राजा वीरेन्द्र कति मदिरा पिउँथे ?



हाम्रो इकोनोमि

 

 

केही वर्षअघि स्वीटरजरल्यान्डको मदिरा कम्पनी टुरविनेनब्राउले हातमा बियरको गिलास लिएर मुस्कुराइरहेको दिवंगत राजा वीरेन्द्रको फोटो राखेर उनकै नामको बियर उत्पादन गर्यो । स्वीस कम्पनीले ‘वीरेन्द्र’ बियरलाई स्पाइस्ड–हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखेको थियो । नेपालमा यसबारे हल्लाखल्ला र विवाद हुँदा कम्पनीले बियर उत्पादन नै बन्द गरिसकेको खबर आयो । तर त्यसपछि धेरै नेपालीको मनमा चस्का पस्यो, के राजा वीरेन्द्र साँच्चै पियक्कड नै थिए त ?

राजा वीरेन्द्रको पियक्कड स्वभावबारे अनौपचारिक प्रसंग थुप्रै सुनिए पनि लिखित रुपमा त्यति धेरै सामग्री पाइँदैनन् । यद्यपि वरिष्ठ पत्रकार भैरव रिसालले ‘उहिलेको नेपालः भोगेको, देखेको, सुनेको’मा यसबारे थोरै चर्चा गरेका छन् ।

रिसाललाई वीरेन्द्रको मदिरा प्रसंग सुनाएका रहेछन्, पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यले । आचार्यसँग राजा वीरेन्द्रले यदाकदा साँझपख राजदरबारमा रायसल्लाह लिँदा रहेछन् । उनी राजालाई प्रायः गिलास लिएर बसेको देख्दा रहेछन् । र, आफू मद नलिने आचार्यलाई राजाले मदिरा पिएको पटक्कै चित्त बुझेनछ र लप्पनछप्पन नगरी भनिदिएछन्, “राजाले धेरै जाँड खानुहुँदैन । राजाले त देश पो चलाउनुपर्छ ।”

उनले राजालाई त्यसरी सल्लाह दिँदा रानी ऐश्वर्य पनि सँगै रहिछन् । राजाले खाएको ब्रान्डीलाई जाँड भनिदिँदा उनले आचार्यलाई त्यहीँ झम्टिछन्, “राजाले ड्रिङ्क नगरे कसले गर्छ त ? फेरि यो जाँड होइन, ब्राण्डी हो ।” टंकप्रसादले पनि तत्काल जिब्रो नचपाईकन भनेछन्, “ब्राण्डी भने पनि ह्विस्की भने पनि असली नाम त जाँडै हो नि । यसले पनि नशा दिने त हो ।” त्यसपछि दरबारसँग उनको सम्बन्ध त्यति सुमधुर हुन सकेनछ ।

त्यसो त आम जनताको बुझाइमा राजदरबार भोगविलासको अखडा नै हो । इतिहासदेखि नै राजामहाराजाहरु सुरा र सुन्दरीमा जोडिएकै छन् । राजा त्रिभुवन, उनका पिता पृथ्वीवीर विक्रम पनि ‘मदिराबाज’ नै मानिएका छन् । इतिहासमा मदिराप्रेमी राजाका रुपमा भने वीरेन्द्र नै चिनिएका छन् । बियर उत्पादनले होस् या अन्य मदिरा प्रसंगले । अरु कुरामा रानीसँग विवाद भए पनि मदिराका सवालमा उनको त्यति मतभेद थिएनन् । उनले वीरेन्द्रलाई पिउने मामिलामा कहिल्यै रोकिनन् ।

त्यतिबेला राजनीतिज्ञ आचार्यको सल्लाह गलत चाहिँ थिएन । सुझबुझका साथ राजपाठ सम्हाल्नुपर्ने राजा नै हरेक साँझ नशामा झुम्न थालेपछि देशको हालत के होला ? आचार्यले ‘होशपूर्वक शासन गर्नुपर्ने मान्छेले बेहोशीमा पुर्याउने पेय खानुहुँदैन’ सम्झाए पनि राजपरिवारले भने त्यसलाई रुचाएन । बरु राजाको मदिरा मात्रा र लसपस बढेको बढ्यै भयो । रिसालले लेखेका छन्, ‘नभन्दै पारिवारिक भोजको मादक माहोलमा १९ जेठ २०५८ मा राजा वीरेन्द्र र उनको वंश विनाशै भयो ।’ साँचो हो कि होइन, तपाईं आफू पनि ठन्डा दिमागले विचार गर्नूस् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...