खल्तीका निर्णयलाई कदापि मानिन्न – रामकुमारी झाँक्री, सांसद



 

 

०४६ को परिवर्तनपछि राजनीतिक भूमिकामा आएको पुस्ताको प्रतिनिधित्व गर्छिन्, रामकुमारी झाँक्रीले । नेपाली विद्यार्थी संगठनको पहिलो महिला अध्यक्षमात्र हैनन्, तत्कालिन एमालेभित्रकी जुझारु युवा नेतृत्वको रुपमा पनि उदीयमान छिन् । दोस्रो संविधानसभाकै समानुपातिक बन्दसूचीमा परे पनि बल्ल छानिइन् । बेथितिबारे बोल्ने उनको आदत संसदीय भूमिकामा पनि कायम छ ।

 

० संसदीय सुनुवाई कर्मकाण्डी भयो भनिन्छ । कस्तो लागेको छ ?
– संविधानको धारा १०३ (२) मा संसदीय समितिले कार्यपालिकालाई निर्देशन दिन सक्ने व्यवस्था । तर, न्यायपालिकालाई होइन । क्षेत्राधिकारभित्रका कानुनी, राजनीतिक, प्रचलित मान्यताका विषयमा संसदीय समितिले गम्भीर ध्यान दिनुपर्ने नै हुन्छ तर यस्ता विश्लेषण नगरिकन दिइएका निर्देशन हलुका सावित भए । संसदीय समिति आफैंमा मर्यादित, व्यवस्थित, संविधान र कानुनको अधीनमा हुनुपर्ने हो । तर, राजनीतिक मान्यतालाई मान्नुपर्ने अवस्था छ । जब संसदीय समितिहरु दुई फरक–फरक झगडियाको विषयमा प्रवेश गर्छन्, अनुकूल भए कार्यान्वयन गर्ने, प्रतिकूल भए मौन बस्ने काम हुन्छ अनि समस्या जन्मन्छ ।

 

संसदीय सुनुवाइको व्यवस्था नहुँदा न्यायालय र न्यायिक निरुपणका सन्दर्भमा चालिएका कदम र लिइएका निर्णयउपर कहिल्यै प्रश्न उठ्दैनथ्यो । जब संविधानमै संसदीय सुनुवाइको व्यवस्था भयो, त्यसपछि न्यायालयलाई पनि जनताप्रति उत्तरदायी ठह¥याइयो । यसबीच कार्यपालिकाले गलत प्रभावमा परेर गरेका निर्णयलाई संसदीय सुनुवाइद्वारा उल्टयाइएको छ । जुन दलले बहुमत प्राप्त ग¥यो, उसैले सरकार बनाउँछ । संसदीय समितिमा पनि उसैको बहुमत हुन्छ । त्यही कारण त्यसमा अप्रत्यक्ष प्रभाव परेको हो कि ?

 

० सरकारको आलोचना प्रतिपक्षीभन्दा सत्तापक्षीय बेञ्चबाट बढी र तिखो आयो भनिन्छ । किन यस्तो भएको ?
– सरकारले कहिलेकाहीँ जनउत्तरदायी काम गर्नबाट चुक्दा सरकारपक्षीय दलकै सदस्य भए पनि त्यसलाई सच्याउनका लागि आलोचना गर्नुपर्छ । आलोचनात्मक चेतबिना एउटा मान्छे कम्युनिष्ट पार्टीको कार्यकर्ता हुनसक्दैन । आलोचना भनेको गाली हैन, सुधारको विधि हो, सफलताको महŒवपूर्ण खुड्किलो हो ।

 

० पार्टीको आलोचना गर्ने ठाउँ संसद हो र ?
– होइन, पार्टी कमिटीमै हो । तर, अहिले हाम्रा कमिटी कामकाजी छैनन् नि † कतिपय कुरा सच्याउनका लागि सार्वजनिक ठाउँमा उठाउनुपर्ने बाध्यता हुन्छ । कि त सबैले अलोकप्रियताको भार बोक्नुप¥यो ।

 

० नेतृत्वले आलोचनालाई ग्रहण गरेर के–के सच्यायो ?
– केही मान्छेको नियत खराव होला भनेर जनताले मूल्यांकन गरेकै हुन्छन् । सामुहिक निर्णयबाट आएको हो भने नेतृत्वलाई जे लाग्छ, त्यो कार्यान्वयनमा लैजानुपर्छ । यदि, त्यसरी आएको होइन भने सीमित मान्छेले सोचेको कुरा विश्वव्यापी हुँदैन र यसलाई लोकतान्त्रिक, विधिसम्मत पनि मान्न सकिन्न । कम्युनिष्ट पार्टी सामुहिक नेतृत्व, व्यक्तिगत उत्तरदायित्वको सिद्धान्तमा चल्ने हो । एक दुईजनाले गरेको कुरालाई संस्थागत निर्णय भनिहाल्न हुन्न । संस्थागत हुनका लागि विधिसम्मत रुपमै निर्णय भएको हुनुपर्छ । व्यक्तिका खल्ती र पोल्टाका निर्णयलाई कदापि संस्थागत मानिँदैन, कम्युनिष्ट पार्टीमा त झन् त्यस्तो हुनै सक्दैन ।

