पानोरमा प्रकरण : होटलको गल्ती कि भारतीय पर्यटकको ?



 

गत मंगलबार मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित एक रिसोर्टमा एउटै कोठाभित्र सुतेका ८ भारतीय पर्यटकको मृत्यु भयो । यसबारे सरकारले छानविन अगाडि बढाइरहेको छ ।

तर, भारतको केरला राज्यका मुख्यमन्त्रीले भने उक्त घटनाका पीडित परिवारलाई नेपालको सरकारले नगद क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । केरलाका मुख्यमन्त्री पिनारयी विजयनले आफ्नो केन्द्र सरकारका विदेशमन्त्री डा। एस। जयशंकरलाई आइतबार पत्र लेख्दै नेपालसँग क्षतिपूर्ति माग्न सुझाएका हुन् । पत्रमा उनले भारतीयहरुको मृत्युमा होटलको उपकरण जिम्मेवार रहेको दाबी गरेका छन् ।

उनले विदेशमन्त्रीलाई लेखेका छन्, ‘ती व्यक्तिहरु बसिरहेको होटलको कोठामा राखिएको उपकरणले काम नगर्दा सो घटना भएको खुल्न आएको छ । उनीहरुको मृत्युले परिवारजनमा ठूलो धक्का पुगेको छ । अहिलेसम्म आएको विवरण हेर्दा सेवा प्रदायकबाट हेलचेक्र्याई भएको र उपकरण ठीक अवस्थामा नरहेको बुझिन्छ । त्यसैले म अनुरोध गर्दछु कि यसमा नेपाल सरकारलाई विस्तृत जाँचबुझ गर्न आग्रह गरियोस् । साथै, पीडित परिवारलाई नेपाल सरकारबाट उचित आर्थिक क्षतिपूर्ति दिलाउन पहल होस् ।’

यस विषयमा भारत सरकारबाट नेपालमा भने कुनै औपचारिक पत्र नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, ‘त्यस्तो कुनै पत्र आएको मेरो जानकारीमा छैन, आयो भने अनि छलफलको विषय हुन्छ ।’

भारतको केरला राज्यस्थित तिरुअनन्तपुरमबाट नेपाल घुम्न आएका दुई भारतीय परिवार गत सोमबार राति मकवानपुरको थाहा नगरपालिका ४, सीमभञ्ज्याङस्थित एभरेस्ट पानारोमा रिसोर्टमा बास बसेका थिए । पोखरा घुमेर भारत फर्किने क्रममा रहेका उनीहरु बस भाडामा लिएर राति ९ः३० बजे सो रिसोर्टमा आएका थिए ।

८ जना वालबच्चासहित १५ जनाको संख्यामा रहेका उनीहरुले ४ वटा कोठा बुक गरे । तर, भोलिपल्ट बिहान एउटै कोठामा ८ जना बेहोस अवस्थामा फेला परे ।

उनीहरुलाई उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याइयो । तर, ह्याम्स अस्पतालमा पुर्‍याउँदा सबैको मृत्यु भइसकेको जानकारी डाक्टरले दिए ।

त्यसरी मृत्यु हुनेमा चार जना बच्चाहरु ५ वर्षीय अभी कप, ७ वर्षीय अर्चना कप, ५ वर्षीय वैशनव कप र ९ वर्षीया बन्द्रा कप छन् ।

त्यसैगरी ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण कप र ३२ वर्षीय सरिया कपको मृत्यु भएको छ ।

मृत्यु हुने उनीहरु दुई जोडी श्रीमान–श्रीमती र उनीहरुका चार छोराछोरी हुन् ।

अर्को परिवार भने छुट्टै कोठामा सुतेकाले सुरक्षित रह्यो ।

के कारणले दुई परिवारका ८ जना एउटै कोठामा सुतेका हुन् भन्ने खुलेको छैन । अघिल्लो रात उनीहरुले होटलका कर्मचारीसित जोर जबरजस्ती गरेर हिटर कोठामा लगेको प्रहरी छानविनमा देखिएको छ । सोही हिटर बालेर झ्याल–ढोका बन्दी गरी सुत्दा निस्सासिएर उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरुको शरीरमा चोटपटक देखिएको छैन । ढोकाभित्रबाट चुकुल बन्द थियो ।

जानकारहरुका अनुसार ग्यास हिटरका कारण कोठामा कार्वन मनोअक्साइड निर्माण हुन्छ । कुनै रंग र गन्ध नहुने यो ग्यास निकै विषाक्त हुने गर्छ । यसबाट रगतमा अक्सिजनको मात्रा कम हुन्छ । यसले लगभग शरीरका सबै अंग प्रभावित हुने र मृत्यु हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

यस घटनाको छानविन गर्न सरकारले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा छानविन समिति बनाएको छ । उक्त समितिलाई १५ दिनको म्याद दिइएको छ ।

संयोजक थापाले पनि आफूहरुको अनुसन्धानमा रिसोर्टका कर्मचारीले दिन नमान्दा नमान्दै पाहुनाले जबरजस्ती हिटर लगेको होटलवालाको भनाइ उधृत गर्दै बताए ।

‘उनीहरुको जबरजस्तीले नै दुर्घटना भएको प्रारम्भिक अध्ययनले देखाएको छ । यसबारे हाम्रो निचोडलाई प्रतिवेदनमा खुलाउने छाै‌ं,’ उनले भने ।

समिति स्थलगत अध्ययन सकेर अहिले प्रतिवेदन लेखनमा जुटिरहेको छ । गत ७ माघमा गठन गरिएको समितिले ८ गतेबाटै काम थालेको थियो । १५ दिनभित्रै प्रतिवेदन बुझाउने थापाले बताए ।

‘पाहुनाको जबरजस्ती मात्र नभएर रिसोर्टका कमजोरी र पूर्वाधार अभावको विषयलाई पनि प्रतिवेदनमा समेट्ने छाैं, आगामी दिनमा सुधारका लागि सुझाव पनि प्रस्तुत गर्नेछौं,’ उनले भने ।
होटल एसोसिएसन नेपालकी अध्यक्ष सिर्जना राणाले यस घटनामा होटलको मात्रै कमजोरी नरहेको बताइन् । उनले यसलाई दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिइन् ।

‘हामीले पनि यो घटनाका विषयमा सोधखोज गरेका हौं । यसलाई एउटा दुर्भाग्यपूर्ण र दुखदायी घटनाको रुपमा लिनुपर्छ,’ उनले भनिन् ।

राणाका अनुसार होटलको कोठामा एसी नभए पनि इलेक्ट्रिक ब्ल्याङ्केट उपलब्ध रहेको पाइएको छ । चारवटा कोठा बुक गरेर ८ जना एउटै कोठामा सुत्नु पाहुनाको गल्ती देखिएको उनले औंल्याइन् ।

‘एउटै कोठाभित्र आठ जना सुत्नु, अनि झ्याल ढोका थुनेर हिटर बाल्नु पाहुनाको कमजोरी देखिन्छ, यसको सत्यतथ्य चाहिँ सरकारी प्रतिवेदनमै आउला,’ उनले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्