तपाइको छोरी, बहिनी निर्मलाको ठाउँमा भएको भए के भनुहुन्थ्यो ? लाज लाग्दैन? –अन्जना ढकालको गृहमन्त्रीलाई झापड
पटकपटक विवादास्पद अभिव्यक्ति दिँदै आएका गृहमन्त्रीले विगतको तुलनामा मानव तस्करी घटेको दाबी गरे पनि प्रहरीकै तथ्यांकले त्यसलाई झूटो साबित गर्छ ।
काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या जघन्य अपराध भए पनि नयाँ र पहिलो घटना नभएको बताएका छन् ।
मन्त्रालयको एक वर्षको कार्यसमीक्षा सुनाउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निर्मला घटनाका प्रकरण यसभन्दा अगाडि पनि थिए, आज पनि छन् र भोलि पनि केही समयसम्म रहन्छन् । यस किसिमका अपराधलाई हामीले पूर्णतः निषेध
गर्न सक्दैनौं ।’
उनले निर्मला पन्त प्रकरणलाई राजनीतीकरण गरिनु दुःखद भएको जनाउँदै भने, ‘हिजोको सरकारले पनि आफ्ना पालामा भएका कैयन् केसलाई कानुनी कठघरामा ल्याउन सकेनन् ।’ उनले १३ वर्षपछिसमेत प्रहरीले फरार अपराधी समातेको उदाहरण दिँदै विकसित देशमा पनि शतप्रतिशत अपराधी कानुनी कठघरामा नआउने बताए ।

गतवर्ष साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो । उक्त प्रकरणमा प्रहरीले अनुसन्धान निष्कर्षमा पुर्याउन नसकेको तथ्य बचाउ गर्दै थापाले प्रविधिले सम्पन्न अमेरिकामा पनि केही घटनाको अनुसन्धान निष्कर्षमा नपुग्ने बताए ।
विगतमा पनि विवादास्पद अभिव्यक्ति दिँदै आएका थापाले मुलुकमा रोजगारीको वातावरण सिर्जना हुँदै गएकाले विगतको तुलनामा मानव तस्करी घटेको दाबी पनि गरे । जबकि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोकै तथ्यांकले यसलाई खण्डन गर्छ । कान्तिपुरलाई ब्युरोबाट प्राप्त विवरणअनुसार २०७४ फागुन १४ गते थापाले गृहमन्त्रीको पदभार ग्रहण गरेकै वर्ष अर्थात् २०७४/७५ मा ६ वर्षयताकै सबभन्दा धेरै अर्थात् ३ सय ५ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म मात्रै १ सय ९० मुद्दा दर्ता छन् । ब्युरोकै एक अधिकारीले वैधानिक रूपमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै जाँदा मानव तस्करी बढेको बताए ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३ लाख १८ हजार ३ सय २७ जनाले रोजगारीमा जान स्वीकृति लिएका छन् । यसअनुसार दैनिक औसत ८ सय ७२ जना वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ । यो दर २०७२/७३ मा दैनिक १ हजार ३ सय ३८ थियो । यो संख्या घट्नुमा प्रमुख श्रम गन्तव्यका रूपमा रहेको मलेसिया बन्द हुनु, खाडी मुलुकले अफ्रिकी देशबाट कामदार ओसार्नुजस्ता कारण मुख्य हुन् ।
गृहमन्त्री थापाले पत्रकार सम्मेलनमारेमिट्यान्स भने बढेको तर्क गरे । उनले भनेजस्तै आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा रेमिट्यान्स बढेको देखिन्छ । अघिल्लो वर्ष ६ खर्ब ९५ अर्बरेमिट्यान्स भित्रिएकामा पछिल्लो वर्ष बढेर ७ खर्ब ५५ अर्ब पुगेको थियो । रेमिट्यान्स बढे पनि वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा निकै घटेको छ । २०७४/७५ को ११ महिनामा ३७ प्रतिशत रहेको रेमिट्यान्स वृद्धिदर २०७५/७६ मा घटेर १७ प्रतिशतमा सीमित हुन पुगेको छ ।
गृहमन्त्रीले यसअघि पनि निर्मला पन्त प्रकरणमा संसद्मा झूटो अभिव्यक्ति दिएका थिए । प्रकरणको पाँचौं दिन घटनामा संलग्न भन्दै जीवन घर्तीमगर र दीपक नेगी पक्राउ परिसकेको बताएका थिए । शंकाका आधारमा पक्राउ परेकालाई मुख्य अभियुक्तझैं प्रस्तुत गरे पनि उनको दाबी अनुसन्धानबाट पुष्टि हुन सकेन । एक जना मानसिक सन्तुलन ठीक नभएका र अर्का यौनरोगी रहेको खुल्यो । घटनामा संलग्नता पुष्टि नभएपछि दुवै छुटे ।
गृहमन्त्री यसअघि विवादित इन्काउन्टर घटनामा प्रहरीको बचाउ गर्दा पनि विवादमा तानिएका थिए । गतवर्ष साउन तेस्रो साता भक्तपुर, पेप्सीकोलाबाट निसान खड्काको अपहरणपछि हत्या प्रकरणमा मुछिएका सिन्धुपाल्चोकका गोपाल तामाङ र अजय तामाङ सूर्यविनायकको पाइलट बाबा आश्रमनजिकै जंगलमा मृत भेटिएका थिए । उनीहरू इन्काउन्टरमा मारिएको दाबी गरे पनि प्रहरीले उनीहरूलाई डेराबाटै समातेर लगेको स्थानीयले बताएका थिए । उक्त घटनामा गृहमन्त्री थापाले अनुसन्धान नै नगरी प्रहरीको बचाउ गरेका थिए ।
देशबिदेशका खबरबाट


