एकै दिनमा तीन जनाद्वारा झुण्डिएर आत्महत्या



हाम्रो इकोनोमि

 

पर्सामा एकैदिनमा तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाका विभिन्न स्थानमा बिहीबार तीन जना महिलाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका–२७ कुहडीकी ४५ बर्षीया रीखिया देवी महतो आफ्नै कच्ची घरको बलोमा कपडाको पासो लगाई झुण्डिएकी थिइन् । उनको झुण्डिएर मृत्यु भइसकेको खबर पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोली घटना स्थल पुगेको थियो । महतोको शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको छ ।

बिहीबार नै पर्साको पटेर्वासुगौली गाउँपालिका–१ मुजबनियाकी १६ बर्षीया ललिता देवीले झुण्डिएर आत्महत्या गरेकी छन् । सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाइ उनले आत्महत्या गरेकी थिइन् । उनको ६ महिना अघि मात्रै विवाह भएको थियो । पारिवारिक कलहको कारण उनले आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार सासु–ससुरा र पति विहान सात बजे खेतमा गोडमेल गर्न गएको अवस्थामा ललिताले पासो लगाएर आत्महत्या गरेकी थिइन् । ललिताका ससुरा किशोरी मुखिया बिनका अनुसार बुहारीलाई खाना पकाएर ल्याउन भनी उनीहरु खेतमा गएका थिए । १० बजेसम्म बुहारी नआएपछि घर आएर हेर्दा बुहारीले ढोका थुनेर आत्महत्या गरेको पाइएको परिवारलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

त्यसैगरी वीरगञ्ज– १ छप्कैयाकी १९ बर्षीया रुकसार खातुनले पनि बिहिबार झुण्डिएर आत्महत्या गरेकी छन् । आफ्नै घरको सुत्ने कोठाभित्र पंखामा कपडाको पासो लगाइ उनले आत्महत्या गरेकी हुन् । झुण्डिरहेको अवस्थामा आफन्तले देखेपछि पासो फुकाइ उपचारको लागि नारायणी अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । श्रीमानसँग सामान्य विवाद भएपछि उनले आत्महत्या गरेको हुन सक्ने अनुमान आफन्तले गरेका छन् ।

मृत्यु भइसकेपछि खबर पाएको प्रहरी टोलीले घटनास्थल शव जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान गरेको छ । दुवै जनाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्मा जिल्लामा निरन्तर आत्महत्याका घटना भइरहेकोे बताउँछन् ।

मानिसमा तनाव बढी हुने तर, धैर्यता कम देखिएकोले आत्महत्याको घटना बढेको हुन सक्ने उनको अनुमान छ । ‘के कारणले आत्महत्या गरेका हुन् भन्ने कुरा त पोष्टमार्टम रिपोर्टलगायत अन्य अनुसन्धान पछि खुल्दै जान्छ,’ उनले भने, ‘तर आत्महत्या गर्ने क्रम भने बढ्दो छ ।’

 

चिकित्सक भन्छन्–आत्महत्याको मुख्य कारण मानसिक समस्या

मानसिक रोग विशेषज्ञ डा. भरत गोइत आत्महत्या गर्न कोशिस गरेकाहरु निरन्तर उपचारका लागि आउने गरेको बताउँछन् । ‘कहिले विष सेवन गरेर त कहिले झुण्डिएर आत्महत्या गर्न कोशिस गरेको घट्ना हामीकहाँ आइरहेको हुन्छ,’ उनले भने, ‘७० प्रतिशत आत्महत्या मेन्टल डिसअर्डर (मानसिक समस्या)का कारण हुन्छ, लागू पदार्थ दुर्व्यसनी र देखासिकीका कारण मानिसले आत्महत्या गर्छन् ।’

उनले बच्चाहरुले भने आवेशमा आएर आत्महत्या गर्ने गरेको बताए । ‘पर्सामै केही दिनअघि बुवाले गाली गरेको निहुँमा आत्महत्या गरेको घटना सार्वजनिक भयो,’ उनले भने, ‘बालबालिकाको सोच्ने तरिका नबुझी व्यवहार गर्दा दुर्घटना हुन सक्छ, उनीहरु आवेशमा आएर जे पनि गर्न सक्छन् ।’

मानसिक समस्याका लक्षणहरु र त्यसको निदानकाबारेमा जनचेतना जगाउन नसकेकै कारण राज्यले ठूलो मानवीय क्षति बेहोर्नुपरेको डा. गोइत बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...