कठघरामा कुलमान : राधा ज्ञवालीलाई धन्यवाद, चिलिमेबाट नहटाएको भए अहिले म यहाँ हुन्नथेँ



 

अभियोग १ : विद्युत् प्राधिकरणको नेतृत्वमा आएपछि लोडसेडिङ अन्त्य गरेर वाहवाही बटुल्नुभयो । बाँकी सुधारका काम केही गर्नुभएन, बरु अहिलेसम्म त्यसैको ब्याज खाइरहनुभएको छ । तपाईंका काममा कसैले प्रश्न उठाए तर्कले जवाफ दिनुभन्दा लोडसेडिङ अन्त्य गरेकै विषयलाई ढाल बनाउनुहुन्छ । हालै संसद्मा तपाईंको कार्यशैलीबारे सांसदहरूले प्रश्न उठाएपछि ‘मेराविरुद्ध घेराबन्दी भयो’ भनेर रुवाबासी गर्नुभयो, एलइडी खरिदमा प्राधिकरणमा अनियमितताको प्रश्न उठ्दा त आँसु नै झार्नुभयो ।

 

लोडसेडिङ अन्त्य त्यत्तिकै भएन होला नि । आन्तरिक रूपमा केही न केही सुधार त गर्नुपर्‍यो होला नि । बाहिरी रूपमा हेर्दाखेरि कुलमानले लोडसेडिङ अन्त्य गरेको ब्याज खाइरहेको छ भन्ने पर्न सक्ला । तर, सँगसँगै  संस्था सुधारका प्रयासहरू पनि भएका छन् । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र विज्ञहरूले समेत नेपालमा लोडसेडिङ अन्त्य हुँदैन, अझै सय वर्ष लोडसेडिङ रहिरहन्छ भन्थे नि । मैले लोडसेडिङ अन्त्य हुन्छ भन्दा पनि दुई/तीन महिना त कसैले पत्याउँदै पत्याएनन् । तर, भयो नि ।

 

लोडसेडिङ अन्त्यसँगै अरू काम पनि भएका छन् । एक वर्षअगाडि प्राधिकरण नौ अर्ब घाटामा थियो । नौ महिनापछि नौ अर्ब घाटाबाट डेढ अर्ब नाफामा आयो । प्राधिकरणमा सुधार नभएको भए त्यो कसरी हुन्थ्यो ? प्राधिकरण नाफामा जान्छ भन्ने त कसैले कल्पनै गरेको थिएन । त्यस्तै, प्राधिकरणको २६ प्रतिशत चुहावटबाट साढे दुई वर्षमा १७/१८ प्रतिशतमा आएको छ । व्यवस्थापनमा पनि धेरै सुधार भएको छ । पाँचजना कर्मचारी सरुवा गर्दा पाँचजनालाई सोध्नुपर्ने अवस्था थियो । यो स्थितिमा पनि सुधार गरेका छौँ । यसकारण लोडसेडिङ अन्त्य मात्रै हाम्रो उपलब्धि होइन । आन्तरिक सुधारका कामलाई पनि संस्थागत गर्दै आएका छौँ । बाहिरबाट हेर्दाखेरि लोडसेडिङ अन्त्य भएको मात्रै देखिएको हो, भित्र धेरै कुराहरू सुधार भएका छन् ।

 

काम गर्दै जाँदा कहिले काँही भावुक पनि भइदो रहेछ । कुनै काम देश, जनता र संस्थाका लागि इमानदारपूर्वक गर्न खोज्दा त्यसमा उल्टै आक्षेप लगाइएपछि भावुक भइदो रहेछ । एलइडी काण्डमा भएको त्यही हो । त्यसको खरिदमा हाम्रो कुनै गलत नियत थिएन । करिब दुई करोड लिड ल्याम्प बालेको भए विद्युत्को पिक डिमान्ड स्वाट्टै घट्थ्यो । अर्को, जनताले पनि क्वालिटीको समान पाउँथे, उनीहरूले विद्युत् सेभिङ पनि गर्थे । लिड ल्याम्पको प्रयोगले लोडसेडिङ म्यानेजम्यान्टलाई अझ राम्रो गर्न सकिन्छ भन्ने उद्देश्यले त्यो गर्न खोजिएको थियो । तर, उल्टै आरोप लगाइएपछि भावुक भइएको हो ।

