सरकारलाई गाली गर्दै, दशैंको टिकट काट्दै !



हाम्रो इकोनोमि

 

प्रहरीका अनुसार नयाँ बसपार्कमा प्लास्टिकको ‘म्याट’ बोकेर आएका युवाको एक समूहले काउन्टर छेउमै रात बितायो । उनीहरुको उद्देश्य थियो, काउन्टर खुल्नासाथै दशैंमा घर जाने टिकट हात पार्नु । दशैंमा घर जाने टिकट हात पार्न यात्रुलाई कति गाह्रो छ भन्ने यसबाटै पुष्टि हुन्छ ।

बिहान ४ बजेको झिसमिसेबाटै बसपार्कमा लाइन लाग्न सुरु भएको थियो । ६ बजेबाट काउन्टर खुल्दासम्म टिकट काट्नेहरुको लाइनले काउन्टर क्षेत्र भरिइसकेको थियो ।

आइतबारबाट लामो दूरीको सवारीका लागि दशैंका अग्रिम टिकट काट्न सुरु भएको छ । कलंकी, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेललगयतका स्थानमा अग्रिम बुकिङ सुरु भएको छ । तर, कुनै पनि ठाउँमा व्यवस्थित टिकट काउन्टरको व्यवस्था गरिएको छैन ।

टिकट सकिने डर

भद्रगोलका कारण नै टिकट काट्न बिहानैदेखि लाइनमा बसिरहेकाहलाई डर छ, मैले टिकट काट्ने बेलासम्म टिकटै सकिने पो हो कि !

टिकट काट्न नयाँ बसपार्कमा बिहान ५ बजे आएर बसेका धनगढीका रामप्रसाद बैजु साढे ९ बजेसम्म काउन्टरको छेउमा पुग्न सकेका थिएनन् । ‘मेरो पालो आउँदासम्म टिककै सकिने हो कि भन्ने पीर छ, पोहोर पनि १ बजे आउँदा सबै टिकट सकियो भनेका थिए,’ उनले भने ।

यो पनि पढ्नुस्- टिकट काउन्टरलाई दशैं लाग्यो, पहिलो दिन नै ठेलमठेल

बसपार्कभित्र टिकट काट्नेको लामो लाइन छ । यहाँ लाइन मिच्नेहरु पनि प्रशस्तै छन् । त्यसैले भीड शान्त छैन । बीचमा कोही घुस्न खोज्दा कोलाहल मच्ची हाल्छ ।

भीडको व्यवस्थापनमा खटिने प्रहरीको संख्या थोरै छ । लाइन लामो भए पनि यात्रुहरुको धैर्यता भने टुटेको छैन ।
तर, अधिकांशमा आफ्नो पालो आउँदासम्म काउन्टर नै बन्द गरिने हो किन भन्ने परिलो छ ।

आक्रोश पनि

तर, कतिपय यात्रु लामो समय लाइनमा बस्नुपर्दा थकित त केही आक्रोशित देखिन्छन् । सुर्खेतका लागि टिकट काट्न लाइन बसेका रीतेश शाहीलाई ‘सरकारले नै लाइनमा बसालेर टिकट कटाएको’ मन परेको छैन ।

‘छेउकै देश भारतले चन्द्रमामा यान पठाइसक्यो, हामी चाँही बसको एउटा टिकट काट्न लखतरान हुने गरी लाइन बस्नुपरेको छ,’ उनले सरकारी शैलीप्रति असन्तुष्टि जनाउँदै भने, ‘भन्न त सबै कुरा स्मार्ट भइसक्यो भन्छन्, दशैंमा घर जाने टिकट अनलाइनबाट काट्न सक्ने सामान्य व्यवस्था गर्न सकिन्छ भन्ने सरकारको बुद्धी किन नपुगेको होला, अच्चम्म लाग्छ ।’

शाहीले यात्रुलाई लाइनमा राखेर काउन्टरभित्रैबाट ‘ब्ल्याक’ मा टिकट बिक्री भइरहेको आरोप लगाए । प्रहरी, कम्पनीका कर्मचारी र सरकारी कर्मचारीको मिलेमतोमा भित्रबाट मनलाग्दी टिकट बाँडिएको उनको दाबी थियो ।

महेन्द्रनगरको टिकट काट्न लाइनमा उभिएका सन्तराम थारुलाई पनि लाइन सर्दै नसरेको देख्दा रीस उठेको छ । बिहानदेखि लाइन बसेका उनलाई टिकट काटिसकेर अस्पताल जानु छ ।

