राजा वीरेन्द्रले राजीव गान्धीलाई खबर पठाए- सिकार खेल्न गएको छु, कुरा गर्न मिल्दैन



हाम्रो इकोनोमि

 

अघिल्लो साता नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले सम्पादन गरेको ‘नेपालको कूटनीति अभ्यास’ किताब सार्वजनिक भयो।

संसारका विभिन्न मुलुकहरूमा नेपाली राजदूतको भूमिका निर्वाह गरेर फर्केका २० जनासँग कुराकानी गरेर रिजालले यो पुस्तक तयार पारेका हुन्।

पत्रकारिता र राजनीतिसँगै अघि बढाइरहेका रिजाललाई कूटनीतिबारे किताब लेख्ने सोच पाँच वर्ष अघि आएको हो।

सन् २०१३ मा रिजालले भारतीय कूटनीतिज्ञ केबी राजनले सम्पादन गरेको ‘द एम्बेस्डर्स क्लब, इन्डियन डिप्लोम्याट एट लार्ज’ किताब हात पारे। रिजाललाई किताबले छोयो।

‘म जहाँजाँदा पनि राजनको सोही किताब बोकेर हिँड्थें, कूटनीतिका जानकारलाई यस्तै किताब लेखौं न भनेर आग्रह गर्थें’ रिजालले भने।

सन् २०१८ को अन्तिम अन्तिमसम्म आइपुग्दा रिजालले अब आफैंले किताब लेख्नुपर्छ भन्ने निचोड निकालिसकेका थिए।

रिजाललाई ती राजदूतहरूको केही न केही अनुभव त पक्कै थियो होला नि भन्ने उत्सुकता एकातिर थियो भने अर्कातिर जिन्दगीको उत्तरार्धमा रहेका यी पाका राजदूतहरू कुनै दिन अस्ताउने पो हुन् कि भन्ने पिरलोले सताइरहन्थ्यो।

‘उमेर बढ्दै जाँदा भोगेका अनुभवहरूको स्मरण घट्दै जान सक्छ, कूटनीतिक इतिहास जान्न चाहने यही पुस्ता र आउँदा पुस्तामाथि अन्याय हुन सक्छ, त्यसैले मैले उमेरले ८० को दशक वरिपरि रहेका पाका राजदूतसँग उनीहरुको अनुभव सुन्न चाहें,’ रिजालले भने।

 

त्यसैको फलस्वरूप उनले २५ जना राजदूतसँग कुराकानी गरे। २० जनासँगमात्रै राम्रोसँग कुरा हुन पायो।

तीनै २० जनाको व्यक्तिगत गन्थनमन्थन र तथ्यांकको फ्युजनले किताबको आकार लियो।

यो किताबले नेपालले एक सार्वभौम राष्ट्रका हिसाबले विभिन्न कालखण्डमा कसरी आफ्नो कूटनीतिलाई अघि बढायो भन्ने चित्र देखाउँछ।

अहिलेको पुस्ता सरकारले गर्ने सरूवा, बढुवा र नियुक्तिजस्ता कुरामा अराजकता देखेर हुर्किरहेको छ। यो अराजकताको गन्ध राजदूत नियुक्तिमा पनि छ। अस्पतालमा बिरामी जाँच्दाजाँच्दैको डाक्टर होस् या म्यानपावर व्यवसायी फ्याट्ट राजदूत नियुक्त भएको हामीले देखेका छौं।

तर यो चलन हिजोअस्तिबाट नेताहरूले सुरू गरेका भने होइनन्।

‘आफ्ना भाइभारदार रोजेर राजदूत बनाउने चलन श्री ३ हरूकै पालादेखि रहेछ,’ रिजाल भन्छन्,‘नेपालको पहिलो राजदूत बन्ने सौभाग्य जुद्ध शमशेरका छोरा बहादुर शमशेरले पाए।

उनी विक्रम संवत १९३४ मा बेलायतका लागि नेपाली राजदूत भएका थिए।

पछि चन्द्रशमशेरका छोरानाति राजदूत भए। २००७ सालको राजनीतिक परिवर्तनपछि यो अवसर राजदरबारको निकटमा सर्‍यो।

‘तर त्यति हुँदाहुँदै पनि अध्ययन र उनीहरूको व्यक्तिगत दक्षताको पनि मापन गरिँदो रहेछ,’ रिजालले भने,‘राजदूत छनोटको सुझबुझमा यो पुस्ताभन्दा अघिल्लो पुस्ता अलि बढी व्यवहारिक रहेछ।’