 

अभियोग २ : उद्योगहरूलाई दिइएको डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा अध्ययन गर्न प्राधिकरणले डेढ/दुई वर्षअघि नै समिति बनायो । तर, तपाईंले समितिको प्रतिवेदन कार्यान्वयन गर्नुको सट्टा उद्योगीहरूको स्वार्थअनुसार थन्क्याउनुभयो । जब संसद्मै नौै अर्ब बक्यौता रहेको भन्दै तपाईंमाथि प्रश्न उठ्यो त्यसपछि मात्रै बिलिङ गर्न चासो देखाउनुभयो । 

यो इस्यु नै हामीले उठाएको हो । यसमा पनि उल्टै हामीलाई चार्ज लगाइयो । सञ्चालक समितिको स्वीकृतिमा डबल चार्ज लिएर डेडिकेटेड लाइन लिन सकिने निर्णय बोर्डले गरेको रहेछ । ०७२ देखि यस्तो लाइन लिने ग्राहकहरूको संख्या करिब एक सय ८४ छ । उनीहरूको बिल त भइरहेकै थियो । तर, यहाँ प्रचार बिलिङ नै नगरी पैसा खायो भन्ने ढंगले गरियो । जसले ‘डेडिकेटेड  लाइन लिएको छैन, लोडसेडिङमै बसेको छु’ भनेर दाबी गरे उनीहरूको मात्रै हाम्रा शाखाहरूले बिलिङ नगरेको रहेछ । म प्राधिकरणको नेतृत्वमा आएको ५/६ महिनापछि डेडिकेटेड वा ट्रंक लाइनमा केही ग्राहकले १४ घन्टा लोडसेडिङका वेला पनि २० देखि २४ घन्टासम्म बिजुली पाइरहेको थियो भन्ने जानकारी आएपछि छानबिन गर्न थाल्यौँ र बिलिङ पनि गर्न थाल्यौँ । त्यसपछि हो नि यो विषय उठेको ।

 

मैले नै यो विषयमा ओभरअल छानबिन गर्न सञ्चालक समितिमा कमिटी बनाउन प्रस्ताव गरेको हुँ । कमिटीले छानबिन गरेर रिपोर्ट दियो । त्यो रिपोर्टले ‘देशैभरि ट्रंकलाइन कति छन् ? ती ट्रंक लाइनभित्र कति उद्योग छन् ? डेडिकेटेड लाइनमा कति उद्योगहरू छन् ? यी सबैमा सोलोडोलो ०७२ सालदेखि नै ‘डेडिकेटेड  महसुल लगाउनुपर्छ’ भन्यो । यसरी लगायो भने ९५ प्रतिशत उद्योगीहरू पर्ने थिए । जुन त्यस वेलासम्मको करिब साढे चार अर्ब देखिन्थ्यो ।

 

अर्को, अब डेडिकेटेडको महसुल पनि हटाइदिन समितिको सिफारिस आयो । त्यसलाई बरु ‘सर्टेन प्रिमियम’का रूपमा थप महसुल लिएर गर्ने भन्यो । डेडिकेटेडको महसुल हटाउन नियमन आयोगबाहेक प्राधिकरणले सक्दैन । नियमन आयोगको सदस्य नै आएका थिएनन् । एक डेढ महिनापछि आयोगका सदस्य आउने कुरा थियो । त्यसैले महसुल हटाउने विषय त्यहाँ लैजाने कुरा भयो । र, साढे चार अर्ब उठाउनुपर्ने रकमबारे पनि पटकपटक छलफल गर्‍यौँ । सँगसँगै बिलिङ गर्न पनि सुरु गर्‍यौँ  ।

 

