वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई बर्खास्त गर्न कर्मचारी संघको माग



हाम्रो इकोनोमि

 

 

 

नेपाल वायु सेवा निगमका कर्मचारीले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्। नेपाल वायु सेवा निगम कर्मचारी संघले हालका कार्यकारी प्रमुखको नेतृत्वमा निगम अगाडी बढ्न नसक्ने भन्दै अधिकारीको राजीनामा माग गरेका हुन्।

संघले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै कार्यकारी अध्यक्षले ट्रेड युनियनको कुरा नसुनि आफूखुसी निगमलाई कर्मचारी भर्ती केन्द्र बनाएको आरोप लगाएका छन्। संघका अध्यक्ष मन बहादुर कुवरका अनुसार निगमले हाल १२५ जना कर्मचारी भर्ना गरिसकेको छ, जब कि अध्यक्ष अधिकारी निगम प्रवेश गरेको जम्मा ८ महिना हुँदैछ।

‘कर्मचारी आवश्यक नै हो भने प्रकृया पुर्‍याएर र प्रतिस्पर्धाबाट राख्नुपर्ने माग गरेका थियौं। तर अध्यक्ष अधिकारीले हाम्रो कुरा नसुनि मन्त्रीको अनुरोधमा राखेको भन्ने जवाफ दिनुभयो,’ संघका अध्यक्ष मन बहादुरले भने। सोही समयमा संघले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेलाई सोधेको उनले बताए।

‘मन्त्रीले १० जना कर्मचारी राखेको हो भनेर जवाफ दिनुभयो। तर त्यतिन्जेलसम्म निगममा १२५ जना कर्मचारी भर्ना गरिसकेको थियो,’ उनले सेतोपाटीसँग भने, ‘निगम कर्मचारी भर्ती केन्द्र बनाउने ठाउँ हो?’  निगममा अध्यक्ष अधिकारी प्रवेशपछि हालसम्म कुनै पनि उपलब्धीमुलक काम नभएको र उल्टै निगमलाई हानी पुर्‍याएको उनको आरोप छ।

संघले निगमको कार्यकारी अध्यक्षलाई हटाउनुपर्ने १३ वटा कारण उल्लेख गरेको छ। कार्यकारी अध्यक्षको रुपमा निगम प्रवेश गरेको ७ महिना बितिसक्दा पनि कुनै पनि कार्ययोजना बनाउन नसकेकोमा संघले आपत्ति जनाएको छ।

‘नारिता, हङकङ लगायतका नाफामुलक सेक्टरमा उडान थप्न पहल नगरेको र लामो समयदेखि निगमको विदेशस्थित कार्यालयमा कर्मचारी रिक्त भइ स्टेशनहरूमा काम प्रभावित हुँदा समेत आफ्नो अनुकुलका कर्मचारीलाई सेटिङमा खटाउन प्रकृया नै रोकेर राखिएको छ,’ विज्ञप्तीमा भनिएको छ।

यसअघि गत वैशाखमा कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै नेपाल वायु सेवा निगमका तीनवटै संयुक्त ट्रेड युनियनमा आवद्ध कर्मचारीहरूले कार्यकारी अध्यक्ष युवराज अधिकारीको राजीनामा माग गरेका थिए।

त्यतिबेला निगमभित्र भएका असन्तुष्टि र कर्मचारीमाथि भएको दमनका विषयमा अध्ययन गर्न पर्यटन मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डेको संयोजकत्वमा छानबिन समिति बनेको थियो। उक्त समितिले अझै छानवीनको काम गरिरहेको सहसचिव पाण्डे बताउँछन्।  छानबिन समितिले काम टुंगोमा पुर्‍याउन नसक्दा यता संघले भने फेरी पनि अध्यक्ष अधिकारीलाई निगमबाट हटाउनुपर्ने दबाब दिएको छ।

संघका अध्यक्ष कुवरका अनुसार लामो समयसम्म ग्राउन्डेड भएका चिनियाँ जहाजको उचित व्यवस्थापन हुन सकेको छैन। साथै निगमको आफ्नो नियमित उडान काठमाडौं-पोखरालाई चार्टड उडानसँग सम्झौता गरी न्यूनदरमा उडान उडाएका र निगमलाई हानी पुर्‍याउँदै उल्टै चार्टड पार्टीलाई ५ प्रतिशत कमिसन दिएको उनको भनाइ छ।

निगम सञ्चालनका लागि कुनै पनि योजना नभएको, निगमको व्यापार राम्रो हुँदा समेत कर्मचारी सञ्चय कोषमा किस्ता नबुझाएको र निकट भविष्यमा सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक गुरुयोजना नबनाएको आरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...