 

० सडक र सदनमा उठाइएका कुरामध्ये कुन प्रभावकारी हुँदोरहेछ ?
– सडकबाट उठाइएका कुरा एकदमै बलशाली हुन्थ्यो । त्यो समय हामी पूरापुर जनताप्रति मात्र उत्तरदायी हुने गथ्र्यौं । सांसद भइसकेपछि संविधान, विधि, कानुनसम्मत चल्नुपर्छ । एउटा राजनीतिक संगठन, प्रेसर ग्रुपको नेतृत्व गर्नु र सांसद भएर जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुमा भिन्नता त छ नै ।

 

० आवाजविहीनको आवाज बोल्न सकिएन भन्ने कहिलेकाहीँ लाग्दैन ?
– यी धेरै कुराका सीमाहरु त मैले पनि भत्काएको छुजस्तो लाग्छ । सीमाभित्र रहनुपर्ने बाध्यता त छँदैछ । गर्नसक्या छैन भन्नेचाहिँ लाग्दैन । हिजो अनेरास्ववियूको अध्यक्ष हुँदै, पार्टीको केन्द्रीय सदस्य र एक जनप्रतिनिधिको हिसाबले मसँगै उस्तै भूमिकाको अपेक्षा राख्नु पनि हुँदैन । त्यतिबेला म धेरै बोल्थेँ । शायद त्यो विद्यार्थी वा युवाजन्य स्वभाव पनि होला । तर, सुनुवाइ एकदम कम हुन्थ्यो । अहिले थोरै बोल्छु । सुनुवाई धेरै हुन्छ । त्यसैले आवाज पनि परिवर्तन भएको छ ।

 

० तपाईंहरुले उठाएको आवाज हेडक्वार्टरले कत्तिको सुन्छ ?
– कतिपय कुरा सुनेकै छ । केही न केही कुरा रिफर्म हुँदै जानु र सच्याउनुलाई नसुनेको भन्न मिल्दैन । यद्यपि, यसका प्रभाव कति हुन्छन् ? त्यो हेर्दै जाने विषय हो ।

 

० सरकारका आलोचक माननीयलाई ‘छौंडा’ को उपाधी दिइएको छ । सुन्दा कस्तो लाग्छ ?
– म त जहिल्यै पनि सरकारको प्रशंसक । तर, गलत कामको आलोचना गर्नुपर्छ भन्ने चेत भएको राजनीतिक कार्यकर्ता, पार्टीको सदस्य पनि हुँ नि † उठान गर्नुपर्ने कुरा विधिसम्मत उठाइरहेको हुन्छु । त्यसलाई व्यापकता दिनका लागि सोसल मिडिया प्रयोग गरिन्छ । तर, त्यसलाई सरकारको विरोधै गरिएको ठान्नु सर्वथा गलत हो । सरकारी भनिनेहरुले देखाएको प्रवृत्तिको विरोध गरिएको हो । त्यस्ता प्रवृत्तिको संस्थागत, व्यक्तिगत सबै हिसाबले विरोध गर्नुपर्छ । जसले यस्ता भाषा, शैली प्रयोग गर्नुभएको छ, त्यसले उहाँहरुको स्तर निर्धारण गरेको छ ।

 

० सत्ताको उन्माद कस्तो हुँदो रहेछ भनेर काउण्टर पनि दिनुभएको थियो नि
– सरकार बालुवाटारको पर्खालभित्र सीमित घेराबन्दीमा चलिरहेको छ । निजी निवासको कोटरीभित्र कस्ता मान्छेको पहुँच हुन्छ भन्ने कुरा अनुमानयोग्य नै छ । सरकार सिंहदरबारबाट चलेको भए गलत स्वार्थहरु त्यहाँको पर्खालभित्र आउन अलि कठिन हुन्थ्यो । सिंहदरबारबाट राज्य सञ्चालन नहुँदा सहजीकरण कसलाई भयो ? केही सीमित पात्र, जसलाई जनता वा निर्वाचन कानुनले चिन्दैन । तर, ती आज राज्यसत्ताको सर्वेसर्वा भएको परिस्थितिमा जेखालको अभिव्यक्ति आएका छन्, डेढ वर्षमा राज्य सञ्चालन गर्दा जे–जे तरिका अपनाइयो, त्यो अपेक्षाकृत नै थियो । यस्तै मान्छेले नै सरकारलाई अलोकप्रिय बनाउने हुन् । यातायातको सिण्डिकेट अन्त्य गर्ने, ठेकेदारलाई कारवाही गर्ने, एनजिओ–आइएनजिओका सम्पत्तिको स्रोत खुलाउने भनिएको थियो ।