तर, केही ग्राहक जो साँच्चिकै लोडसेडिङमा बसेका थिए, उनीहरूलाई मर्का पनि  परेको होला । यस्ता स्वरहरू पनि ठूलै आवाजमा आउन थाले । अनि, त्यसमा पनि अध्ययन गर्न पछिल्लो बोर्ड बैठकले छानबिन समिति गठन गर्‍यो । त्यो समितिले अहिले काम गरिरहेको छ । न्यायपूर्ण काम होस् भन्नेमा हामी सचेत छौँ ।

 

तीन सय १५ मेगावाटको त डेडिकेटेड र ट्रंक लाइनका ग्राहक रहेछन् । चरम लोडसेडिङका वेलामा यस्तो लाइन दिने कुरा जायज थियो त ? डबल शुल्क तिर्नेबित्तिकै २४सै घन्टा विद्युत् उपलब्ध गराउनु जायज थियो ? लोडसेडिङका वेला सर्वसाधारणले पनि २४सै घन्टा बिजुली पाए १० रुपैयाँको सट्टा २० तिर्छु भन्थे होलान् नि । यस्तो निर्णय ठीक थियो त ? सैद्धान्तिक प्रश्न यो हो । लोडसेडिङको एउटा कारण त यो डेडिकेटेड लाइन पनि हो नि । त्यसैले कारबाही गर्नुपर्छ भनेर हामीले नै उठाएको विषयलाई उल्टै पैसा नै उठाएन भनेर आरोप लगाउनु सरासर गलत हो ।

 

अभियोग ३ : भारतबाट महँगोमा बिजुली किनेर प्राधिकरणको सिस्टमबाटै लोडसेडिङ अन्त्य भयो । तर, तपाईंले ‘लोडसेडिङ मैले अन्त्य गरेँ’ भन्दै प्रचार गरेर आफूले मात्रै क्रेडिट लिनुभयो । जसबाट राजनीतिक नेतृत्व चिढियो । 

मसँग को चिढियो भन्ने कुरा त मलाई थाहा भएन । त्यस्तो नहुनुपर्ने हो । किनभने लोलसेडिङ अन्त्य हुनु त देशकै लागि राम्रो हो । लोडसेडिङ अन्त्य कसरी भयो भन्ने कुरा हामीले गम्भीर रूपमा हेर्नुपर्छ । भारतबाट आयात गरेर मात्रै लोडसेडिङ अन्त्य भयो भन्ने कुरा कुनै पनि हालतमा सत्य होइन । केही मान्छेले त अहिले पनि त्यही आरोप लगाउँछन् । भनुन्, ठीकै छ । म प्राधिकरणको नेतृत्वमा आउनुभन्दा अगाडि आर्थिक वर्ष ०७२/०७३ मा नेपालले भारतबाट करिब १ अर्ब ७० करोड युनिट(१७सय गिगावाट आवर)बिजुली आयात गर्थ्यो । त्यसमा करिब १५ अर्ब खर्च हुन्थ्यो । जबकि, त्यो आर्थिक वर्षमा देशभर करिब ३७ सय गिगावाट आवर खपत हुन्थ्यो । देशभर खपत हुने विद्युत्को झन्डै ५० प्रतिशत त त्यतिवेला पनि भारतबाट आयात हुँदोरहेछ नि त । तर, दैनिक १४ घन्टा लोडसेडिङ भइराखेकै थियो ।

 

म नेतृत्वमा आइसकेपछिको अवस्था के भयो हेर्नुस् न । आयात भइरहेको भन्दा धेरै आयात गर्न सक्ने अवस्था त हाम्रो थिएन । किनभने, संरचना त उनै थिए । बढीमा २०/३० मेगावाट आयात थपिएको हो । आर्थिक वर्ष ०७३/७४ मा हामीले करिब १ अर्ब ९० करोड युनिट (१९ सय गिगावाट आवर) भारतबाट आयात गरेका रहेछौँ । जुन करिब १८ अर्ब हाराहारीको हुन्छ । त्यसअघिको भन्दा करिब दुई/तीन अर्बको आयात बढेको हो । त्यसले मात्रै त्यत्रो १४ घन्टाको लोडसेडिङ अन्त्य त भएन होला नि ।

