खानै नपाएपछि रोगको के डर !



 

 

 

बालबच्चा बोकेर खुला आकाशमुनि खाना खान बाध्य अभिभावक भन्छन्– खानै नपाएपछि रोगको के डर !

घटस्थापनाको दिन । खुलामञ्चस्थित बसपार्क । कोरोना भाइरसको रजगज नभएको भए यहाँ खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो, दसैं मनाउन थातथलो पुग्नेहरूको लावालस्कर हुन्थ्यो । यतिबेला गाडी र मान्छे सरोबरी छन् । दसैंको मुखमा यात्रु नपाएर गाडी चिलबिल भएको यसअघि सायदै देखिएको थियो ।

यहाँ भोका गाडीको मात्र होइन, भोका मान्छेको पनि भिड छ । सहचालकहरू चिच्चाई–चिच्चाई यात्रु बोलाउने सामर्थ्य राख्छन् तर भोकले रन्थनिएकाहरू निःशुल्क खाना बाँड्नेलाई निरुपाय कुरिरहन्छन् ।

बिहानको ९ बज्यो, घामले सबैलाई रनक्क तताएको छ । वीर अस्पतालपट्टिको गेटबाट बसपार्क छिरेपछि दायाँतिरको पेटीमा दाल–भातको व्यग्र प्रतीक्षामा एक हुल मान्छे छन् । कपडा मैलो छ, निधारमा पसिनाका थोपा छन् । धेरैको हातमा नाम्लो छ, कोही हतारिँदै त्यही हुलमा मिस्सिन आइपुग्छन् । भौतिक दूरीको गुन्जायस छैन । प्रायः सबैको कानमा मास्क उनिएको छ तर मुख राम्रोसँग ढाकिएको छैन । धेरैले मास्कलाई चिउँडो मुन्तिर सारेका छन् । कसैलाई हतारो भएझैं लाग्दैन, मौन छन् प्रायः । त्यही हुलको छेवैमा एउटी महिला पिठ्युँमा बच्चा बोकेर उभिरहेकी छन्, साथमा सानी नानी छिन्, जो घरी यता, घरी उता गरिरहन्छिन् । पिठ्युँको बच्चा नरोए पनि खुट्टा लागेकी छोरीलाई सम्हाल्न हम्मे परिरहेको छ । उनी एकै ठाउँमा राख्न खोज्छिन् तर छोरी माने पो ! आमा–छोरी दुवैका आँखा गेटतिर छन्, कसैलाई कुरिरहेझैं ।

९ बजेर २० मिनेट गयो । निःशुल्क खाना वितरण गरिरहेको ‘हाम्रो सानो प्रयास’ को भ्यान खाना बोकेर गेटभित्र छिर्‍यो, सबै जर्‍याकजुरुक उठेर भुइँमा लहरै बसे । ती महिला अझ हतासै देखिइन्, स्वयंसेवकहरूले भने खाना बाँड्न थाले । उनी अझ लाइनमा बसेकी थिइनन्, उनी र उनकी छोरीका आँखा गेटतिरै थिए । अनुहारको छाला चाउरिइसकेको, कपाल–दारी तिलचामल भइसकेको, कद होचो र ज्यान सिखुटे भएको एउटा मान्छे पुरानो रिक्सा चलाउँदै गेटबाट भित्र छिरेपछि दुवैको मुहारमा मुस्कान नाच्यो । नानी दोड्दै रिक्सातिर गइन्, आमाचाहिँले भुइँमा बस्ने ठाउँ खोजिन्, स्वयंसेवक उनी भएतिर गए । रिक्साबाट ओर्लिएको मान्छेको हात समात्दै, लाडिँदै नानी पनि आमा नजिक आइन् । छेवैमा आएपछि नानीतिर फर्केर ती वृद्धले भने, ‘धेरै नसता, आज बोनी भो । बरफ खान पाउँछेस् ।’

प्लास्टिकको प्लेट, त्यसमाथि दाल–भात र तरकारी आइसकेपछि उनीहरूले हात पखालेझैं गरे अनि पारिलो घामलाई साक्षी राख्दै भुइँमै टुक्रुक्क बसेर खाना खान थाले । ती वृद्ध काइँला तामाङ ६५ वर्षका रहेछन् । ती महिला (४५) चाहिँ उनकी पत्नी वसन्ती । चञ्चले नानी उनीहरूकी छोरी, उमेर ३ वर्ष । पिठ्युँमा १३ महिनाको छोरो । यो परिवार खुलामञ्चको खुला आकाशमुनि खान बाध्य भएको चार महिना नाघ्यो । यो त्यही परिवार हो, जसलाई लकडाउनअगाडि खाना र सुत्नको सुर्ता थिएन । रिक्सा चलाएरै काइँलाले परिवार धानिरहेका थिए । बचत हुँदैनथ्यो, त्यो अलग कुरा । लकडाउनपछि उनीहरू एकै पटक सडक आइपुगे । काइँलाकै शब्दमा– ‘सबथोक चौपट भो ।’

काइँलाको परिवारभन्दा थोरै पर्तिर ज्ञानबहादुर श्रेष्ठको परिवार थियो । नाम्लोलाई पिर्का बनाएर उनी पनि अढाइ वर्षकी छोरी र पत्नीसहित ग्वामग्वाम खाँदै थिए । ५१ वर्षीय ज्ञानबहादुरले भारी बोकेरै तीन जनाको परिवारको गर्जो टारिरहेका थिए तर लकडाउनपछि बिचल्ली भयो । उनका अनुसार सुरुमा उनी एक्लै खुलामञ्चमा खान आउँथे, छोरी र पत्नीलाई डेरामै व्यवस्था गर्थे तर धान्नै सकेनन् । त्यसपछि परिवारै सडकमा आएर खान थाले । भात मुछिरहँदा उनले भने, ‘यत्तिका वर्ष काठमाडौंमा बसियो, अरू काम नपाए पनि भारी बोक्न पाइन्थ्यो, यसपालि त त्यही पनि पाइएन ।’ उनलाई सोधें– ‘काठमाडौं छिरेको कति वर्ष भयो ?’ उनले देब्रे हातका पाँचै औंला तीन–तीन पटक भाँचे । अनि छोरीको खाना मुसिदिन थाले ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्