पाँच महानगरमा विजयी बन्ने एमालेको दाबी



 

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गर्न सत्ता गठबन्धनका केन्द्रीय नेताहरू सफल भए पनि स्थानीय तहमा नेतृत्वको योजना जस्ताको त्यस्तै कार्यान्वयन हुन नसक्ने देखिएको छ । माधवकुमार नेपाल, प्रचण्ड र उपेन्द्र यादवहरू एमालेलाई परास्त गरेर केपी शर्मा ओलीको ‘अहङ्कार’ चुर्ण बनाउने उद्देश्यले काङ्ग्रेस पार्टीसँग चुनावी गठबन्धन बनाउन अग्रसर भएको बुझिन्छ भने शेरबहादुर देउवाको उद्देश्य र नियत उनीहरूको भन्दा भिन्न देखिन्छ ।

आगामी, संसदीय निर्वाचनमा प्रचण्ड, माधव र उपेन्द्रलाई एमालेविरुद्ध उपयोग-प्रयोग गर्दै आफ्नो दललाई संसदको सबैभन्दा ठूलो दल बनाउने रणनीतिक योजनामा देउवा रहेका छन् । देउवाको यस्तो योजनामा काङ्ग्रेसभित्र उनका समर्थकहरूको साथ रहेको भए पनि कोइरालापक्षीय काङ्ग्रेस ‘विद्रोही मानसिकता’मा देखिएका छन् । देशैभर कोइराला पक्ष देउवाको सोच र योजनाभन्दा भिन्न भूमिका निर्वाह गर्ने तयारीमा देखापरेको छ । स्थानीय निर्वाचनमा देउवाको कार्ययोजना असफल तुल्याउन सक्दा मात्र काङ्ग्रेसमा आफूहरूका निम्ति अनुकुल परिस्थिति बन्ने ठहर कोइराला पक्षको छ । काङ्ग्रेसभित्र उत्पन्न चरम अन्तरविरोधको असर चुनावी परिणाममा पर्ने अब स्पष्ट भएको छ ।

देशका ६ महानगरको चुनावी परिणामले भोलिको राजनीतिक शक्ति सन्तुलनको सङ्केत गर्ने ठानिएको छ । काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखरा महानगरबाट नेकपा एमालेलाई पूरै बढार्ने योजना र तयारी सत्ता गठबन्धनको हो । त्यसनिम्ति काङ्ग्रेसले काठमाडौं ललितपुर र विराटनगरमा प्रस्तुत गरेका उम्मेदवार कमजोर पनि मानिएका छैनन् । राजधानी काठमाडौंको प्रमुखमा उम्मेदवार बनाइएकी सिर्जना सिंह अनेक दृष्टिले उपयुक्त मानिन्छिन् भने ललितपुरमा प्रमुखका उम्मेदवार चिरिबाबु महर्जन पनि सक्षम र बलिया ठानिन्छन् । तर यी दुवै महानगरमा नेकपा एमालेले आफ्नो विजय सुनिश्चित ठानेको छ । यी दुवै महानगरमा एमालेको प्रतिवद्ध मतदाताहरूको सङ्ख्या तुलनात्मक रूपमा अधिक रहेको, काङ्ग्रेसका उम्मेदवारलाई अन्तर्घात हुने निश्चित भएको र, स्वतन्त्र उम्मेदवारहरूले पनि सबैभन्दा बढी मत काङ्ग्रेसकै काट्ने भएकोले काठमाडौं र ललितपुरमा काङ्ग्रेस रक्षात्मक अवस्थामा पुगेको देखिन्छ ।

त्यसैगरी पोखरा महानगरमा पनि एमालेको पल्ला भारी देखिएको छ । सत्ता गठबन्धनका घटकहरूमध्ये माधव नेपाल समूहलाई कमजोर मानिन्छ तर, पोखराको प्रमुख पद नेपाल समूहको भागमा परेको छ । एमालेको धेरै राम्रो पकड क्षेत्रमध्ये मानिएको पोखरामा एमालेले लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाएकोले पनि उक्त महानगरमा एमालेको दाबीअनुरुपको सफलता मिल्ने ठानिएको छ ।

