डेंगुको प्रकोप : पूर्व तयारी नहुँदा रोकथाममा चुनौती



हाम्रो इकोनोमि

 

पूर्व तयारी नहुँदा डेंगुको प्रकोप फैलिएको डाक्टरहरुले बताएका छन् । डेंगु रोगविरुद्धको प्रचार–प्रसार र जनचेतना नपुग्दा पनि रोकथाममा चुनौती बढेको उनीहरुको भनाइ छ ।

डेंगु सार्ने लामखुट्टेको दिनचर्या मानिसको जस्तै हुने भएकाले पनि नियन्त्रणमा थप चुनौती बढेको छ । बिहान मानिससँगै सक्रिय हुने यो लामखुट्टेले बिहान, दिउँसो र बेलुकी टोक्ने सरुवा रोग  विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार ७५ प्रतिशत बिरामीमा डेंगुको लक्षण नदेखिने हुँदा पनि प्रकोप फैलिएको छ । ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको टोकाइका कारण डेंगु रोग लाग्छ ।

तर, स्वास्थ्य मन्त्रालयले भने लामखुट्टेको टोकाइबाट सर्ने भएकाले नियन्त्रण गर्न कठिन भएको दाबी गरेको छ । डेंगु रोगविरुद्ध सचेतना अभियान चलाइरहेको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासहित ४२ जिल्ला डेंगुको जोखिममा परेका छन् । वर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फुलदानी, गमला, ट्ंयाकी आदिमा डेंगु सार्ने लामखुट्टेले फूल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।

डेंगु भएपछि उच्च ज्वरो आउँछ । ज्वरो घटाउन औषधि खानुपर्ने र प्रशस्त मात्रामा झोल पदार्थ खानुपर्ने डाक्टरले बताएका छन् । डेंगु विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको डाक्टरहरुले बताएका छन् ।

डेंगु परीक्षण गराउन अस्पताल पुगेकामध्ये ५० प्रतिशतमा संक्रमण भेटियाे

काठमाण्डाै – डेंगु परीक्षणका लागि टेकु अस्पताल पुगेका ५० प्रतिशतमा डेंगुको संक्रमण देखिएको छ ।

भदौ १ गतेदेखि अहिलेसम्म १७ सय ७४ जनाले डेंगु परीक्षणका लागि रगतको नमूना दिएका र तीमध्ये ५० प्रतिशत बिरामीमा डेंगुको संक्रमण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रशासकीय प्रमुख रुपनारायण खतिवडाले जानकारी दिनुभयो ।

मंगलबार मात्रै ५ सय ९ जना बिरामीको रगत परीक्षण गरिएको र बुधबार थप ७० जनाको डेंगु परीक्षण गरिएको हो । त्यसमध्ये ५० प्रतिशतमा डेंगुको संक्रमण देखिए पनि बिरामीको संख्या भने खुलाइएको छैन । अस्पतालमा डेंगु परीक्षण गर्ने किट र उपकरणको अभाव भएकाले डेंगु संक्रमितको संख्या खुलाउन नसकिएको प्रमुख खतिवडाले बताउनुभयो ।

‘हामीले हिजो र आज दिनभर परीक्षणको रिपाेर्ट निकालिरहेका छौँ’ उहाँले भन्नुभयो, ‘तर किट र उपकरणको अभावले संख्या यकीन गर्न सकेका छैनौँ । बिरामीको रिपाेर्ट हेर्दा ५० प्रतिशतमा डेंगु संक्रमण देखिएको छ ।’

यस्तै अस्पतालमा कार्यरत थप एक जना कर्मचारीमा पनि डेंगुको संक्रमण देखिएको छ । बुधबार थप एक जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएपछि टेकु अस्पतालमा डेंगु प्रभावित डाक्टर र कर्मचारीको संख्या १२ पुगेको छ ।

१ करोड ३५ लाख रुपैयाँ बजेट माग !

डेंगुका बिरामी बढेपछि अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग १ करोड ३५ लाख रुपैयाँ बजेट माग गरेको छ । डेंगुका बिरामी बढेपछि ‘डेंगु हेल्प डेस्क’ र ‘फिभर क्लिनिक’ सेवा सुरु गरेको अस्पतालले खर्च अभाव भएपछि सरकारसँग थप बजेट माग गरेको हो ।

तत्काल डेंगु परीक्षण गर्ने किट, रगत परीक्षण गर्ने उपकरण र थप २० वटा शैया किन्नका लागि १ करोड ३५ लाख रुपैयाँ माग गरिएको अस्पतालका प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

‘हामीसँग बिरामीको संख्या बढ्यो । त्यही अनुसार जनशक्ति व्यवस्थापन, थप अस्थायी संरचना र उपकरण किन्नुपर्ने भएकाले बजेट माग गरेका छौँ’, उहाँले भन्नुभयो, ‘अस्पताल भर्ना भएका बिरामीलाई निको बनाएर फर्काउन चाहिने उपकरण र शैयाका लागि नदिन बजेट माग गरेका हौँ ।’

एकजनामा डेंगु परीक्षण गर्न १५ सय रुपैयाँ खर्च !

