ज्ञानेन्द्र शाहको स्वागतमा कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?



हाम्रो इकोनोमि

 

 

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा घुमघाम गरी काठमाडौं फर्किंदा राजावादीहरुले धूमधाम स्वागत गर्ने तयारी गरेका छन् । राजाको प्रिय बन्ने प्रतिस्पर्धामा रहेका राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शनको तयारी गरेका छन् ।

पोखरामा एक साता बसाइपछि पूर्वराजा शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिंदै छन् । राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने छन् । शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जानेछन् । राजावादीहरु पनि उनलाई पुर्‍याउन र्‍यालीसहित निर्मल निवाससम्म पुग्ने छन् ।

त्यसका लागि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्ना कार्यकर्ताहरुलाई बेग्लाबेग्लै उतार्ने तयारी गरेका छन् । उनीहरुले काठमाडौं उपत्यका आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतारेका छन् । उनीहरुलाई राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित हुन भनिएको छ ।

राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन् ।

राप्रपाबाट स्वागतको चाँजोपाँजो सांसद ज्ञानेन्द्र शाहीले मिलाएका छन् । उनका अनुसार काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन तर्फबाट आउनेहरुको र्‍याली तिनकुनेमा जम्मा हुने छ । त्यहाँबाट र्‍याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।

यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएरबाट आउनेहरु महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला हुनेछन् । त्यहाँबाट र्‍याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।

यसैगरी अन्य समूहहरुले जावलाखेल, चापागाउँ, च्यासल, इमाडोल कृष्णमन्दिर लगायतका स्थानबाट पनि र्‍याली निकाल्ने तयारी गरेका छन् । सबै समूह विमानस्थल अगाडिको गेटमा भेला भएर नारा जुलुससहित ज्ञानेन्द्र शाहलाई निर्मल निवासम्म पुर्‍याउन जाने छन् ।

राजावादीहरुको स्वागतमा विभिन्न दल र समूहहरु सडकमा उत्रिने भएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई ‘हाई अलर्ट’मा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...