पूर्व डिएसपी ढुंगेलबिरुद्ध पक्राउपुर्जी जारी, डनहरुको भागाभाग



 

बर्दीको आडमा सर्वसाधारणलाई त्रास फैलाउने काम गरेका पूर्व डिएसपी कुमोद ढुंगेलविरुद्ध पक्राउपुर्जी जारी भएको छ । डिएसपी ढुंगेलविरूद्ध हिजो बुधबार जिल्ला अदालत काठमाडौले पक्राउ पूर्जी जारी गरेको हो ।

आपराधिक क्रियाकलापमा संलग्न रहेका ढुंगेललाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो । गत चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो भने उनलाई पक्राउ परेका श्रेष्ठले डिएसपी ढुंगेलको नाम पनि पोलेका थिए । त्यसै अनुसार प्रहरीले उनलाई फरार सूचीमा राख्दै खोज्दै आएको थियो । तर अहिलेसम्म पक्राउ पर्न सकेको छैन ।
उनको यतिमात्र नभई अन्य अपराधिक ब्यक्तिहरुसँग साँठगाँठ देखिएको थियो । जसका कारण उनी बद्नाम समेत भएका थिए । उनीमाथि प्रहरीले त्यसैबेला निलम्वन समेत गरेको थियो । उनको निर्माण ब्यबसायी शरदकुमार गौचनको हत्या अभियोगमा अहिले जेलजीवन बिताईरहेका समिरमानसिंह बस्नेत, ईन्काउन्टरमा मारिएका कुमार घैटेसँग पनि राम्रो उठबस रहेको रहस्य खुलेको थियो । त्यतिमात्र नभई ब्यवसायिक साझेदारी समेत रहेको खुलेको थियो ।

थुनामा रहेका गुण्डा बस्नेतले जेलबाटै गुण्डागर्दी चलाउन थालेको प्रमाण प्रहरीले फेला पारेपछि उनलाई गोलघरमा राखिएको छ । तर, पनि बस्नेतले विभिन्न तरिकाबाट फिल्मी शैलीमा आपराधिक धन्दा चलाउँदै आएको रहस्य एकपछि अर्को गर्दै खुल्दै आएको छ । र उनको धन्धाको मुख्य सहयोगी डीएसपी कुमोद ढुंगेल भएको पुष्टि भएपछी ढुंगेल निलम्बनमा परेका छन् । उनको विरुद्ध पक्राउ पुर्जी जारी भएपनि पक्राउ भने गर्न सकिएको छैन ।

जेलबाटै आफ्नो धन्दा चलाउदै आएका गुण्डा नाईके काठमाडौं गोलढुंगाका स्थानीय बासिन्दा बस्नेत बाफलमा हुर्किए । प्रमाणपत्रसम्मको अध्यन गरेका बस्नेतलाई लगाउन र खान भने दुःख थिएन । मध्यम वर्गीय बस्नेत परिवारकोे गोलढुंगामा आज पनि पुख्र्यौली सम्पत्ती राम्रै भएको उनी निकट बताउछन् । तर, बस्नेत प्रमाणपत्र तहको अध्यन गर्दै गर्दा ०५८ साल देखि गुण्डागर्दीमा हिँड्न थालेका हुन् । उनी त्यतिबेला टोले गुण्डाको रुपमा उदाउँदै थिए ।

२०६० सालमा पहिलो पटक बस्नेतलाई तत्कालिन लैनचौर प्रभागका इन्सपेक्टर तथा हाल काठमाडौं परिसरमा कार्यरत एसपी अशोक सिंहले ठमेलको ज्याठाबाट खुकुरीसहित पक्राउ गरेका थिए । बस्नेतसँगै एसपी सिंहले त्यसबेलाका चल्तीका गुण्डा काजी शेर्पासहित अन्य चार जनालाई मारुती कारबाट आधा दर्जन खुकुरीसहित पक्राउ गरेका थिए । त्यसबेला केही सार्वजनिक अपराधमा मुद्दा चलाएर उनिहरू छुटेका थिए ।

ठमेलबाट दिपक मनाङ्गेको समूहले लखेटेपछि काजी शेर्पाले समिरमान बस्नेत जस्ता केटाको दुरुपयोग गरेर गुण्डागर्दीलाई बढवा दिए । काजी शेर्पाकै लहलहैमा कलेज पढ्दै गरेका बस्नेतको आपराधिक यात्र शुरु भएको थियो । जुन यात्राको अन्त्य अहिलेसम्म भएको छैन । जुन अहिले जेल बसेरै पनि चलाइरहेका छन् ।