सरकारले टेकु अस्पतालमा पुगेका बिरामीको उपचार निःशुल्क गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क उपचार गर्न निर्देशन दिए पनि शतप्रतिशत निःशुल्क गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार डेंगु परीक्षणका लागि चाहिने किटको मूल्य ९ सय रुपैयाँ पर्छ । यस्तै अरु परीक्षण गर्न पाँच सय जति खर्च लाग्ने गरेको छ । टेकु अस्पतालले किट र परीक्षणमा छुट दिए पनि निःशुल्क उपचार गर्न सकेको छैन ।

अस्पतालसँग सीमित बजेट भएका कारण थप बिरामीको उपचार गर्न र सरकारले भने अनुसार बिरामीको उपचार गर्न बजेट माग गरिएको प्रमुख खतिवडाको भनाइ छ ।

‘हामीले सरकारको निर्देशन अनुसार निःशुल्क उपचार गर्ने कोसिस गरेका हौँ’, उहाँले भन्नुभयो, ‘तर छुट दिँदा पनि खर्च धान्न सक्ने अवस्था नरहेपछि छुट दिएर उपचार गरिरहेका छौँ । थप खर्चका लागि सरकारसँग बजेट माग गरेका छौँ ।

अस्पतालमा अहिले २४ जना बिरामीको उपचार भइरहेको छ । अरु ९० जना उपचार गरेर फर्किएका छन । अहिलेसम्म डेंगुकै कारण तीन जनाको ज्यान गइसकेको छ भने चार हजारभन्दा धेरै बिरामी परेका छन् ।

‘एडिज’ प्रजातिको लामखुट्टेले टोकेपछि उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, हिँड्न गाह्रो हुने, टाउको दुख्ने डेंगुका लक्षण हुन् । यी लक्षण देखिनासाथ तुरुन्तै अस्पताल पुगेर जाँच गराउन डाक्टरको सल्लाह छ ।

यो पनि पढ्नुहोस

डेंगु रोग नियन्त्रण गर्न कार्ययोजनासमेत तय गर्न नसकेको भन्दै सरकारको आलोचना

काठमाण्डौ – सत्तारुढ दलकै सांसदहरुले डेंगु रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजनासमेत तय गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिसभाका सांसदद्वय जीवनराम श्रेष्ठ र अञ्जना विशंखेले डेंगु रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजनासमेत ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको हो ।

आइतबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै सांसद श्रेष्ठले विश्वमै महामारीको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना बनाउन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले लामखुट्टे नियन्त्रण गरेर डेंगु रोग लाग्न नदिन किन गम्भीर नभएको ? भनेर सरकारलाई प्रश्न पनि गर्नुभयो ।

नेकपाकै अर्की सांसद विशंखेले पनि डेंगु रोग लाग्न नदिन सरकारलाई सचेत गराउनु भयो । उहाँले डेंगुबाट बच्न सञ्चार माध्यमबाट सर्वसाधारणको जानकारीका लागि विज्ञापनसहितको जनचेतनामूलक कार्यक्रम प्रचार तथा प्रसार गर्न ढिलाइ नगर्न पनि सरकारको गराउनु भयो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले डेंगु रोग नियन्त्रणका लागि सरकार गम्भीर नभएको आरोप लगाउनु भयो । उहाँले डेंगु नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणको काममा विशेष जोड दिन पनि सरकारलाई सचेत गराउनु भयो ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले डेंगु नियन्त्रणका लागि सरकार गम्भीर भएर लागि परेको दावी गर्नु भएको थियो । उहाँले डेंगु नियन्त्रणका लागि बजेटको पनि अभाव रहेको बताउनु भयो ।

चिकित्सकहरुले नेपालमा पनि लामखुट्टेको नियन्त्रण गर्न नसके डेंगु रोगको महामारी फैल्न सक्ने चेतावनी दिँदै आएका छन् ।

टेकु अस्पतालका तीन जना डाक्टरलाई डेंगुको संक्रमण !