 

लोडसेडिङ अन्त्य हुनुमा दुई/तीन वटा कारण छन् । डेडिकेडेट र ट्रंक लाइनहरूका कारण कसैले २४ घन्टा बिजुली पाइरहेका थिए, कसैले १४ घन्टा लोडसेडिङ पनि झेलिरहेका थिए । हामी आउनसाथ सबै उद्योगहरूलाई अनिवार्य रूपमा बेलुका चार घन्टा डाउन गर्नुपर्ने नियम बनायौँ । यसले गर्दा सबैले २० घन्टा लाइन पाए, सबै खुसी पनि भए । हामीले गरेको अर्को सबैभन्दा ठूलो काम ‘डिमान्ड साइड म्यानेजमेन्ट’ हो । त्यतिखेर लोडसेडिङ बढाउने त लोडसेडिङ नै थियो क्या । जति लोडसेडिङ बढाउँदै लग्यो त्यति लोडसेडिङ बढ्थ्यो । किनभने, इन्भटर त थपिएका थपियै थिए । ती त ब्ल्याक बक्स हुन् ।

 

जहाँ बत्ती बल्यो त्यहाँ इन्भटरहरू पनि एकैपटक चार्ज हुन थाल्थ्यो, आइरन पनि त्यही वेला, पानी तताउने पनि त्यही वेला हुन्थ्यो । त्यसले कति लोड बढाउँथ्यो होला अनुमान गर्नुस् त । हामीले सुरुमा काठमाडौंको लोडसेडिङ अन्त्य गर्‍यौँ । यहाँका सबै इन्भटर त आउट भए नि । २ सय मेगावाट त त्यहीँबाट जोगियो । क्रमशः ग्राहकको बानीमा परिवर्तन ल्यायौँ । प्राधिकरणसँग उनीहरू भावनात्मक रूपमा जोडिए । ‘यो चलाउनु हुन्न, विद्युत् जोगाउन यसो गर्नुपर्छ’ भनेर हामीले गरेका हरेक सर्कुलरमा उहाँहरूले साथ दिन थाल्नुभयो । हाम्रो ‘लस’ पूरै घट्यो । यसले ‘पिक डिमान्ड’ लाई ‘फ्ल्याट’ बनाइदियो । अर्को, ‘सप्लाई साइटमा जेनेरेसन प्लान्ट’हरू पनि व्यवस्थित गर्‍यौँ । त्यस्तै, रात दिन काम गरेर ‘इन्फास्ट्रक्चर’मा पनि अधिकतम सुधार ल्यायौँ ।

 

मान्छेले भन्न त भारतबाट महँगोमा बिजुली किनेर लोडसेडिङ अन्त्य गरेर कुलमान हिरो भयो भनेर पनि भन्छन् । १० रुपैयाँ युनिटमा बिजुली किनेको छ भन्या छन् । हामीले आठ/१० वटा प्वाइन्टबाट बिजुली आयात गर्छौँ । बिहारबाट ल्याउने बिजुलीको रेट अलि महँगो छ । म आउनुभन्दा पहिला नै पाँच रुपैयाँ भारु थियो । अहिले ६ रुपैयाँ भारु छ । ११ केभीमा ल्याउँदा धेरै लाग्छ, ३३ केभीमा थोरै कम हुन्छ । एक सय ३२ मा अझ धेरै कम हुन्छ । ११ केभीमा त हामी आयात नै थोरै गर्छौं । त्यसैलाई हेरेर १० रुपैयाँ युनिटमा खरिद गर्‍यो भनेर आरोप लगाउँछन् । त्यसकारण महँगो बिजुली खरिद गरेको भन्ने आरोपमा पनि सत्यता छैन ।

 

