अष्ट्रेलियामा किन दन्किरहेको छ आगो, अहिलेसम्म कति  क्षति भयो?



हाम्रो इकोनोमि

 

.महिना दिनभन्दा बढी बितिसक्यो तर अष्ट्रेलियाको आगो निभ्ने सुरसार छैन। गत साता भने अष्ट्रेलियाबाट संसारलाई नै भावुक बनाउने तस्बिर आए। ती तस्बिर मान्छेका नभई आगलागीबाट मरेका र बाँच्न सफल भएका वन्यजन्तुका थिए: ठूलो आगोको मुस्लोबाट भाग्न नसकेका र बाँचेकोमा एकअर्कालाई अंकमाल गरिरहेका जनावरका तस्बिर। जैविक विविधता विज्ञहरूका अनुसार आगलागीमा परी यसपालि अष्ट्रेलियामा झन्डै ५० करोड बन्यजन्तु र पशुपंक्षी मारिएका छन्।

 

यति भयंकर आगलागी कसरी भयो ?

अष्ट्रेलियाका जंगलमा नोभेम्बर-डिसेम्बरतिर आगलागी हुनु कुनै नौलो कुरा होइन। तर यसपालि गर्मी सिजन अष्ट्रेलियाका लागि अभिषापजस्तै बनेर आयो र यो अझै नियन्त्रणभन्दा बाहिर छ।

अहिले भइरहेको आगलागी अष्ट्रेलियाको इतिहासमै सबैभन्दा खतरनाक छ। आगलागीमा परी कम्तीमा १५ जना मानिसले ज्यान गुमाएका छन्, सयौं घर जलेर ध्वस्त भएका छन्। लाखौं एकड जमिनका बिरूवा र पशुपंक्षी खरानी बनेका छन्। गर्मी चाँडै सकिनेवाला छैन।

केही दिनअघि दक्षिण पूर्वी अष्ट्रेलियाका हजारौं नागरिक र छुट्टी मनाउन गएकाहरूलाई आपतकालिन उद्धार गर्नुपर्‍यो। किनकी उनीहरू बसेको ठाउँलाई चारैतिरबाट आगोले घेरिसकेको थियो।

आगलागीबाट देशको बाँकी भू-भागसँग सम्बन्ध टुटेका सहरका वासिन्दालाई पानी, खाना र इन्धन पुर्‍याउन  सैनिक पानीजहाज र विमान परिचालन भएका छन्।

 

आगलागीको कारण

अहिलेसम्मकै बढी तापक्रम, लामो खडेरी र शक्तिशाली हुरीबतासको संयोजनले यसपालि अष्ट्रेलियामा आगोको विध्वंश बढेको हो।

मध्य डिसेम्बरतिर तातो हावाको लहर लगभग अष्ट्रेलियाभरि चलेको थियो। यसपालि अष्ट्रेलिया तापक्रम ४१.९ डिग्री सेल्सियस मापन भयो। अष्ट्रेलियाको इतिहासमै यति धेरै तापक्रम कहिल्यै पुगेको थिएन। कुनैकुनै भागमा अहिले पनि तातो हावाको लहर चलिरहेको छ।

अत्याधिक  तापक्रमको गर्मी सिजन आउनुअघि अष्ट्रेलियाको इतिहासमै वसन्त ऋतु सबैभन्दा सुख्खा भएको थियो। न्यू साउथ वेल्स र क्विन्सल्याण्ड राज्यका धेरै भागमा  सन् २०१७ को सुरूदेखि नै निकै कम पानी परेको थियो। त्यो खडेरीले देशको कृषि क्षेत्रलाई प्रभावित बनाएको थियो। तीमध्ये केही क्षेत्रमा अहिले आगो दन्किरहेको छ।

 

आगो कति व्यापक छ?

सेप्टेम्बर लागेसँगै यसपालिको आगलागीबारे अष्ट्रेलियामा अशुभ संकेतहरू देखिइसकेका थिए।

सेप्टेम्बर ९ मा क्विन्सल्याण्डका पहाडको प्रवेशद्वारमा रहेको बिना बुरा लज बुस फायरमा परी खरानी भएको थियो। उष्ण वनले घेरिएको लज जलेको र आगोको ज्वाला देखेर वैज्ञानिकहरूले चिसो र सिमसार क्षेत्रमा यस्तो आगो लाग्नु अस्वभाविक भएको बताएका थिए।

