नेपाल बुद्धिजीवी परिषदको बागमती प्रदेशको अध्यक्षमा ठमिन्द्र खतिवडा निर्वाचित
नेपाल बुद्धिजीवी परिषदको बागमती प्रदेश अध्यक्षमा ठमिन्द्र खतिवडा निर्वाचित भएका छन् । काठमाडौंमा शनिबार सम्पनन्न बागमती प्रदेशको दोस्रो अधिवेशनले खतिवडालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । परिषदको उपाध्यक्षमा गोविन्द्रप्रसाद चौंलागाईं, सचिवमा सञ्जय आचार्य, उपसचिवमा नरनाथ न्यौपाने र भवनाथ झा तथा कोषाध्यक्षमा अञ्जु केसी चयन भएका छन् । अधिवेशनमा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बुद्धिजीवी परिषदको पार्टीसँगको सम्बन्ध ‘टु इन वान’ रहेको बताए । ‘तपाईंहरु पार्टीसँग नजिकबाट जोडिनुभएको छ,’ उनले भने, ‘साथै तपाईंहरु बौद्धिक समुदायलाई प्रतिनिधित्व पनि गर्नुहुन्छ । पार्टीसँगको सम्बन्धको वकालत गर्दा पेसागत क्षमता र दक्षताको कुरा पछि पर्ने र पेसागत दक्षताको वकालत गर्दा पार्टीसँगको सम्बन्ध कमजोर हुने असन्तुलित स्थिति तपाईंहरुसामु छ । तर, यसलाई असन्तुलित हुने छुट तपाईंहरुलाई छैन ।
यसलाई थप परिष्कृत बनाएर लैजानुपर्छ । एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले परिषदले समाजलाई नेतृत्व गर्नसक्ने खालका गतिविधिहरु गर्नुपर्ने बताए । ‘राम्रा कामको तथ्यपरक र वस्तुपरक ढंगले राख्नसक्ने व्यक्ति अगाडि आउनुपर्छ,’ नेतृत्व चयनका सन्दर्भमा उनले भने । एमालेले विगतदेखि नै राजनीतिक दलहरुकै नेतृत्व गरिरहेको उनको तर्क छ । ‘विगतमा हामीले जे गरेर आयौँ, अहिले अरु पार्टीले त्यही गरिरहेका छन्,’ उनले भने, ‘पहिला विभाग भन्ने नाम नसुनेको नेपाली कांग्रेस अहिले ५५-५६ वटा विभाग बनाइरहेको छ, हतियारबाटै सबैथोक हुन्छ भन्ने ठान्ने माओवादी पनि हामीलाई नै पछ्याइरहेको छ ।
यस हिसाबले नेकपा एमाले अगुवा पार्टी भएको दाबी उनले गरे । बुद्धिजीवी परिषदका केन्द्रीय अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य डा. दिनेशचन्द्र देवकोटाले परिषदले बागमती प्रदेशमा कोरिरहेको समृद्धिको खाकालाई नयाँ आउने कमिटीले त्यसको अपनत्व लिएर अघि बढ्नुपर्ने बताए । नयाँ विचार र नयाँ सोचका साथ कसरी अघि बढ्न सकिन्छ ? भुइँमान्छेको अपेक्षा के हो ? स्थानीय तह र तिनका वडाहरु के मा केन्द्रित हुनुपर्छ ? लगायतका विषयमा परिषदको बागमती प्रदेशले काम गरिरहेको जानकारी उनले गराए । ‘विचार र कार्यशैलीका हिसाबले पार्टीले हामीलाई खोजिरहेको छ,’ उनले भने, ‘हामीले त्यसैअनुसारको दृष्टिकोण बनाएर आफ्ना गतिविधि अघि बढाउनुपर्छ ।
छरिएको पुँजीलाई एकीकृत गर्ने र राष्ट्रिय पुँजी निर्माण गर्ने सवालमा पार्टीसँग एकाकार भएर कार्यक्रम सञ्चालन गर्नु परिषदको दायित्व भएको डा. देवकोटाले स्पष्ट पारे । त्यस्तै नेकपा एमालेका बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले राम्रो काम गर्दा पनि पार्टीविरुद्ध चौतर्फी आक्रमण भइरहेको बताए । ‘राम्रो काम गर्दा पनि पार्टीविरुद्ध चौतर्फी आक्रमण भइरहेको छ,’ उनले भने, ‘यो प्रवृत्तिविरुद्ध बुद्धिजीवी परिषद खरो रुपमा उत्रिन जरुरी छ, समाजभित्रको अराजकता तोड्न बुद्धिजीवीको ठूलो भूमिका रहन्छ ।’ मिसन ८४ का लागि कार्यक्रम नै बनाएर कार्यान्वयनमा जानुपर्ने धारणा ढुंगेलले राखे । कार्यक्रममा बुद्धिजीवी परिषदका केन्द्रीय सचिव डा. दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष डा. लाक्पा सेर्पा, उपमहासचिव सुशील विकलगायत परिषदका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवं सदस्यको उपस्थिति रह्यो ।