दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बिओपी स्थापना



हाम्रो इकोनोमि

 

कालापानी क्षेत्र अतिक्रमण गरेर सडक खनेको भनेर नेपालभर भारतको चर्को आलोचना भइरहेको वेला सरकारले दार्चुलाको व्यास नगरपालिकास्थित छाङरुमा सीमा पोस्ट स्थापना गरेको छ । छाङरु कालापानीको अतिक्रमित भूमिबाट १२ किलोमिटर तल पर्छ । त्योभन्दा माथि नेपाली भूमि कालापानी, नावी र नावीढाङमा भारतीय फौजका आठ क्याम्प छन् ।

स्थानीय जितसिंह बोहराका घर भाडामा लिएर अहिले बिओपी राखिएको छ । बुधबार बिओपी स्थापना भएपछि छाङरुमा सशस्त्रका इन्स्पेक्टर लिलिबहादुर चन्दको नेतृत्वमा २५ जनाको जनशक्ति खटिनेछ । तर, बुधबार भने त्यहाँ आठजनालाई मात्रै पुर्‍याइएको छ । बाँकी सिपाही बन्दोबस्तीका सामानसहित बिहीबार छाङरु उतारिने सशस्त्रको ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर विष्टले बताए ।

कालापानी क्षेत्रको नेपाली भूभागमा ५८ वर्षदेखि भारतीय सुरक्षा फौजको परेड चलिरहेको छ । सन् १९६२ मा अर्धसैनिक बलको ब्यारेक स्थापना गरेको भारतले आफ्नो फौज विस्तार गर्दै अहिले सो क्षेत्रका तीन स्थानमा आठ क्याम्प खडा गरेको छ ।

नेपाली भूमि अतिक्रमण गर्दै आएको भारतीय फौजले छाङरुभन्दा माथि जान नेपालीलाई निषेध गर्दै आएको छ । त्यसैले नेपालीहरू त्यो क्षेत्र जाने अन्तिम यही हो । सशस्त्रको बिओपी पहिलोपटक स्थापना भए पनि यो छाङरुको सीतापुलमा र त्योभन्दा १२ किलोमिटर पूर्व (चीन)तर्फ टिंकरस्थित छियालेकमा नेपाल प्रहरीको चौकी छ । तर, हिउँदमा चिसो बढ्दै गएपछि माथिको प्रहरी चौकीका जनशक्ति तल झर्दछ ।

चिसो बढ्न थालेपछि छियालेकका प्रहरी सीतापुल आउँछन् । चिसो अझै बढेपछि दुवै चौकीका प्रहरी ४३ किलोमिटर तल राप्लाको दुम्लिङ झर्छन् । दुम्लिङमा प्रहरी नायब निरीक्षक (सइ)को कमान्डमा प्रहरी चौकी छ ।

दुम्लिङभन्दा तल हिकिला, धौलाकोट, सुन्सेला, हुती र ब्रह्मदेवमा नेपाल प्रहरीका चौकी छन् । अझै तल सदरमुकाम खलंगामा नेपाली सेना र सशस्त्र प्रहरीको एक–एक गुल्म छन् ।

यसरी कालापानीबाट १२ किलोमिटर तल छाङरु, त्यहाँबाट ४३ किलोमिटर तल दुम्लिङ पर्छ । त्यस्तै दुम्लिङबाट १३ किलोमिटर तल धौलाकोट र धौलाकोटबाट नौ किलोमिटर तल हुती र हुतीबाट चार किलोमिटर तल हिकिलामा पनि प्रहरी चौकी छ । हिकिलाबाट १० किलोमिटर तल ब्रह्मदेवको दुहु र दुहुबाट १० किलोमिटर तल दार्चुला सदरमुकाम खलंगा पर्छ । यसरी नेपालले दार्चुला सदरमुकाममाथि छियालेकसम्म सात ठाउँमा प्रहरी चौकी राखेको छ । उता भारतले भने दार्चुदा सदरमुकामपारि धार्चुलाबाट नेपालको कालापानी क्षेत्रसम्म १५ स्थानमा २८ क्याम्प बनाएको छ । २० क्याम्प भारततर्फ छन् भने नेपालको कालापानी क्षेत्रको तीन ठाउँ गुन्जी, कालापानी र नावीढाङ आठ क्याम्प राखिएको छ ।

भारतको व्यापार प्रतिनिधिसमेत बस्ने गुन्जी क्षेत्रमा एसएसबी, कुमाउँ स्काउटको भारतीय सेना र सिख बटालियन तैनाथ छन् । कालापानीमा आइटिबिपी (इन्डो–टिबेतियन बोर्डर पुलिस), एसएसबी र भारतीय सेनाका दुई गुल्म छन् । कालापानीबाट लिम्पियाधुरातर्फ नावीढाङमा आइटिबिपी र भारतीय सेनाको एक गुल्म तैनाथ छ ।

गुन्जी, कुटी र नावी गाउँ ०१८ सम्म नेपालले जनगणना गरेको क्षेत्र हो । वरिष्ठ पत्रकार तथा सरकारका तत्कालीन अफिसर भैरव रिसालले नै ०१८ सालमा जनसंख्या गणना गरेका थिए । ती नेपाली बस्ती हुन्, तर भारतले कब्जा गरेकाले नेपाल र त्यहाँका बासिन्दाबीच संवाद अवरोध भएको छ ।

बिओपी स्थापनासँगै नेपाल प्रहरीको टोलीलाई पनि बिहीबार कार्यक्षेत्रमा पठाइने जिल्ला प्रहरी कार्यालयका डिएसपी पदमबहादुर विष्टले बताए । ‘चिसोका कारण टिंकर छियालेक र सीतापुल चौकीका प्रहरी तल झरेका थिए । अब चिसो कम भए पनि बाटोको समस्या हुँदा अहिलेसम्म प्रहरी पठाउन सकिएको थिएन, अब सेनाको हेलिकोप्टरबाट चौकीमा जवानहरू पठाउने तयारी भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...