अभियोग ४ : सार्वजनिक रूपमा सुशासनका चर्का कुरा गर्नुहुन्छ तर, भित्रभित्र पदीय दुरुपयोगसमेत गर्नुहुन्छ । प्राधिकरण र सहायक कम्पनीहरूबाट बैठक भत्ता नै लाखौँ बुझ्नुभयो । प्राधिकरणभित्रैबाट उजुरी परेपछि यस विषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तपाईंमाथि छानबिन गरिरहेको छ ।

विद्युत् प्राधिकरणको एमडीले ६३ लाख त भत्ता नै बुझेको छ भन्ने कुरा मैले पनि पत्रिका पढेर थाहा पाएको हुँ । प्राधिकरणमा बैठक त धेरै नै हुन्छन्, बुझेकै पो हुँ कि भन्ने पनि लाग्यो (हाँसो) । प्राधिकरणको एमडीको जिम्मेवारी छुट्याएकै हुन्छ । म सरकारसँग कन्ट्र्याक्ट गरेर आएको हुँ । मेरो ‘पर्फमेन्स इन्डिकेटर’हरू तोकिएका छन् । चार वर्षमा गर्ने कामको हरेक वर्ष केके गर्ने भन्ने ‘इन्डिकेटर’ छन् । मेरो ‘पर्फमेन्स’को रिजल्ट आएपछि यति प्रतिशत काम हुँदा यति प्रतिशत प्रोत्साहन भत्ता दिने भन्ने हुन्छ ।

 

प्राधिकरण भनेको यति ठूलो संस्था हो, जहाँ सबैका इन्ट्रेस्ट हुन्छन् । थरीथरी मान्छेका थरीथरी स्वार्थ हुन्छन् । कर्मचारीभित्र पनि सरुवादेखि कारबाहीसम्मका कुराहरू थिए । कतिपयलाई मेरा कारणले अप्ठ्यारो पनि परेको होला । लिडरसिपले रिस्क लिएर काम गरिरहेको हुन्छ । मेराविरुद्ध पनि मान्छे लागेका थिए । उनीहरू मैले भत्ताको ट्याक्स तिरेको रेकर्ड नै बोेकेर हिँडेका रै’छन् । ९/१० लाख त ट्याक्स तिरेको छ भनेपछि त्यसको १५ प्रतिशतले ‘ब्याक क्यालकुलेसन’ गर्दा ६३ लाख आयो । भनेपछि यसले ६३ लाख त बैठक भत्ता नै बुझेको रै’छ भन्ने बुझेछन् । भत्ता भनेको त बैठक भत्ता मात्रै होइन नि त । कन्ट्र्याक्टअनुसार मेरो पर्फमेन्सको मूल्यांकन गरेर आएको प्रोत्साहन भत्ता पनि हो नि । त्यो रकम पनि मेरो खातामा जान्छ । त्यसको ३५ प्रतिशत त मैले ट्याक्स तिर्नुपर्छ ।

 

३५ प्रतिशत ट्याक्स काटेपछि कति भएको होला त्यो रकम ? बैठक भत्ता त कति पो होला र ? ६३ लाख भनेको छ, आश्चार्यजनक भइहाल्यो नि । त्यसैले यो आरोपमा कुनै सत्यता छैन । मैले यसअघि पनि यो कुरा स्पष्ट पारिसकेको छु । विद्युत् प्राधिकरण दूधले नुहाएको छ म भन्दिनँ । यसभित्र धेरै विकृति विसंगतिहरू थिए, अहिले पनि छन् । त्यसलाई अब घटाउँदै लैजाने हो । र, मैले प्राधिकरणमा पर्फमेन्स देखाउने पनि यहीँका कर्मचारीमार्फत हो । यहीँको रिसोर्स प्रयोग गरेर देखाउने हो । यहाँको रिसोर्सलाई अधिकतम प्रयोग र सदुपयोग गरेर आउटपुट दिने हो । भएको जनशक्तिबाट राम्रो छानेर नतिजा निकाल्ने हो । त्यो काम मैले गरेको छु ।

 