भरतपुर महानगरको चुनाव अनेक दृष्टिले सर्वाधिक महत्वपूर्ण मानिन्छ । माओवादी नेता प्रचण्डको संसदीय निर्वाचन क्षेत्र भएको र, प्रचण्डको आफ्नै छोरी उम्मेदवार बनेका कारणले मात्र उक्त महानगरको निर्वाचनलाई महत्वपूर्ण मानिएको होइन । भरतपुरको हार-जितले सत्ता गठबन्धनको भविष्य र आगामी संसदीय निर्वाचनमा बन्ने गठबन्धनलाई समेत असर गर्ने हुनाले भरतपुर महानगरको निर्वाचन ज्यादा अर्थपूर्ण हुने ठानिएको हो । काङ्ग्रेसको बागी उम्मेदवार नभएको र, काङ्ग्रेसका समर्थकहरूको मत माओवादी उम्मेदवारलाई जाने स्थिति भइदिएको भए भरतपुरमा अत्यधिक मतबाट माओवादी उम्मेदवारको विजय हुने निश्चित थियो । काङ्ग्रेसको बलियो बागी खडा भएपछि भरतपुरको चुनावी परिणाम अनपेक्षित हुन सक्ने देखिन्छ । बागी उम्मेदवारीले चुनावलाई द्विपक्षीयबाट त्रिपक्षीय टक्करको अवस्थामा पुऱ्याइदिएको छ । यसअघिको निर्वाचनमा काङ्ग्रेसको बागी नहुँदा माओवादीसँगको प्रतिष्पर्धामा झण्डै विजयी बनेको एमालेले भरतपुरमा समेत यसपटक आफैं विजयी बन्ने ठानेको छ ।

उता माओवादी पक्ष भने काङ्ग्रेस मतको ठूलो हिस्सा एमालेतर्फ मोडिन सक्ने कुराले चिन्तित थियो । काङ्ग्रेसको बागी खडा भएकोले आफूलाई नआउने तर एमालेतिर जान सक्ने सबै मत रोकिने र, त्यसले आफूलाई विजयी बन्न सहयोग पुऱ्याउने माओवादी पक्षको विश्वास र विश्लेषण छ । जबकि बाहिरी चर्चा र माहोलको मात्र आधारमा भन्नुपर्दा काङ्ग्रेसका बागी जगन्नाथ पौडेलले विजय हात पार्ने सम्भावना रहेको छ भन्नुपर्ने हुन्छ । तर बाह्य चर्चा अधिक भए पनि अहिलेसम्म जगन्नाथ तेस्रो स्थानमा रहेका छन्, कुनै चमत्कार भएको स्थितिमा मात्र उनको अवस्था बदलिन सक्ने विश्वास गर्न सकिन्छ । भरतपुरको स्थिति अध्ययन गर्दा त्यहाँ अहिलेसम्म एमाले उम्मेदवार सबैभन्दा अगाडि, त्यसपछि माओवादी र तेस्रोमा जगन्नाथ पौडेल देखिएका छन् । यही अवस्था वैशाख ३० सम्म कायम रह्यो भने यसपटकको चुनावी परिणाम एमालेको पक्षमा जाने प्रबल सम्भावना छ ।

जसपाको भागमा परेको वीरगञ्ज महानगर पनि आफ्नै हातमा आउने विश्वास र विश्लेषण एमाले नेतृत्वले गरेको छ । उम्मेदवार चयनका कारण जसपाभित्र असन्तुष्टि बढेको तथा काङ्ग्रेस र माओवादी समर्थकहरूको मत समेत आफूतिर आउने विश्वासका आधारमा एमाले आफू विजयी बन्ने निष्कर्शमा पुगेको हो । वीरगञ्जमा जसपाको साझा उम्मेदवारलाई पराजित गर्ने सफलता एमालेलाई मिल्ने विश्वास अन्य पक्षले गरेका छैनन्, यदि त्यहाँसमेत एमाले विजयी बन्यो भने त्यसले देशको राजनीति भिन्न स्थितिमा पुऱ्याउने निश्चित छ ।

एमालेले विराटनगर महानगरमा आफू विजयी बन्न सक्ने ठानेको छैन । विराटनगरमा गठबन्धनकै उम्मेदवार विजयी बन्ने ठहर एमाले स्वयम्ले गरेको बुझिन्छ । महानगरबाहेक बुटवल, सिद्धार्थनगर, घोराही, हेटौँडा, सुर्खेत (वीरेन्द्रनगर) र नेपालगञ्ज जस्ता नगर समेतमा आफू विजयी बन्ने दाबी एमालेको छ । चुनावी माहोलको अध्ययन गर्दा एमालेलाई बढार्ने योजनामा सत्ता गठबन्धन सफल हुने अवस्था अहिलेसम्म देखापरेको छैन । बरु स्थानीय निर्वाचन परिणामले नै एमालेलाई देशको सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित गरिदिने सङ्केतहरू देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

भुटानी राजपरिवारको सदस्यहरु काठमाडौंमा

    भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

नक्कली डाक्टरले लुटे सुनचाँदी र ३ लाख रुपैयाँ

    नक्कली डाक्टर बनेर घरभित्र घुुसेका व्यक्तिले ३ लाख नगद र सुन–चाँदीका