किताबमा रिजालले तत्कालीन राजा वीरेन्द्रले शक्ति राष्ट्र अमेरिका र छिमेकी भारतसँग गरेका व्यवहारले कसरी सम्बन्धमा चिसोपना आयो भन्नेबारे पनि लेखेका छन्।

४ नोभेम्बर १९८० मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रयाटिक पार्टीका उम्मेद्वार राष्ट्रपति जिम्मी कार्टरलाई हराएर रिपब्लिकन पार्टीका रोनाल्ड रेगन विजयी भए।

अष्ट्रियाबाट शरणार्थी बनेर अमेरिका पुगेकी हेलिन भन डाम राष्ट्रपति रेगनकी निजी सचिव बनेर ह्वाइट हाउस छिरिन्।

त्यतिबेला उनी अमेरिकी सञ्चारमाध्यममा निकै चर्चित थिइन्।

टेलिभिजनमा अन्तर्वार्ता दिइरहन्थिइन्।

यही क्रममा अमेरिकी टेलिभिजनका प्रस्तोताले उनलाई सोधे, ‘शरणार्थी हुँदै अमेरिका आएर राष्ट्रपतिको निजी सचिव भइसक्नुभयो, अब तपाईंको इच्छा के छ?’

हेलिनले अब नेपालका हिमालयहरू हेर्ने उत्सुकता छ भनेर जवाफ दिइन्।

उक्त टेलिभिजन कार्यक्रम अमेरिकाका लागि तत्कालीन नेपाली राजदूत भेषबहादुर थापाकी श्रीमती रिता थापाले हेरिरहेकी थिइन्।

थापाले हेलिनलाई पत्र लेखेर भनिन्, ‘म अमेरिकाका लागि नेपाली राजदूत भेषबहादुर थापाकी श्रीमती हुँ, मेरा श्रीमान् अहिले नेपाल जानुभएको छ, तपाईंलाई नेपालमा स्वागत गर्न हामी आतुर छौं।’

थापालाई ह्वाइट हाउसबाट बोलावट भयो।

यसपछि नेपाल-अमेरिका सम्बन्ध झन् घनिष्ट भयो। यही घटना तत्कालीन राजा वीरेन्द्रको अमेरिकाको राजकीय भ्रमणको आधार बन्यो।  सन् १९८३ मा राजा वीरेन्द्रले अमेरिकाको राजकीय भ्रमण गरे।

तत्कालीन राजदूत भेषबहादुर थापाका अनुसार राजा वीरेन्द्रको उक्त भ्रमण असाध्यै राम्रो भयो।

राष्ट्रपति रेगनले प्रजातन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रतामा खुकुलो गर्दै जानुपर्छ भनेर राजा वीरेन्द्रलाई सुझाव दिए।

तर परिस्थिति त्यस्तो बनेन।  नेपालले पश्चिमामाथि कडाइ गर्न थाल्यो। क्रिश्चियनविरोधी घटना भए। राजनीतिक व्यवस्था कठोर बन्यो।

यस्ता घटना बढेपछि अमेरिकाले राजदूत थापासँग राजकीय भेटमा भनिएअनुसार भएन नि भनेर गुनासो गरेपछि थापाले त्यही कुरा दरबारलाई लेखेर पठाए।

 

दरबारले उल्टै राजदूतलाई झपार्दै ‘अमेरिकालाई मुखभरिको जवाफ दिनुको साटो लेखेर पठाउने?’ भनेर पत्र पठायो।

पत्र पाएको भोलिपल्टै राजदूतबाट राजीनामा दिएर थापा नेपाल फर्किए।

त्यसपछि  झन्डै चार दशकमा कुनै पनि नेपाली राष्ट्र/सरकार प्रमुखले अमेरिकाको राजकीय भ्रमण गरेका छैनन्।

दरबारले विदेश नीति सञ्चालनमा सतर्कता अपनाउँदाअपनाउँदै पनि सन्तुलन बिगारेको अर्को घटना पनि छ।

सन् १९७३ को फेब्रुअरी ७ देखि १० सम्म तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी नेपाल भ्रमणमा आएकी थिइन्।

उनलाई राजा वीरेन्द्रले सिंहदरबारको स्टेट हलमा डिनरका लागि बोलाएका थिए। सामान्यत: कूटनीतिमा जसले निम्तो दिएको छ स्वागतका लागि उही नै बस्ने परम्परा छ।

प्रधानमन्त्री गान्धीलाई स्वागत गर्न राजा वीरेन्द्र नै उपस्थित हुनुपर्थ्यो। तर दरबारका सचिवहरूले प्रोटोकलको कुरा उठाएर प्रधानमन्त्रीलाई स्वागत गर्न राजालाई जान दिएनन्।