अभियोग ५ : पदको गरिमा अनुसार बोलीमा लगाम राख्न सक्नुहुन्न । आपूmमुनिका कर्मचारीलाई रैतीको व्यवहार गर्नुहुन्छ । सार्वजनिक मञ्चबाटैै ‘पाँच तहका साँढेहरू’ भनेर कर्मचारीलाई गाली गर्नुभयो ।

सबैभन्दा कमलो मनको मान्छे मै हुँ । एकदमै ‘एग्रेसिभ’ मान्छे होइन । सँगसँग कडा पनि हुँ । वास्तविक कुराहरूमा एकदमै लचिलोपन पनि देखाउनुपर्छ । कर्मचारीको वृत्ति विकास गर्नेदेखि अप्ठ्यारो विषयलाई सम्बोधन गर्नुपर्छ । संस्थाभित्रका कुराहरू यहीँभित्र छलफल गर्ने हो । हामीभित्रै छलफल गर्ने हो । केहीले चाहिँ हुँदै नभएका कुराहरू बाहिर लगेर ‘यस्तो भयो, त्यस्तो गर्‍यो’ भने । त्यो त राम्रो भएन । त्यस्तो छुट कसैलाई छैन । मलाई पनि छैन, बोर्ड मेम्बरलाई पनि छैन, कर्मचारीलाई पनि छैन । त्यस्तो छुट पायो भने त मान्छे साँढे भइहाल्छन् नि । अनि, संस्था कसरी चल्छ ? संस्था चलाउन त चेन अफ कमान्ड हुनुपर्‍यो नि ।

 

हिजो चेन अफ कमान्ड थिएन । चार÷पाँच ठाउँबाट चल्थ्यो । २० जना कर्मचारी चार/पाँच ठाउँबाट चल्न थाल्यो भने के हुन्छ संस्थाको हालत ? मैले भनेको डिएमडीले नमान्ने, डिएमडीले भनेको डाइरेक्टरले नमान्ने, डाइरेक्टरले भनेको शाखा प्रमुखले नमान्ने भएपछि के हुन्छ ? अब त्यो शाखा प्रमुख अन्तैबाट चल्न थालेपछि डाइरेक्टरलाई मान्छ पनि किन ? म चाहिँ त्यो चेन अफ कमान्ड मेन्टन हुनुपर्छ भन्ने मान्यताको मान्छे हो । राम्रो मान्छे राम्रो ठाउँमा पर्नुपर्छ, ठीक मान्छेले ठीक ठाउँ पाउनुपर्छ र चेन अफ कमान्ड पनि मेन्टेन गर्नैपर्छ । त्यसलाई दश ठाउँबाट कन्ट्रोल गर्नुहुँदैन । त्यसो हुन हुँदैन, हुन दिँदैन भनेको हुँ मैले ।

 

अभियोग ६ : प्राधिकरणभित्रका स–साना काममा पनि हस्तक्षेप गर्नुहुन्छ । उपनिर्देशक, सहायक कम्पनीहरू छन् तर, कामको बाँडफाँड गर्नुभन्दा तपाईं आफैं माइक्रो म्यानेजमेन्टमा लाग्नुहुन्छ । आधिकारिक ट्रेड युनियनका तत्कालीन अध्यक्षले त सार्वजनिक रूपमै तपाईं निरंकुश बनेको आरोप लगाए ।

