६,५०० मिटरको उचाइमा कन्सर्ट, राजु र दीयाले सगरमाथा आरोहण गर्ने



हाम्रो इकोनोमि

 

 

गायक राजु लामा र अभिनेत्री दीया पुनले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । सोमबार पर्यटनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा प्रदान गर्दै आरोहण सफलताको शुभकामना दिए । जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन राजु र दीयाले हिमाल आरोहण गर्न लागेका हुन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले शुभकामना पत्रसहित झण्डा हस्तान्तरण गरेका हुन् ।

गायक लामाले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प दुईमा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रम समेत गर्ने भएका छन् । विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने लामाको तयारी छ । उनी चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्नेछन् भने अभिनेत्री पुन चाहिं चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले दीयाले हिमाल आरोहण गर्न लागेकी हुन् ।

‘नेपाली हिमाल र हिमनदी पग्लिएका छन् । यो नेपालको मात्र मुद्दा होइन, यसमा विश्वकै ध्यान आकृष्ट हुनु जरुरी छ,’ गायक लामाले  भने, ‘कार्बन उत्सर्जन घटाउनु, पर्यटत प्रबर्द्धन गर्नु र संगीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको हुँ ।’

गायक लामाले क्याम्प दुईमा गर्ने कन्सर्टमा आफ्नो ब्याण्ड मंगोलियन हार्टका चर्चित गीत गाउने छन् । उनी तीनजना नेपाली र बाँकी विदेशीसहितको १० सदस्यीय आरोहण दलसँग चुचुरोतर्फ लाग्नेछन् । लामाले कन्सर्टका लागि गितार लिएर हिमाल चढ्ने बताए । मन्त्री आलेले दुवै सेलिब्रिटी आरोहीलाई सघाउन सरकार तयार रहेको बताए । ‘उहाँहरुले मागेको सहयोग दिन सरकार तयार छ,’ मन्त्री आलेले भने, ‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला ।’

सरकारले चाँडै सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको समेत मन्त्री आलेले जनाए । बढीभन्दा बढी पर्यटकलाई नेपाल ल्याउन ओडीसी इन्टरटेनमेन्टसँग मिलेर बलिउड अभिनेता सलमान खानको कार्यक्रम गर्न लागिएको समेत मन्त्री आलेले बताए । कार्यक्रममा उपस्थित फिल्म निर्देशक मिलन चाम्स, पाइलट तथा अभिनेता विजय लामा, पर्वतारोही क्षेत्रका प्रतिनिधिले पनि लामा र पुनलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...