‘खेती गर्नुस्, जग्गा भाडा सरकारले तिर्छ



हाम्रो इकोनोमि

 

खेती गर्ने इच्छा छ तर जग्गा छैन । त्यसो हो भने चिन्ता नलिनुस् । तपाईं भाडामा जग्गा खोज्नुस् । चलनचल्तीको भाडा तय गर्नुस् । त्यो भाडा अब प्रदेश सरकारले तिरिदिनेछ ।

जग्गा अभावमा खेती गर्न नपाएका किसानका लागि यहाँको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले करार खेती योजना ल्याएको छ । यसमा किसानको सट्टा प्रदेश सरकारले नै जग्गाको भाडा तिरिदिने गरी कार्ययोजना बनेको छ । त्यसका लागि १० करोड रुपैयाँ विनियोजन भएको छ ।

भूमिहीन किसानलाई लक्षित गरी करार खेती योजना ल्याइएको हो । पहाडमा २ रोपनी तथा तराईमा ३ कठ्ठाभन्दा कम जग्गा भएका किसानलाई यो योजनामा समेटिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कसैले खेतीयोग्य जमिन बाँझै राख्ने तर कसैले खेती गर्ने जग्गा नै नपाउने अवस्था रोक्न करार खेती योजना ल्याएको बताइन् ।

‘करार खेतीले बाँझो रहेका जग्गालाई उत्पादनमूलक काममा उपयोग गर्न सकिनेछ,’ उनले भनिन्, ‘यसले प्रदेशको कृषि उत्पादन बढाउन र भूमिहीन किसानको आर्थिक अवस्थामा सुधार ल्याउन पनिसहयोग पुग्नेछ ।’

तराईका हकमा एक किसानले कम्तीमा १ देखि बढीमा १० बिघा जग्गा भाडामा लिन सक्नेछन् । पहाडमा कम्तीमा १० देखि बढीमा सय रोपनीमा खेती गरेको जग्गाको भाडा प्रदेश सरकारले तिरिदिनेछ । भाडा रकम किसानलाई होइन, सीधै जग्गावाललाई नै बुझाइदिने सचिव यामप्रसाद देवकोटाले बताए ।

जग्गावाललाई जग्गा भाडामा दिएको तर कब्जा नभएको सुनिश्चित गराउन यसो गरेको उनले बताए । ‘यसले पैसावालले खेतीयोग्य जग्गा किन्ने र बाँझो छाड्ने चलन रोकिनेछ,’ उनले भने, ‘किसानले पनि सजिलै खाली जग्गा भाडामा पाउनेछन् ।’

करार खेती मापदण्डअनुसार एकवर्षे बाली खेती गर्ने भए कम्तीमा ५ वर्षे जग्गा करार हुनुपर्ने नियम छ । फलफूल वा स्थायी संरचना खडा गरी खेती गर्ने भएमा कम्तीमा १५ वर्षको जग्गा करार हुनुपर्नेछ । करार खेती गर्ने किसानको पहिलो वर्षको सय प्रतिशत भाडा मन्त्रालयले तिरिदिनेछ । दोस्रो वर्ष ५० प्रतिशत र तेस्रो वर्षमा २५ प्रतिशत भाडा उपलब्ध गराउनेछ ।

यसका लागि तराईमा कम्तीमा ५ बिघा र पहाडमा कम्तीमा ५० रोपनी जग्गा एकै क्लस्टरमा हुनुपर्ने नियम बनाइएको छ । मापदण्डअनुसारको जग्गा पुर्‍याउन धेरै किसान मिलेर पनि जग्गा भाडामा लिन सक्नेछन् । धेरै जग्गामा एकै किसिमले खेती गर्दा कम लागत पर्ने र त्यसमा मन्त्रालयले नै सिँचाइलगायत पूर्वाधार बनाइदिने भएकाले यस्तो नियम बनाएको सचिव देवकोटाले बताए ।

‘तराईमा प्रतिक्लस्टर ५ बिघा र पहाडमा ५० रोपनीमा पूर्वाधार विकासका लागि किसानलाई ३ लाख रुपैयाँसमेत उपलब्ध गराइनेछ,’ उनले भने, ‘किसानले अनुदान रकमको १० प्रतिशत सामग्री खरिदमा समेत लगाउन सक्नेछन् ।’

मापदण्डअनुसार किसानले छनोट गरेका सरकारी स्वामित्वमा रहेका जग्गालाई पहिलो प्राथमिकता दिइनेछ । दोस्रो प्राथमिकतामा गुठी वा विद्यालय वा अन्य संस्थानका जग्गा हुनेछन् । तेस्रोमा जग्गाधनीले बाँझो राखेको जग्गा छ । चौथोमा जग्गाधनी नभएको तर खेती भइरहेको जग्गा र पाँचांै प्राथमिकतामा उपस्थित जग्गाधनीको खेती भइरहेको जग्गा राखिएको छ ।

करार खेती कार्ययोजनाअनुसार अहिले किसानबाट आवेदन संकलनको काम भइरहेको छ । प्रदेशका १२ वटै जिल्लाबाट फारम भर्न पाइन्छ । त्यसका लागि जिल्लामा रहेका कृषि ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्र र ती संरचना नभएका जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आवेदन संकलन भएको छ ।

करारमा खेती गर्न चाहने किसानले निवेदनसहित आयोजनाको प्रस्तावना, नागरिकताको प्रतिलिपि, जग्गाधनी र भाडामा लिने किसानबीचको सम्झौतापत्र बुझाउनु पर्नेछ । उक्त सम्झौतापत्र भने स्थानीय तहका जनप्रतिनिधिको रोहवरमा गरिएको हुनुपर्छ । भूमिहीन किसानको हकमा सम्बन्धित वडा कार्यालयको भूमिहीनको सिफारिसपत्रसमेत राख्नुपर्छ ।

सबै जिल्लामा प्रदेश संरचना नहुँदा करार खेती कार्यक्रमबारे धेरै किसानले भने जानकारी पाएका छैनन् । सुरुमा गत असोज २५ गतेबाट ३० दिनको म्याद राखी आवेदन माग गरिएको थिया । यस अवधिमा ५६ किसानले मात्र आवेदन दिएका छन् । त्यसमध्ये ९ सामूहिक जग्गा लिएका आवेदन छन् ।

मन्त्रालयका प्रवक्ता श्रीकृष्ण नेपालले किसानकै आग्रहमा मंगलबारदेखि थप १५ दिन आवेदन संकलनको म्याद थपिएको बताए । जिल्लाका स्थानीय तहलाई समेत आफू मातहतका किसानलाई खबर गर्न आग्रह गरिएको छ । संकलन भएका आवेदनका आधारमा किसान छनोट हुनेछन् । यस वर्ष प्रदेशका करिब ५ सय किसानलाई समेट्ने योजना रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...