‘यहाँ टिकट काटेर अस्पताल जानु छ, तर एक घण्टामा लाइन १० पाइला पाइला अघि सर्दैन,’ उनी भन्छन्, ‘यो युगमा एकटा टिकट काट्न पनि युद्ध नै लड्नुपर्ने जस्तो अवस्था छ ।’

उनले बिरामी ,अशक्त, अपांगता भएका र ज्येष्ठ नागरिलाई छुट्टै लाइनमा नराखिएको भन्दै असुन्तुष्टि बनाए ।
‘बुढाबुढी मान्छे पनि घन्टौं लाइनमा बस्नुपर्ने अवस्था छ, न प्रहरीलाई चासो छ, न कम्पनीका मान्छेलाई,’ उनले भने,’मानवीयता भन्ने पनि हुन्छ नि !’

टिकट काउन्टरहरुको अनुगमन गर्न बसपार्क पुगेका उपभोक्ता अधिकारवादी माधव तिमिल्सना काउन्टरको व्यवस्थापन राम्रोसँग नगर्दा यात्रुले दुःख पाएको बताउँछन् ।

‘यात्रु रातिदेखि लाइन छन्, राम्रो शौचालयको व्यवस्था गरिएको छैन, खानेपानीको पनि व्यवस्था छैन,’ उनले भने,’लाइनको व्यवस्थापन पनि गतिलोसँग भएको छैन ।’

उनले एकै जनाले ४० वटासम्म टिकट काटेको पनि भेटिएका बताए । एकैजनालाई मनलाग्दी तवरले टिकट दिँदा कालोबजारी हुन सक्ने उनको आशंका छ ।

टिकट छ, गाडी र सिट नम्बर छैन

बसपार्कमा टिकट काट्दा धेरैजसो काउन्टरले बस नम्बर र सिट नम्बर खुलाएका छैनन् । बस चढ्ने र झर्ने स्थान पनि नुखाउँदा यात्रुमाथि अन्याय भएको बताउँछन् नेपालगञ्जको टिकट काटेका रामकृष्ण लामा ।

‘टिकट त काटियो तर, यसमा कुन बसमा लैजाने हो भन्ने पनि खुलाइएको छैन, भोलि थोत्रो बसमा हालेर पछिल्तिरको सिटमा कोच्ने हुन् कि भन्ने पीर भयो,’ उनी भन्छन्, ‘काउन्टरमा यसबारे सोध्दा त्यसै दिन आउनुस् अनि थाहा हुन्छ भन्छन् । यो यात्रा राम्रो होला जस्तो छैन ।’

बस नम्बर नखुलाउँदा यात्रु टिकट काटेर पनि आश्वस्त हुन सकेका छैनन् । लामो दूरीको यात्रामा राम्रो बस र सिट नपरे धेरै समस्या भोग्नुपर्ने हुन्छ ।

छुट काटेर बढी भाडा

अग्रिम टिकट बुकिङ गर्दा व्यवसायीले विद्यार्थीलाई दिनुपर्ने छुट पनि दिएका छैनन् । छुट माग्दा ‘सरकारसँग माग्नू’ भन्ने जवाफ फर्काएको बताउँछन् महेन्द्रनगरका लागि टिकट काटेका विद्यार्थी रोहन मुस्तफा ।

‘विद्यार्थीको कार्ड देखाउँदा पनि दिएनन्, दशैंमा छुट मागेर कहाँ पाइन्छ ? भने,’ उनले भने,’अधिकार हो नि भन्दा सरकारसँग माग्नू भनेर झगडा गर्न खोजे, पुरै पैसा तिरेर टिकट काटियो ।’

उपभोक्ता अधिकारवादी रामबहादुर थापा कतिपय कम्पनीले डिलक्स बसका नाममा ५० प्रतिशत बढीसम्म भाडादर लिएर टिकट काटिरहेको बताउँछन् । डिलक्स, सुपर डिलक्स एसी बस हो भन्दै यात्रुलाई बाध्य पारेर चर्को भाडा उठाइनु जायज नभएको उनको भनाइ छ ।

‘टिकटमा बस नम्बर पनि छैन, डिलक्स बस हो भनेरै ५० प्रतिशतसम्म बढी भाडा असुलिँदैछ, कुरा उठाउनेलाई त्यसो भए टिकट नलिई फर्किनुस् भनेर जवाफ दिइँदैछ,’ उनले भने,’यति लामो लाइन बसेर टिकट काट्न काउन्टरमा पगेकालाई झन निरीह बनाएर ठगिँदैछ ।’

प्रतिक्रिया दिनुहोस
दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...

जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल

  नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा...

एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...