भारतको अपोलो अस्पतालमा खनालको उपचार सुरु, यस्तो छ स्वास्थ्य अवस्था



हाम्रो इकोनोमि

 

 

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा बुधबारदेखि नै उपचार सुरु भएको छ । स्वास्थ्य समस्या बढेपछि खनाललाई स्वास्थ्य उपचारका लागि बुधबार दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्लीस्थित अपोलो अस्पताल लगिएको थियो ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले अस्पतालमै पुगेर खनाल र उनको उपचारको नेतृत्व गरिरहेका चिकित्सकसँग स्वास्थ्यस्थितिबारे छलफल गरेका छन् । भेटपछि राजदूत आचार्यले खनालको उपचार बुधबारबाटै सुरु भएको जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि नर्भिक अस्पताल भर्ना भएका खनालको स्वास्थ्यमा थप जटिलता थपिन सक्ने देखिएपछि चिकित्सकको परामर्शमा दिल्ली लगिएको हो । खनाल लगातार ज्वरो र खोकीपछि नर्भिक अस्पताल भर्ना भएका थिए । तर, स्वास्थ्यमा सुधार आउनुको साटो समस्या बढ्दै गएपछि चिकित्सकले दिल्ली लैजान सुझाएका थिए ।

खनालमा मिर्गौलाले राम्रोसँग काम नगर्दा हुने स्वास्थ्य जटिलता देखिएको छ । खनालमा मिर्गौलाको समस्याबाट हुने र कोभिडपछिका लक्षणहरू देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताए । डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत संक्रमण देखिएको छ । खनाललाई के भएको हो भन्ने चिकित्सकले किटान गर्न सकेका छैनन् ।

नर्भिक अस्पताल स्रोतका अनुसार खनालको फोक्सोमा पानी जमेको छ । अक्सिजन लेभल राम्रो छैन । अक्सिजनको नियमित सपोर्ट दिइएको छ । त्यस्तै, मंगलबार उनको शरीरमा दुई पिन्ट रगत दिन खोज्दा शरीरले एक पिन्ट मात्रै लिएकाले मुटुले पनि राम्रोसँग काम नगरेको हुन सक्ने चिकित्सकहरूको भनाइ छ ।

उनको पिसाबमा पनि इन्फेक्सन देखिएको छ । यसअघि गत ३० माघमा स्वास्थ्यमा समस्या देखिएपछि खनालले अपोलो अस्पतालमै उपचार गराएका थिए । त्यहाँ चिकित्सकहरूले मिर्गौलामा खराबी देखिएकाले तीन महिनापछि ट्रान्सप्लान्ट वा डायलाइसिसको विकल्पमा जानुपर्ने हुन सक्ने बताएको पारिवारिक स्रोतको भनाइ छ ।

स्वास्थ्य सुधारपछि खनाल ८ फागुनमा स्वदेश फर्किएका थिए । तर, पछिल्लो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पार्टीको खिचातानीमा खनाल पनि सक्रिय थिए । पछिल्लोपटक खनाललाई पनि पार्टी सदस्यताबाट समेत हटाइएको छ ।

कोभिड संक्रमणका कारण खनाल गत १८ वैशाखमा नर्भिककै भिआइपी वार्डमा भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हाई फ्लो अक्सिजनको सपोर्ट दिइएको थियो । करिब दुई सातापछि डिस्चार्ज भएपछि बेडरेस्टमा रहेका खनाल पार्टीको आन्तरिक बैठकमा जुम मिटिङमार्फत पुनः सक्रिय भएका थिए ।

उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या देखिएपछि त्यसअघि खनाल २७ असोजमा ह्याम्स अस्पताल भर्ना भएका थिए । दिल्ली प्रस्थान गर्नुअघि खनाललाई प्रधानमन्त्री केपी ओलीले टेलिफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका थिए । त्यस्तै, महासचिव ईश्वर पोखरेलले अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेता गोकर्ण विष्टलगायत अस्पतालमा पुगेर उनको स्वास्थ्यलाभको कामना गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
संसदमा आज पनि विपक्षीको विरोध

    प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका छन् । बैठक...

राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

    राप्रपाले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठकमा...

एमाले पुनर्गठन कार्यदलको बैठक ओलीकै अध्यक्षतामा

    नेतृत्व नछाड्ने अडान लिएका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी पुनर्गठन...

विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

     प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई  विज्ञान, प्रविधि तथा नवप्रवर्तन...