अहिले अष्ट्रेलिया ६ मध्ये चार प्रान्तमा आगो  फैलिएको छ। सबैभन्दा बढी पूर्वी तटीय क्षेत्रमा धेरै प्रभाव परेको छ। नोभेम्बर पहिलो सातासम्म मात्रै १५ सय अग्निनियन्त्रकले न्यू साउथ वेल्सका ७० ठाउँका आगो निभाउन खटिएका थिए।

नोभेम्बर ११ मा उक्त राज्यले  एक दशक यताकै सबैभन्दा डरलाग्दो आगलागी भएको भन्दै सूचना निकालेको थियो।

सिड्नीको आकाशमा कयौं दिनसम्म धुँवाको मुस्लो बसेर वायुको गुणस्तर संसारकै नराम्रो भएपछि सबै प्रकारका आगोमाथि प्रतिबन्ध लगाइयो।

 

अहिलेसम्म कति  क्षति भयो?

न्यु साउथ वेल्समा १० करोड एकड जमिन आगोले जलेको छ। जसबाट झन्डै १ हजार घर क्षति भएका छन्। उक्त राज्यमा अहिले पनि ९० ठाउँमा आगलागी भइरहेको छ।

अहिलेसम्म १० करोड २० लाख एकड जमिनमा आगो पुगेको छ।  गत वर्ष अमेरिकाको क्यालिफोर्नियामा लागेको आगो १९ लाख एकड जमिनमा फैलिएको थियो। झन्डै १०० जनाको ज्यान गएको उक्त आगलागी क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा ठूलो हो।

अष्ट्रेलियामा  यसपालि १५ जनाले आगलागीमा ज्यान गुमाएका छन्। अधिकारीहरूले  यो संख्या अझै बढ्न सक्ने बताएका छन्।

 

आगो निभाउन को खटिएका छन्?

आगो यति ठूलो छ कि यसलाई नियन्त्रण गर्नु सरकारको बुताभन्दा बाहिर छ। अहिले दशौं हजार अग्नि नियन्त्रक आगो निभाउन खटिएका छन्। जसमध्ये धेरै स्वंयसेवक छन्। उनीहरू हप्तौंदेखि आगो निभाउन लागेका छन् कुनैबेला त दैनिक १२ घन्टासम्म काम गरेका छन्।

संघीय सरकारले केही दिनअघि स्वंयसेवकले मागे एक जनालाई ४ हजार डलरका दरले तलब दिने घोषणा गरेको छ।

आगो बढ्दै गएपछि अष्ट्रेलियाले  सेना परिचालन गरेको छ भने आफ्ना मित्र राष्ट्रहरूसँग सहायता मागेको छ। अष्ट्रेलियन प्रतिरक्षा फौजले भिक्टोरिया र न्यु साउथ वेल्समा ब्लाक हक र चिनुक हेलिकप्टर, विमान र सैन्य पानीजहाज पठाएको छ।

अमेरिका र  क्यानडासँग  पानी ट्यांकर भएका जहाज पठाइदिन अनुरोध गरेको छ।  क्यानडाले ३० अग्निनियन्त्रक पठाउने बचन दिएको छ।

 

जलवायु परिवर्तनले आगलागी भएको हो त?

वैज्ञानिकहरूले पहिला नै भनेका थिए- जलवायु परिवर्तन जति बढ्दै जान्छ अष्ट्रेलियामा त्यति नै आगलागीका घटना पनि बढ्छन्।

वैज्ञानिक अध्ययनहरूका अनुसार जलवायु परिवर्तनको प्रभावमा अष्ट्रेलिया निकै संवेदनशील देश हो।

गर्मी सिजनमा अष्ट्रेलिया तातो र सुख्खा हुन्छ तर जलवायु परिवर्तनले तातो हुने अवधि बढाइरहेको छ भने वनस्पतिलाई सुख्खा बनाउँछ। सुख्खा बोटविरूवामा आगो सल्किन सजिलो हुन्छ।

अष्ट्रेलियाले ठूलो मात्रामा कार्वनडाइअक्साड बिसर्जन  गर्छ। यसरी निस्केको कार्वनडाइअक्साइडले पूरै वायुमण्डललाई तातो बनाउँछ।

यो क्रम अहिले पनि जारी छ। सत्ता चलाइरेको कन्जरभेटिभ गठबन्धन  उर्जा र जलवायु परिवर्तन नीतिमा अझै सहमति जुटाउन सकेको छैन।

 

हेर्नुहोस फोटोमा

प्रतिक्रिया दिनुहोस
राज्यलाई लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही

    राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सडक, ट्राफिक व्यवस्थापन र सरकारी...

रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...