राजा कार्यक्रमस्थलमा गान्धीभन्दा १० मिनेट ढिलो पुगे।

यसलाई गान्धीले ठूलो अपमानका रूपमा बुझिन्।

अर्को दिनको पोखरा भ्रमणमा पनि उनी दिनभरि मुड अफ देखिन्थिन्।

त्यही घटनाले दरबार र भारतको दूरी बढायो। सम्बन्धको तिक्तता लामो समयसम्म रहिरह्यो।

सन् १९८९ मा पाकिस्तानमा सार्क सम्मेलन हुँदा भारत र पाकिस्तान दुबै देशमा युवा नेतृत्व आएका थिए।

भारतका प्रधानमन्त्री राजीव गान्धी र पाकिस्तानी समकक्षी बेनजिर भुट्टोबीच हार्दिकता बढिरहेको थियो।

यता नेपालसँग भारतको त्यो बेला खटपट थियो। नेपालमा भारतको नाकाबन्दी सुरू भइसकेको थियो।

भारतीय प्रधानमन्त्री राजीव गान्धीले सार्क राष्ट्रका सरकार या राष्ट्र प्रमुखलाई ब्रेकफाष्ट मिटिङका लागि बोलाए।

राजा वीरेन्द्रलाई पनि निम्तो दिइयो तर यताबाट निक्कै समयसम्म खबर गएन।

बारम्बार ताकेता गर्दा पनि दरबारले मिटिङमा जाने/नजाने जानकारी दिएन। बरू दरबारका तत्कालीन सचिव नारायणप्रसाद श्रेष्ठले राजा ब्रेकफाष्ट मिटिङमा जाने या नजाने भन्ने कुरा पाकिस्तान नै पुगेपछि थाहा हुने जानकारी गराए।

पाकिस्तान पुगेपछि पनि राजालाई निम्तो आयो तर दरबारका सचिवले भनिदिए ‘ब्रेक फाष्ट मिटिङ ८ बजे डाकिएको रहेछ, महाराजधिराजको दैनिकी ११ बजे सुरू हुन्छ, त्यसैले सो बैठकमा जान नसकिने भइयो।’

सोही दिन छ बजे भारतीय प्रधानमन्त्री गान्धीसँग र राजा वीरेन्द्रको भेटवार्ता तय थियो। भारतीय पक्षले जानाजान त्यो भेटवार्ता रद्ध गर्‍यो।

भोलिपल्ट बिहानै पाकिस्तानस्थित शाही नेपाली राजदूत अर्जुननरसिंह राणा र दिल्लीस्थिति शाही नेपाली राजदूत विन्देश्वरी शाह भारतका विदेश सचिव एसके सिंहलाई भेट्न गए।

उनीहरूले हाम्रो राजासँग भेटघाटका समय मिलाउनु पर्‍यो भनेर आग्रह गर्दा सिंहले ‘राजीव गान्धी ह्याज नो टाइम, इट्स टु लेट, योर किङ मिस्ड द अपरच्युनिटी’ भनेर रूखो जवाफ फर्काए।

 

गान्धीसँग राजा वीरेन्द्रको अर्को पनि घटना जोडिएको छ।

बंगलादेशका लागि नेपाली राजदूत प्राध्यापक डाक्टर मोहनप्रसाद लोहनीका अनुसार एक पटक युरोप भ्रमणमा गएका बेला युरोपियनहरूले राजीव गान्धीलाई तिमीहरूले सानो देशलाई हेप्ने नाकाबन्दी गर्ने भनेर सोधेछन्।

त्यसपछि कुरा गर्न राजिव गान्धीले दरबारमा फोन गरे।

‘त्यतिबेला दरबारका सचिवले फोन उठाए र भने- महाराजधिराज सिकारमा सवारी भएको छ त्यसकारण अहिले कुरा गराउन सकिँदैन।’ राजा वीरेन्द्र भने त्यो बेला दरबारमै थिए।

राजदूत लोहनीले पुस्तकमा भनेका छन्- राष्ट्रमाथि संकट परिरहेका बेला पनि प्राविधिक कारण खोज्ने हाम्रो गल्तीले भारत चिढियो। नाकाबन्दी १५ महिनासम्म लम्बियो। नेपालले दु:ख पायो।

रिजालले सम्पादन गरेको यो पुस्तकमा राजदूतहरूले बयान गरेका यस्ता धेरै घटना, परिघटना छन् जसले एउटा कालखण्डको नेपाली कूटनीतिबारे धेरै जानकारी दिन्छ।

बिनु सुवेदी रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...