शेर्पासँगको सहयात्रामा बस्नेतको भेट त्यस ताकाका कहलिएका गुण्डा नाईके कुमार श्रेष्ठ उर्फ घैटे (प्रहरी इन्काउन्टमामा मारिए) सँग हुन पुग्योे । घैटेसँग बस्नेतले गुण्डागर्दीमा मात्र सहकार्य गरेनन् मितेरी साइनो कायम गरे । यी दुई मीतले २०६२ देखि २०६४ सम्म राजधानीमा गुन्डागर्दीको सीमा नघाए । उनीहरुले विभिन्न व्यक्ति तथा व्यवसायीहरुलाई बाहिमाम पारेका थिए ।

ठेक्कापट्टमा गुण्डागर्दी यहि समूहको पालामा बढेको प्रहरीहरू बताउँछन् । आफूनिकट ठेकदार तथा जसले कमिशन बढी दिन्छ उसलाई ठेक्का मिलाउन यो घैटे र बस्नेत लागि पर्न थाले । ठेक्कापट्टमा रस पसेपछि उनले गजुरमुखी निमार्ण सेवा नामक कम्पनीमा सेयर होल्डर हुँदै गजुरमुखीको मालिक बन्न पुगे, घैटे । यसमा बस्नेतले पूर्णरुपमा सहयोग गरेका थिए ।
काठमाडौंलगायत देशका ठूला–ठूला निमार्णका ठेक्का मिलाउन तत्कालिन निमार्ण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनले घैटेको समूहलाई प्रयोग गर्दै आएको थियो । ठेक्का मिलाउँदै घैटेको समूहले करोडौं कमिशन कुम्लाउँदै आएको थियो ।

त्यहिताका घैटेको प्रहरी इन्काउन्टरमा मारिए पश्चात बस्नेत फरार भएका थिए । घैटे मारिनु अगाडि बस्नेतको खासै चर्चा भने हुने थिएनन् । घैटेको इन्काउन्टर पश्चात बस्नेतको योजनामा घैटे इन्काउन्टरमा खटिएका प्रहरी अधिकृतलाई निशाना बनाएको सूचना चुहावट भएपछि बस्नेतका केही गिरोह पक्राउ परेका थिए ।

तत्कालिन समयमा अपराध महाशाखाका एसएसपी हालका आईजी सर्वेन्द्र खनाल नेतृन्वको टोलीले न्यूरोडको एक गल्लीमा लुगेका साजन गुरुङ र अर्का डन साजन महर्जनलाई पक्राउ गरेपछि प्रहरीमाथिको नियोजित आक्रमण टरेको थियो ।

गुरुङ र महर्जन पक्राउ पश्चात प्रहरीमाथि आक्रमणको षड्यन्त्र बस्नेतले बुनेको रहस्य खुलेपछि बस्नेत फरार भएर भारतको गोवा पुगेका थिए । जहाँ उनको भेट अर्का कुख्यात गुण्डा नाईके मनोज पुनसँग भयो । पुनसँगको भेटपछि नेपालमा आपराधिक कर्ममा सत्ता चलाउने षड्यन्त्र बस्नेतले बुन्न थाले ।

पुन बुटवलमा आधा दर्जन अपराध गरी फरार भएका अर्का गुण्डा थिए । रुपन्देहीका युवा संघ जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली प्रहार गरी हत्या गरेर फरार पुन त्यहाँ लुकेका थिए । यी दुईको मिलन पश्ताच राजधानीमा शरद गौचनमाथि गोली प्रहार भएको थियो ।

कुमुद ढुंगेल पछिल्ला दिनमा एउटा गुण्डा समूहसँग मिलेर अर्को समूहमाथी जाई लाग्ने र सम्पत्ति हडप्ने योजना अनुसार चल्ने गरेका थिए । त्यहि योजना अनुसार उनले दिनेश अधिकारी चरीको इन्काउन्टर गरेको रहस्य पनि अहिले उजागर भएको छ । त्यहि योजना अनुसार ढुंगेलले इन्काउन्टर आतंक मच्चाएको यी घटनाबाट पनि पुष्टी हुन्छ ।