 

म्यानपावर व्यवसायीलाई रेगुलेट गर्ने विषय कहाँ गयो ? तरकारीको विषादी प्रकरणमा सरकारले घुँडा टेक्यो । के तत्वले प्रभाव पारिरहेको छ ? किन निर्णय गर्दै ब्याक हुन बाध्य पारिएको छ ? यस्ता कामबाट फाइदा पाउने दलाल, माफिया र बिचौलियाले हो । र तिनैले सरकारलाई निर्णय फिर्ता लिन बाध्य पार्ने हो । जहाँ सीमित मान्छे राज्यको हर्ताकर्ता हुन्छ, त्यहाँ सरकार, प्रधानमन्त्री बदनाम हुन्छ हुन्छ । हामीलाई व्यक्तिभन्दा बढी पार्टी र नेतृत्वको चिन्ता छ । जनमत भनेको आँखाले घाम–जून देखेजस्तो हुँदैन । हिजोको जनमत आज कहाँ छ ? के भन्दैछ ? के बुझ्दैछ ? यो त अबका निर्वाचनमा देखिएलान् । आजै नसच्चिने हो, कमजोरी महसूस नगर्ने हो भने भोलि ‘जी–हजुरी’ गरेर कसैले पनि पार्टीलाई सत्ता सुम्पिँदैनन् ।

 

० सरकारको काम गराईका कारण जनमत खस्किँदै गरेको भन्ने मान्यता हो तपाईंको ?
– आदरणीय जनसमुदायलाई आग्रह गर्न चाहन्छु कि, निराशाको पारो नबढाउनु होला । यो पार्टीभित्र हामीजस्ता निस्वार्थ भावले काम गर्ने कार्यकर्ता पनि छौं । तपाइँहरुको जिन्दगीसँग हाम्रो जिन्दगी र भविष्य जोडिएको छ । यसकारण पार्टीभित्र भएका गलत कामको विरुद्ध सम्झौताहीन संघर्ष गरिरहेका छौं । आश्वस्त हुनुहोस् कि, हामीसँग अझै तीन वर्षभन्दा बढी समय छ । यो अवधिमा पार्टीलाई सही ठाउँमा लैजान्छौं । पार्टी सही ढंगबाट चलेपछि पार्टीले नै सरकार चलाउने अवस्था आउँछ । अहिले सरकारले पार्टी चलाइरहेको छ ।

 

अब हामी पार्टीलाई व्यवस्थित गर्छौं र पार्टीले सरकार चलाउँछ । यसो भन्दा पार्टीभित्रका सीमित मान्छेहरु तिम्रो घाँटी चिलायो कि रुखको हाँगै बांगो हो ? भनेर व्यंग्य गर्छन्, हामीलाई । कसैले हाँगो बांगो देख्ला । कसैले घाँटी चिलाएको देख्लान् । बहुजनको हितका लागि एकजनाको घाँटी चिलाउन पनि मञ्जुरै भएको हो । आठ लाख पार्टी सदस्य छन् । पुग–नपुग दुई तिहाई सांसद छौं । मैले आज खाइरहेको खाना दिनभरको श्रमबाट हो वा नकमाएको सम्पत्तिबाट हो ? त्योचाहिँ पार्टीका सदस्यहरुले हेक्का राख्नुपर्छ । मैले श्रम गरेर खाएको हो वा दलाली, बिचौलिया काम गरेर हो ? यस्ता कुरामा हामीले आफैंलाई रि–करेक्सन गरेको खण्डमा पार्टी, सरकार सही ढंगबाट चलाउन सकिन्छ ।

 

