्रिएका छन् । न्युयोर्क टाइम्सका अनुसार यी प्रदर्शनहरू अमेरिकाका सबै ५० राज्यमा भएका थिए ।प्रदर्शनकारीहरू ट्रम्पको भन्सार शुल्क वृद्धि सम्बन्धी नीति र सरकारी जागिरबाट गरिएको कटौतीको विरोध गरिरहेका थिए ।
यस क्रममा प्रदर्शनकारीहरूले राष्ट्रपति निवास ह्वाइट हाउसलाई घेरेका छन् । उनीहरूले ट्रम्पमाथि नागरिक अधिकार र कानुनी शासनमाथि हमला गरेको आरोप लगाएका छन् । यस आन्दोलनलाई ‘५०५०१’ नाम दिइएको छ, जसको अर्थ हो: ५० विरोध प्रदर्शन, ५० राज्य, १ आन्दोलन।
प्रदर्शनकारीहरूले ह्वाइट हाउससँगै टेस्लाका शोरूमहरू पनि घेराबन्दी गरेका छन् । ट्रम्पको विरोधमा गरिएको यो दोस्रो चरणको प्रदर्शन हो। यसअघि अप्रिल ५ मा पनि देशभर व्यापक प्रदर्शन भएका थिए ।ह्वाइट हाउसबाहिर ट्रम्पविरुद्ध पोस्टर लिएर विरोध गरिरहेकी एक महिलाको हातको पोस्टरमा लेखिएको थियो, ‘ट्रम्पलाई अल सल्भाडोरको जेलमा डिपोर्ट गर।’
ट्रम्प र मस्कका नीतिहरूविरुद्ध भइरहेका छन् प्रदर्शनहरू
राजधानी वासिङ्टन डीसीसहित सबै राज्यहरूमा प्रदर्शनको मुख्य कारण राष्ट्रपति ट्रम्प र व्यवसायी इलन मस्कको आक्रामक नीति हो । इलन मस्कको दक्षता विभागले लगातार सरकारी निकायहरूमा कर्मचारी कटौती गरिरहेको छ ।
अहिलेसम्म हजारौँ सरकारी कर्मचारीहरूलाई जागिरबाट निकालिएको छ। अर्कोतर्फ, ट्रम्पको आप्रवासीहरूविरुद्धको कडा कारबाही र अन्य देशहरूमाथि भन्सार शुल्क (कर) लगाउने नीति पनि विरोधको मुख्य कारण हो ।
ट्रम्पको भन्सार शुल्क युद्धका कारण अमेरिकामा अन्य देशहरूबाट आउने वस्तुहरूको मूल्य बढेको छ। यसको सिधा असर आम नागरिकको खर्चमा परेको छ। अर्का प्रदर्शनकारीले पोस्टरमा लेखिएको थियो, ‘ट्रम्प फोहोरले भरिएको छन्। ट्वाइलेटहरू उनलाई देखेर जलिरहेका छन् ।
देशभर विशाल प्रदर्शन भएको दुई सातामै पुनः यति ठूलो प्रदर्शन हुनु ट्रम्पविरुद्धको प्रतिरोध अझै बलियो रहेको संकेत भएको न्युयोर्क टाइम्सले लेखेको छ । वासिङ्टन र सिकागोजस्ता केही सहरमा यसपटकको सहभागिता अप्रिल ५ का तुलनामा थोरै देखिए पनि प्रदर्शन व्यापक थियो ।
राजधानी वासिङ्टन डीसीमा शनिबार केही हजारले मार्च गरे, जबकि अघिल्लो प्रदर्शनमा त्यहाँ दशौँ हजार सहभागी थिए। आयोजक समूह आन्दोलनकारीहरूका अनुसार शनिबार फ्लोरिडाको ज्याक्सनभिलदेखि लस एन्जलससम्म ७०० भन्दा बढी कार्यक्रमहरू आयोजना गरिएका थिए । न्यूयोर्कको म्यानह्याटनमा भने म्याडिसन एभेन्यूका १५ ब्लक प्रदर्शनकारीहरूले भरिएका थिए ।
प्रदर्शनकारीहरूले राष्ट्रपति ट्रम्पमाथि नागरिक स्वतन्त्रता र कानुनी शासनमाथि कुल्चिएको, आप्रवासन नीति, संघीय जागिर कटौती, आर्थिक संकट लगायत विषयमा गम्भीर आरोप लगाए । ह्वाइट हाउसबाहिर प्रदर्शनमा सहभागीहरू बारम्बार एउटै शब्द चिच्याइरहेका थिए– ‘लाज मान!
वासिङ्टन मोनुमेन्टदेखि हजारौँ मानिसहरूले मार्च गरे। धेरैले मेरील्यान्डका किल्मार आर्मान्डो अब्रेगो गार्सियालाई गलत रूपमा अल सल्भाडोर डिपोर्ट गरिएको भन्दै प्रशासनको आलोचना गरे । उनीहरू अमेरिकन झन्डालाई उल्टो फर्फराउँदै, ‘किल्मारलाई घर फर्काऊ’ भन्दै आठ लेनको कन्स्टिट्युसन एभेन्यू हुँदै अघि बढेका थिए । ट्रम्प प्रशासनले गार्सियालाई कुख्यात एमएस-१३ गिरोहको सदस्य भनेको छ, जुन आरोप उनले अस्वीकार गरेका छन् ।