अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठा हुँदै



 

 

आज सोमबार मध्यान्ह उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको परम्परागत संस्कृति अनुसार प्राणप्रतिष्ठा हुँदैछ । यो कार्यक्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्वमा सम्पन्न गरिँदैछ । भगवान रामको बाल्यावस्था स्वरूप राम लल्लाको मूर्तिको ‘प्राण प्रतिष्ठा’ मा देशका प्रमुख आध्यात्मिक तथा धार्मिक सम्प्रदायका प्रतिनिधि, विभिन्न जनजाति समुदायका प्रतिनिधिलगायत सबै क्षेत्रका मानिसको सहभागिता रहनेछ ।

आज दिउँसो १२ बजेर २० मिनेटमा सुरु हुने यो समारोह दिउँसो १ बजे समापन हुने गरी तयारी गरिएको मन्दिर व्यवस्थापनले जनाएको छ। त्यसपछि प्रधानमन्त्री मोदीले धार्मिक सभालाई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्रीले मन्दिर निर्माणसँग सम्बन्धित श्रमजीवीहरूसँग पनि कुराकानी गर्ने राम मन्दिरको निर्माण र व्यवस्थापनको नेतृत्व गरेका श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका एक सदस्यले बताएका छन् । प्रधानमन्त्री मोदीले प्राचीन शिव मन्दिरको जीर्णोद्धार गरिएको कुबेर टिलाको पनि भ्रमण गर्नुहुनेछ । उहाँले त्यहाँ पूजा गर्नुहुनेछ ।

रामजन्मभूमि मन्दिर वा राम मन्दिर परम्परागत नगारा शैलीमा निर्माण गरिएको छ । यसको लम्बाइ (पूर्व–पश्चिम) ३८० फिट छ भने चौडाई २५० फिट र उचाई १६१ फिट रहेको छ । यो मन्दिरमा ३९२ स्तम्भ छन् भने र ४४ वटा कलात्मक ढोका छन् । मन्दिरका स्तम्भ र पर्खालहरूले हिन्दू देवता र देवीहरूको जटिल मूर्तिकला चित्रण देखाउँछन् । मन्दिरको भुईंमा रहेको मुख्य गर्भगृहमा रामलल्लाको मूर्ति राखिएको छ । सरयु नदीबाट शुरु भएको ‘प्राण प्रतिष्ठा’को अभिषेक विधि सोमबार दिउँसो ‘अभिजित मुहूर्त’मा सम्पन्न हुने ट्रष्टले जनाएको छ ।

लाखौं मानिसहरूले यो कार्यक्रम टिभी र अनलाइन प्लेटफर्महरूमा प्रत्यक्ष हेर्ने अपेक्षा गरिएको छ । भारतको केन्द्र सरकारले आज २२ जनवरीका दिन देशभर आधा दिन बिदाको घोषणा गरेको छ र धेरै राज्यहरूले त्यसलाई समसर्थन गरेका छन् । यस अवसरमा भारतका सबै राज्यस्थित मन्दिरहरूले विशेष चाडपर्वको घोषणा गरेका छन् । वाशिंगटन डीसी र पेरिसदेखि सिड्नीसम्म, विश्व हिन्दू परिषद वा हिन्दू डायस्पोरा समूहहरूद्वारा विश्वका विभिन्न भागहरूमा कार्यक्रमहरूको आयोजना गरिएको जनाईएको छ । रामलल्लाको ५१ इन्चको नयाँ मूर्तिको ‘प्राण प्रतिष्ठा’मा भारतका विभिन्न भागबाट १४ जोडी ‘यजमान’ हुनेछन् । उक्त मूर्ति मैसुरुका अरुण योगीराजले बनाएका हुन्। मूर्तिलाई गत बिहीबार मन्दिरको गर्भगृहमा राखिएको छ । मन्दिरलाई फूल र विशेष बत्तीहरूले सजाइएको छ भने सम्पूर्ण शहर धार्मिक उत्साहमा झुमेको छ ।फ्लाईओभरहरूमा सडक बत्तीहरू भगवान राम चित्रण गर्ने कलाकृतिका साथै धनुष र बाणका कटआउटहरूले सजाइएको छ भने ल्याम्पपोस्टहरूले परम्परागत ‘रामानन्दी तिलक’ मा आधारित डिजाइनहरू बोकेका छन् ।

अभिषेक समारोहको लागि अयोध्यामा सबै सुरक्षा अंगको समन्वयमा उच्चतहको सुरक्षा प्रवन्ध गरिएको जनाईएको छ । १० हजार सीसीटीभी क्यामेरा र आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले ड्रोनहरू पनि कार्यक्रमस्थलमा तैनाथ गरिएको भने सादा पोशाका सुरक्षाकर्मी सहित प्रहरी परिचालन गरिएको छ ।कार्यक्रममा ७ हजार अतिथि आमन्त्रण गरिएको छ। बलिउड सुपरस्टार अमिताभ बच्चन, उद्योगी मुकेश अम्बानी र गौतम अडानी र खेलकुद आइकन सचिन तेन्दुलकरलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ । ‘प्राण प्रतिष्ठा’ मा भाग लिनेहरूमा रामजन्मभूमि आन्दोलनसँग सम्बन्धित व्यक्तिहरू पनि छन् । कार्यक्रममा आमन्त्रित लगभग सबै विपक्षी नेताहरूले उपस्थित हुन अस्वीकार गरेका छन्, कांग्रेसले यसलाई ‘भाजपा–आरएसएसको कार्यक्रम’ भनेर टिप्पणी गरेको छ ।

रामजन्मभूमि–बाबरी मस्जिद शीर्षक मुद्दामा सन् २०१९ मा भारतको सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले रामजन्मभूमि र बाबरी मस्जिद विवादको अन्त्य भएपछि मन्दिरको जिर्णोध्दार र निर्माणको पहिलो चरण सकिएपछि अभिषेक समारोह आयोजना गरिएको हो । बाबरी मस्जिद भगवान रामको जन्मस्थल रहेको मन्दिरको ठाउँमा निर्माण गरिएको हिन्दू समुदायले दावी गर्दै आएका थिए । सन् १९९२ मा १६औं शताब्दीको मस्जिद ‘कार सेवक’ले भत्काइदिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्