प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ ‘घैटे’का सहयोगी अनुराग कुँवर हाल समिरमानको लागि सुराकीको काम गर्न थालेको पत्ता लागेको छ । जेलमा रहेका समिरमानको लागि अनुराग कुँवरले काम गर्दै आएको भेटिएको हो । करिब चार वर्ष अगाडि प्रहरी इन्काउन्टरमा घैटे मारिएपछि उनको अवैध आर्जनमा दर्जनौ व्यक्तिहरुले मस्ती गर्दै आइरहेका छन् । यसरी मस्ती गर्ने मध्य एक हुन्, कुँवर । घैटे मारिएपछि कुँवर चलचित्र क्षेत्रमा सकृयता बढाउन थालेका छन् । गुण्डागर्दीको आफ्नो रुपलाई पखाल्न र घैटेको अबैध पैसालाई चलचित्रमा लगानी गरेर कुँवरले आफुलाई चोखो साबित गर्न खोजिरहेका छन् ।

प्रहरी स्रोतका अनुसार कुँवर अहिले पनि प्रहरी निगरानीमा परेका गुण्डा हुन् भने उनले क्यासिनोमा मिटरव्याजमा लगानी गरेर कमाएको अबैध पैसालाई चलचित्र क्षेत्रमा लगानी गरेका छन् । कुँवरले कुमार घैटेसँग तीन करोड रुपैयाँ लिएर विभिन्न व्यक्तिहरुलाई चर्को ब्याजमा लगानी गरेका थिए । तर, घैटेको मृत्युपछि सोही तीन करोड रुपैयाँ र त्यसबाट उठेको ब्याजसमेत गर्दा करिब ७ करोडको सम्पत्ति जोड्न सफल भएको उनी निकट व्यक्तिहरु बताउँछन् ।

काठमाडौं सांग्ले खोला स्थायी घर भएका कुँवर एक सामान्य परिवारका व्यक्ति हुन् । घैटे इन्काउन्टरमा मारिनुभन्दा पहिले सोही समूहमा आबद्ध भएका कुँवर पछिल्लो समय सामाखुसी क्षेत्रमा हुने गुण्डागर्दी र असुलीका धन्दामा पर्दा पछाडि बसेर कारोबार चलाउँदै आएको प्रहरी स्रोत बताउँछ । केही नेपाली चलचित्रमा अभिनयसमेत गरेका कुँवरले पछिल्लो समय केही व्यापारी र केही फिल्मकर्मीहरुलाई मिटरब्याजमा पैसा लगानी गर्दै आएको श्रोतको दाबी छ ।

कुँवरले अदालतमा बिचौलियाका रुपमा चिनिने प्रभु शमशेर राणालाई मासिक ३० लाख रुपैयाँ ब्याज तिर्ने कागज गराएर १ करोड रुपैयाँ लगानी गरेको एक चलचित्रकर्मी बताउछन् । पछि प्रभु शमशेरले उक्त रकम तिर्न नसकेपछि बानेश्वरस्थित पहिले शिवदर्शन चलचित्र मन्दिर रहेको ठाउँमा निर्माणाधीन करोडौको भवन अनुरागले कब्जा गरेको स्रोत बताउँछ । करिब १५ वर्ष अगाडि चाबहिलस्थित गोपीकृष्ण चलचित्र नजिकै अनुरागले चलाएको मोटरसाइकलले ठक्कर दिँदा नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रबहादुर सिंहका भाई वरुणबहादुर सिंहको मृत्यु भएको थियो । सो घटनापछि उनी केही वर्ष सिंगापुर पलायन भएका थिए । पछि नेपाल फर्केर घैटे समूहमा आबद्ध भएका उनी घैटे इन्काउन्टरपछि पनि अवैध धन्दा सञ्चालन गर्दै आएका छन् ।

एक उच्च प्रहरी अधिकारीका अनुसार घैटेले इन्काउन्टरमा मारिनुभन्दा पहिले नै अत्याधुनिक हतियार कुँवरलाई राख्न दिएका थिए । जब घैटे प्रहरी कारबाहीमा मारिए, त्यसपछि कुँवरले उक्त हतियार गायब बनाएको सुराक अपराध महाशाखाका अधिकारीहरुलाई पनि पुगेको थियो । यी सबै घटनाले कुमोद ढुंगेलको खुरापाती योजनाको संकेत गरेको एक प्रहरी अधिकारीले बताए । कुमोदले खुंखार खुरापातीलाई जोगाउने र तिनैलाई सहयोग गर्ने गरेको पनि पाइएको हो । कुख्यात अपराधी राधे भण्डारीको भाई गोपीको योजनामा कुमोद ढुंगेल चल्ने गरेको प्रहरी श्रोतले बताएका थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्