काठमाण्डौ – सरुवा रोग अस्पताल टेकुका तीन जना डाक्टरलाई डेंगुको संक्रमण भएको छ ।

अस्पतालका वरिष्ठ फिजिसियनसहित तीन जना डाक्टरमा डेंगुको संक्रमण पुष्टि भएको अस्पतालका प्रशासकीय प्रमुख रुपनारायण खतिवडाले जानकारी दिनुभयो । अरु ८ जना कर्मचारी पनि बिरामी परेका छन् ।

‘बिरामीको जाँच गर्दागर्दै डाक्टरलाई पनि डेंगुको संक्रमण देखिएको छ’, ‘उहाँले भन्नुभयो, ‘अरु ८ जना अस्पतालकै कर्मचारी पनि बिरामी छन् । डाक्टरसहित ११ जनाको उपचार भइरहेको छ ।’

डेंगुको संक्रमण हुनेमा डाक्टरसहित कार्यालय सहयोगी, स्वीपरलगायतका कर्मचारी छन् । पछिल्लो समय चाप बढेपछि बिरामीको उपचारमा खटिएका डाक्टरलाई समेत डेंगुको संक्रमण देखिएको अस्पतालका प्रमुख खतिवडाको भनाइ छ । बिरामी डाक्टर र कर्मचारीको नाम भने खुलाइएको छैन ।

एकैदिन ५ सय ९ जनाको रगत परीक्षण !

मंगलबार मात्रै टेकु अस्पतालमा ५ सय ९ जनाले डेंगुको परीक्षण गरेका छन । पछिल्लो समय काठमाण्डौ उपत्यकामा डेंगुको संक्रमण बढेसँगै बिरामी जाँचका लागि टेकु अस्पताल पुग्ने गरेका छन् ।

मंगलबार जाँच गराएको रिर्पोट बुधबार आएपछि बिरामीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अस्पतालमा अहिले २४ जनाको उपचार भइरहेको छ । ९० जना बिरामी उपचारपछि घर फर्किएका छन् ।

अस्पतालले १ हजार ५ सय ४ जनाको रगत परीक्षण गरे पनि एक सय बढीमा डेंगु पुष्टि भएको छ । डेंगुका कारण मोरङ, सुनसरी र चितवनमा गरी ३ जनाको ज्यान गइसकेको छ भने ४ हजार बढी बिरामी छन् ।

‘डेंगु हेल्प डेस्क’ र ‘फिभर क्लिनिक’ सेवा सुरु !

एकैदिन ५ सय जनासम्म बिरामी अस्पताल पुगेपछि ‘डेंगु हेल्प डेस्क’ स्थापना गरिएको छ । अस्पतालमा डेंगुका बिरामीको लामो लाइन लाग्न थालेपछि हेल्प डेस्क नै स्थापना गरेर सेवा सुरु गरिएको अस्पतालका प्रशासकीय प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

‘बिरामीको चाप बढेपछि अस्पताल बाहिरै छुट्टै डेस्क स्थापना गरेरै सेवा सुरु गरेका छाैँ’, उहाँले भन्नुभयो, ‘गम्भीर प्रकृतिका डेंगुका बिरामीका लागि ल्याबमा ‘फिभर क्लिनिक’ पनि सञ्चालन गरेका छाैँ।’

परीक्षणका लागि अस्पताल आउने गम्भीर प्रकृतिका बिरामीको संख्या पनि बढेपछि ‘फिभर क्लिनिक’ समेत सञ्चालन गरिएको उहाँको भनाइ छ ।

यसअघि टेकु अस्पतालले बिरामीको संख्या बढेपछि २४ शय्या डेंगु बिरामीका लागि छुट्याएको थियो । अस्पतालमा अहिले २४ जना बिरामीको उपचार भइरहेको छ ।
‘एडिज’ प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु भाइरसको संक्रमण हुन्छ । सफा पानीमा बस्ने, बिहान, दिउँसो र बेलुकी बढी सक्रिय हुने र एकै लामखुट्टेले दश जनासम्मलाई टोक्ने भएकाले डेंगुको महामारी फैलिन सक्नेन जोखिम हुन्छ ।

टाउको दुख्ने, उच्च स्वरो आउने, शरीरमा बिमिरा देखिने, हातखुट्टा गह्रौँ हुने, खान मन नलाग्ने, हिँड्न गाह्रो हुने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएमा डेंगु हुन सक्ने भएकाले तुरुन्तै जाँच गराउन डाक्टरको सल्लाह छ ।

प्रतिक्रिया दिनुहोस
ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...

पूर्णबहादुरले डाके कांग्रेस इतर समूहको बैठक

    नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूको बैठक डाकेका छन् ।...

यस्ता छन मन्त्रिपरिषद्का निर्णयहरू

    सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ...