‘पैसाको चिन्ता छैन, बढार्दा-बढार्दै मर्न पाऊँ’



हाम्रो इकोनोमि

 

 

राजमान महर्जन सधैंजसो सेतो टिर्सट र सेतो हाफप्यान्टमा भेटिन्छन्। कुनै स्कुल वा कार्यालयको पोशाकझैं जहाँ जाँदा पनि यसैमा।

५० उमेर काटेका राजमानको टिसर्टमा लेखिएको हुन्छ‍- ‘हु डज इफ आई डन्ट’।

उनको हातमा नटुट्ने अर्को चिज हो- रातो बिँड र हरियो फुर्का भएको प्लास्टिकको च्याप्टो कुचो।

‘यो मेरो सफाइ पोशाक हो। मेरो मूल नारा ‘मैले नगरे कसले गर्ने,’ टिसर्ट हेर्दै भन्छन् उनी।

कीर्तिपुरबासी राजमानलाई सबैले ‘सरसफाइ अभियन्ता’ मान्छन्। विगत नौ वर्षदेखि उनले कीर्तिपुर र विभिन्न ठाउँमा सफाइ गर्दै आएका छन्।

यसैले होला उनी आफूलाई ‘फिरन्ते’ भन्छन्।

‘म सरसफाइकै लागि निरन्तर हिँडिरहने फिरन्ते हुँ। सफा गर्न जहाँ जान्छु, त्यहीँ बस्छु,’ उनले भने, ‘कसैले बस्न, खान दिए उनीहरूसँगै जान्छु। नभए टेन्ट नै मेरो घर।’

सरसफाइमा लाग्नुलाई उनी तपष्यामा बस्नु मान्छन्। देशका गतिविधिमा चासो छैन। आफ्नै काममा तल्लीन र मस्त।

‘मेरो ध्यान यही हो, अरू सोच्न थालेँ भने उद्धेश्य गुम्ला भन्ने डर लाग्छ,’ कुचो हेर्दै उनी सुनाउँछन्।

राजमानले २०६६ साल भदौदेखि यो काम थालेका हुन्। सुरूमा उनलाई कसैले पत्याएका थिएनन्। न परिवारले, न साथीभाइले। ‘हावा कुरा’ भनेर उडाए। कतिले पागल भन्न भ्याए। ‘पार्टीको मान्छे’, ‘महानगरको मान्छे’ भनेको पनि सुन्थे उनी।

‘हाम्रो समाजमा अनौठो काम गर्नेलाई यस्ता प्रतिक्रिया दिनु स्वभाविक हो,’ उनी चित्त बुझाउँछन्।

राजमानलाई मान्छेका कुराले छोएन। आफ्नै सुरमा लागि रहे। हातमा कुचो टुटेन। कुचोले सफाइ गर्न छाडेन।

यसैको नतिजा हो, राजमानलाई अचेल समाजले पत्याएको छ। सम्मान दिन थालेको छ।

‘ओहो, यो त कहिल्यै नथाक्ने मान्छे रहेछ पनि भन्छन् कतिले,’ उनले सुनाए, ‘कहिले थाक्न हुँदैन पनि। थाकेँ भने काम सफल हुँदैन।’

राजमानको दैनिकीः बिहान ६ बजे घरबाट निस्कियो। कुनै ठाउँ पुग्यो। सफाइ गर्यो। १० बजेतिर घर फर्कियो। सफा गर्दागर्दै घरभन्दा टाढा पुगे उतै बस्यो।

उनले सरसफाइ सुरू गर्दा अठोट लिएका थिए- २०८८ सालसम्ममा नेपालीलाई फोहोर गर्न नदिने।

‘मैले सपना देखेको छु, अबको १२ वर्षमा म यहाँ कसैलाई फोहोर गर्न दिन्नँ। नेपाल सफा पार्न गाह्रो छैन। म सक्छु भन्ने हिम्मत राख्नुपर्छ,’ उनी धेरै दृढ देखिन्छन्।

एक्लो मान्छेले यस्तो सपना कसरी देखे? यसको कथा रोचक छ।

कीर्तिपुरमा एउटा चर्चित रेस्टुरेन्ट छ- लहना।

राजमानका अनुसार उनको सफाइ सपना यही रेस्टुरेन्टसँग जोडिएको छ।

राजमान धेरै वर्षअघि जग्गाको कारोबार गर्थे। राम्रो कमाइ भयो। यो काम गर्नुअघिसम्म आफू ‘कीर्तिपुरकै गरिब मान्छे थिएँ’ भन्छन्।

 

टोलका केही युवाहरूसँग उनको मिल्ती थियो। ती युवालाई राजमान धान काट्न बोलाउँथे। पछि ती युवाले अलि दिगो काम चाहिएको कुरा राखेछन्। यही क्रममा नेपाल सम्वतको नयाँ वर्ष आयो। कीर्तिपुरमा हरेक साल नयाँ वर्ष मनाउन टोल-टोलको आलोपालो गरिन्छ। त्यो वर्ष राजमानको थाम्बहाल टोल आयोजक थियो।

धान काट्ने काम सकिएलगत्तै खाली भएका युवा नयाँ वर्ष मनाउने काममा जुट्ने भए। त्यही क्रममा थाम्बहाल टोललाई खुला संग्रहालयका रूपमा परिणत गर्ने योजना बन्यो। मान्छेको आगमन बढ्ने सम्भावना र युवालाई काम चाहिएको देखिएपछि ‘बिजनेश आइडिया’ पनि फुरेको राजमान बताउँछन्।

‘घुम्न आउनेलाई खान पनि चाहियो नि,’ उनले भने, ‘ठूलो रेस्टुरेन्ट खोलौं भन्ने भयो।’

यो काम उनी एक्लैले सक्थेनन्। खुला संग्रहालयसँगै खुला रेस्टुरेन्टको योजना बन्यो। टोलका ९० प्रतिशत बासिन्दा मिलेर खोले- लहना।

लहना अर्थात् सभ्यता।

‘नेवारी सभ्यता देखाउने उद्धेश्यले नाम लहना राखियो,’ उनी सुनाउँछन्, ‘म प्रबन्ध निर्देशकका रूपमा रहेँ। तर मेरो उद्धेश्य अरूलाई रोजगारी दिनु थियो।’

राजमानको परिवारबाट उनकी आमाबाहेक दुई छोरा र श्रीमती पनि लहनामै जोडिए। लहना र संग्रहालयले विस्तारै गति लियो। टोलमा मान्छे आउजाउ बढ्यो। मान्छेसँगै फोहोर भइहाल्यो। संग्रहालय फोहोर राख्ने कुरा त भएन।

तर झण्डै १३ हजार स्क्वायर फिटको थाम्बहाल सफाइ कसरी गर्ने?

राजमानले योजना बनाए- टोलबासीले पालैपालो सफा गर्ने।

‘२ घण्टामा चार जनाले टोल बढारिसक्थे,’ उनले सुनाए।

लहनासँगै खुला संग्रहालय व्यस्त बन्यो। सफाइ त छँदै थियो। दुई वर्ष यसैगरी व्यस्त भएपछि राजमानको दिमाग फेरि चल्न थाल्यो।

 

‘सोचेँ, चार जनाले २ घण्टा खर्चेर टोल बढार्दा सफा हुने रहेछ। हाम्रो टोलमा ३३२ जना थिए। बरू यिनलाई टोली बनाएर गर्दा झनै चाँडो र राम्रो होला भन्ठानेर नयाँ समूह बनायौं,’ उनले सुनाए।

टोलका २८८ जनालाई सफाइमा लगाउने सोचे। दस-दस जनाको ३० वटा टोली बनाए। त्यसपछि आफ्नै नेतृत्वमा टोलका तीन अग्रजका हातबाट ‘सरसफाइ टोली’ उद्घाटन गरिएको उनी बताउँछन्। टोलीको अध्यक्ष आफ्नै श्रीमतीलाई बनाए।

सफाइमा टोलीका सबैजसो मान्छे सहभागी हुनुपर्ने र एउटा टोलीले महिनाको एक दिन मात्रै सफा गर्दा हुने भयो।

यसरी फेरि दुई वर्ष बित्यो।

राजमानको दिमाग न हो, शान्त के बस्थ्यो!

‘एउटा समूहले आधा घण्टामा काम सकाउँथ्यो। मेरो पालो महिनामा एकचोटि आउने। दैनिक हिसाब गर्दा एक मिनेट मात्रै काम गर्ने रहेछु। र, पनि टोल सफा हुने रहेछ,’ उनले भने, ‘त्यसैगरी सबैले दिनको एक मिनेट सफा गरे त समाजमा एउटा धूलो हुने रहेनछ।’

अनि त हो, राजमान कुचो बोकेरै हिँड्न थालेका। ‘सफाइ शिक्षा’ बाँड्दै हिँडेका। कहिल्यै नथाकेका।

भन्छन्, ‘मान्छेलाई फोहोर गर्न केही सेकेन्ड मात्र लाग्छ, थुक्न होस् वा फुत्त फ्याँक्न,’ उनी भन्छन्, ‘फोहोरकै कारण काठमाडौंले नर्क नाम पाइसक्यो।’

‘खासमा फोहोर हुँदैन, व्यवस्थित गर्न नजानेको मात्र हो,’ उनले भने, ‘आफ्नो मुखमा अड्केको केही कुरा म थुक्दिनँ, खल्तीमा राख्छु। त्यसो गर्दा मेरो तर्फबाट जताततै फोहोर उब्जिँदैन। आफ्नो खल्ती र ब्याग नै डष्टबिन बनाउनुपर्छ। पछि व्यवस्थित गर्नुपर्छ।’

उनी विदेशी शैलीको उदाहरण दिन्छन्। विकसित देशका नागरिक सानो उमेरदेखि नै सचेत हुने र फोहोर व्यवस्थित ठाउँमा फाल्ने सुनाउँछन्।

‘त्यताका बच्चामा चेतना छ। हाम्रा भने डाक्टर, इञ्जिनियर, राजनीतिज्ञ, पढेलेखेका नै अबुझ छन्। सफा गर्ने बानी नभए शिक्षाको के काम,’ अर्थशास्त्रमा स्नातक गरेका राजमान शिक्षा नै ठूलो कुरा नभएको बताउँछन्।

आफ्नो सफाइ काममा कसैको सहयोग नलिएको उनी बताउँछन्। रेस्टुरेन्टको कमाइ वा आफैंले जुटाएको पैसाले डष्टबिन, कुचो, पञ्जा, लुगा लगायत किन्छन्। पैसाको चिन्ता छैन रे। भन्छन्, ‘पैसा धेरै भएर के गर्ने।’

थाम्बहाल सफा गर्न उनले बनाएको टोली सक्रिय नै छ।

आफू भने सरसरफाइमा लाग्दै ६६ जिल्ला पुगिसकेको बताउँछन्। उनी स्थानीयलाई प्रेरणा दिन्छन्। सरकारी निकायसँग भने गुनासो छ। जिम्मेवार पदमा बसेका थुप्रै मान्छे भेटे पनि उनीहरूले नबुझेको र विश्वास नगरेको उनको अनुभव छ।

काठमाडौं सफा गर्न १० लाख मान्छे जुटाए पुग्ने उनी बताउँछन्।

‘काम गाह्रो छैन। स्कुल, संस्थाहरू सबैलाई समेट्यो भने सकिन्छ,’ आशावादी छन्।

उनले कीर्तिपुर बाघभैरव मन्दिरको उत्तरी भेगमा रहेको डम्पिङ साइटको उदाहरण दिए।

‘त्यहाँ फोहोरको चुली थियो। यहीँका महिला समूह, विद्यार्थी र संस्थाका मान्छे गरी ५५ सय जना भेला भयौं। अहिले सफा भयो।’

काठमाडौंमा सरकारले अहिलेसम्म भरपर्दो ल्यान्डफिल साइट बनाउन नसकेकोमा पनि गुनासो गर्छन्। त्यस्तै फोहोर गर्नेलाई कारबाही व्यवस्था छैन। दुई रुपैयाँ मात्रै जरिवाना गराउने हो भने फोहोर गर्नेहरू घट्ने उनको भनाइ छ।

‘विदेश जाँदा नेपालीहरू त्यहीँको नियमअनुसार फोहोर गर्दैनन् त। आफ्नो देशको चाहिँ किन वास्ता गर्दैनन्,’ उनी प्रश्न गर्छन्।

उसो त राजमान पनि विदेश जाने योजनामा छन्। चकाचक परेका पर्यटकीय नगरीमा होइन रे, फोहोर देश गएर सफाइ अभियान सुरू गर्ने सोच छ। केही महिनामै भारत जाने योजना बनाइसके।

त्यसैगरी बंगलादेश, पाकिस्तान, अरब, इरान, इथियोपियातिर सफाइ गर्ने र त्यहाँबाट सिकेको कुरा नेपालमा लागू गर्ने सोचेका छन्।

‘जीन्दगी सरसफाइमै समर्पण गरिसकेँ। मर्ने बेलामा मलाई अस्पतालमा बेहोस बनाएर नराखियोस्। म बढार्दा-बढार्दै मर्न चाहन्छु,’ आफ्नो ‘सारथी’ कुचो च्याप्प समात्दै राजमानले भने।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...