० समयमा पार्टी एकीकरण हुन नसक्दा के–के समस्या भोगिरहनुभएको छ ?
– केन्द्रीय कमिटीको एउटा बैठक बस्यो । त्यो पनि निर्वाचन अयोगमा दर्ता प्रयोजनका लागिमात्र । केन्द्रीय कमिटी, स्थायी कमिटी चलेका छैनन् । पोलिटव्युरो बनेको छैन, केन्द्रीय सदस्यको कार्यविभाजन गरिएको छैन । सचिवालयका साथीहरु दोहोरो–तेहेरो भूमिकामा हुनुहुन्छ । जनसंगठनको अधिवेशनदेखि सारा काम थाती राखेका छौं । संगठन मात्र होइन, वैचारिक मामिला पनि उस्तै छ । भूमिसम्बन्धी ऐन संसदीय समितिमा विचाराधीन छ । भूमिसम्बन्धी हाम्रो धारणा के हो ? त्यो क्लियर हुन सकेको छैन । पार्टी नहुँदा यस्ता काम अलपत्र छन् । क्रान्तिपछि हामी कुन बाटो लाग्दैछौं ? अबको हाम्रो कार्यक्रम के ? सरकारलाई मार्गनिर्देश गर्ने कार्यक्रम के ? सरकार दिन–प्रतिदिन किन अलोकप्रिय बन्दै छ ?

 

० मनमोहन नेतृत्वको ०५१ को सरकार र अहिलेको सरकारको तुलना हुनसक्छ ?
– प्रधानमन्त्रीसँग २२ जना मन्त्री छन् । मन्त्रीका सल्लाहकार, सचिवहरु अलग भए । झण्डै ८० हजार कर्मचारी त्यस मातहत काम गर्छन् । प्रधानमन्त्रीलाई जे लाग्यो, त्यही निर्णय हुने गर्छ । व्युरोक्रेसीमा सूचनाका ढोकाहरु भएर पनि केही छैनन् । पार्टीभित्र छलफल भएको भए यस्तो हुन्थ्यो र ? ०५१ को सरकार किन लोकप्रिय भयो ? किनकि पार्टीले सरकार चलाएको थियो । मनमोहन पार्टी अध्यक्ष, माधवकुमार नेपाल महासचिव, वामदेव कमरेडलाई उपमहासचिव बनाएर संगठनको जिम्मा दिइएको थियो । महŒवपूर्ण नेताहरु सरकारमा गए पनि सबै निर्णय पार्टी कमिटीबाट हुन्थ्यो । पार्टीनजिक विचार राख्नेहरुले रातदिन काम गर्थे । र त, सरकार सफल भयो । आज त प्रधानमन्त्रीलाई, उहाँका सल्लाहकारलाई मन लागे निर्णय हुने, मन नलागे निर्णय नहुने अवस्था छ ।

 

टिमवर्क छैन । कतिपय मन्त्रीहरु नै आफ्नो मन्त्रालय कसले चलाइरहेको छ भनेर कन्फ्युज भइरहेको पाइन्छ । कुनै स्वार्थ नभएका वा चलखेल नगरेका व्यक्तिले प्रधानमन्त्रीलाई भेट्नै सक्दैन । प्रधानमन्त्री आफैँले भारतीय दूतावासको पत्र लुकाइयो भनिरहनुभएको छ । कि त प्रधानमन्त्रीले ढाँटिरहनुभएको छ, कि उहाँलाई कसैले ठगिरहेको छ । उहाँलाई जेन्युइन रिपोर्ट मन्त्री र सचिवले गर्न सकेका छैनन् । किनभने, उनीहरुको पहुँच नै छैन । सीमित दुई–चारजनाको घेरामा प्रधानमन्त्री हुनुहुन्छ । यसभन्दा बाहिर जुन सरकार आए पनि रातारात बूढीगण्डकीको ठेक्का फुत्काउने, पर्यटन क्षेत्रबाट सुँड पसार्ने ठूला माफिया, बिचौलियाको अर्को घेरा छ ।

 

० यो नेतृत्व, यही ढंगको काम–कारवाहीले पार्टीलाई कहाँ पु¥याउला ?
– हामी एउटै डुंगामा छौं । को कहाँ पुग्ने ? को कहाँ रहने ? भन्ने प्रश्नै रहँदैन । डुबे हामी सबै डुब्छौं । उत्रिए, सबै उत्रने हो । डुंगा जसरी पनि उतार्नुपर्छ । यो कुरामा कुनै ‘इफ’, ‘बट’, ‘बिकज’ चल्दैन । दुई जनाले मात्र ठेक्का लिने होइन, आठ लाख सदस्यलाई सोच्न दिनुस् । ती मान्छेलाई कुनै न कुनै कमिटीमा भूमिका दिनुस् । तिनै सदस्य पार्टी र सरकारको लोकप्रियताको बाटोमा सारथी हुनेछन् । इतिहासमा कमरेड प्रचण्ड र केपी ओलीको नाम लेखिने छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

     मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ

मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने

दुर्गा प्रसाईं पक्राउ

  धानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