त्यस्तो होइन । माइक्रो म्यानेजमेन्ट गर्नेभन्दा पनि म माइक्रो लेबलमा बुझेको मान्छे हुँ । त्यसैले त्यस्तो भनेका होलान् । म आउनुअघि नबुझेकै कारण प्राधिकरणमा समस्या भएको हो । म माइक्रो लेबलसम्मै बुझ्छु । स्वाभाविक हो, माइक्रो लेबलबाटै समस्या बुझेपछि, सूचना लिएपछि मलाई माइक्रो म्यानेजमेन्ट गर्न सजिलो हुन्छ । त्यसकारण हरेक कुराको सूचना म लिन्छु, हरेक कुरा बुझ्ने कोसिस गर्छु । तल्लो तहको कर्मचारीसम्मबाट सूचना लिन्छु, कहाँ कस्तो समस्या भइरहेको छ भनेर बुझ्छु । सकेसम्म सर्वसाधारणको फोन पनि रिसिभ गर्छु । ‘यो शाखा प्रमुख वा यो कर्मचारीले यहाँ यस्तो गर्‍यो’ भनेर भन्छन् नि उनीहरूले । माइक्रो लेबलमा समस्या बुझ्यो भने रणनीति बनाउन सजिलो हुन्छ, माइक्रो म्यानेजमेन्ट गर्न सजिलो हुन्छ । मैले जति काम गर्ने स्वतन्त्रता कसैले दिएन होला । जसलाई मैले जिम्मेवारी दिएको छु, उनीहरूबाटै बुझ्दा पनि हुन्छ । यदि त्यस्तो भनेछन् भने त्यसपछि कुरा गरौँला ।

 

अभियोग ७ : आफैंले गरेका निर्णय र बोलीमा पनि अडिग रहन सक्नुहुन्न । विद्युत् चोरीमा सघाएको आरोप लगाउँदै तपाईंले एकैपटक २५ सय कर्मचारीलाई सरुवा गर्नुभयो । तर, कार्यान्वयन गर्नुभएन । चोरीमा सघाउने कर्मचारीलाई कारबाही गर्ने सार्वजनिक प्रतिबद्धता गर्नुभयो तर, अहिलेसम्म एकजनालाई पनि गर्नुभएन ।

प्राधिकरणभित्र यति धेरै काम छ, अगाडि कसरी बढ्ने भन्ने विषय नै बोझिलो छ । त्यसमाथि मैले कर्मचारीलाई कारबाही गर्दै हिँड्ने हो भने म त्यतैतिर हराउँछु कि भन्ने डर भो’ । फेरि, कारबाही गर्ने निकाय पनि म होइन । अगाडि बढ्ने हो, पछाडि फर्केर कसैलाई कारबाही गर्ने मेरो इन्टेन्सन छैन । गल्ती गर्नेलाई कारबाही गर्ने निकायहरू छन् । अब त जनताले नै बोल्न थालेका छन्, त्यो पनि कारबाही नै त हो नि । निर्णयमा त अडिग रहने मान्छे हुँ म । अहिलेसम्म मैले आफ्नो निर्णय चेन्ज गरेको छैन । मैले २५ सयलाई सरुवा गर्दा कति जनाको प्रेसर पर्‍यो होला ? मलाई मात्रै थाहा छ । मैले एकजनाको पनि फिर्ता गरिनँ ।

 

शत्प्रतिशत लागू गरेको मेरो दाबी छ । ‘राइट म्यान’ रहेनछ भने म कसैले भनेर गर्दिनँ । हिजो त भागबन्डा पनि हुन्थ्यो । राम्रो गर्ने मान्छे त हामीले खोजीखोजी ल्याइरहेका छौँ अहिले । राइट म्यान, राइट प्लेस । कुनै गल्ती भएको छ भने त्यसलाई सच्याउने विषय बिस्तारै आउँछ । तर, आफूले आज साइन गर्‍यो, भोलि नै फिर्ता लिने काम मैले अहिलेसम्म गरेको छैन ।

 

अभियोग ८ : लमजुङको दोर्दी करिडोर, सोलुखुम्बुको सोलु करिडोरमा सम्झौताअनुसार ट्रान्समिसन लाइन अझै बनाउनु भएको छैन । जसले गर्दा उत्पादनको तयारीमा रहेको करिब दुई सय मेघावाट विद्युत् खेर जाने मात्रै होइन, प्राधिकरणले क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आउने सम्भावना देखिँदैछ ।

क्षतिपूर्ति तिर्नुपर्दैन । तिर्नुपर्‍यो भने भन्नुहोला । एकपटक काबेली करिडोरका डेभलपर साथीहरूले  ‘हाम्रो त प्रोजेक्ट आइसक्यो, तपाईंहरूले अप्रिलमा ल्याउनुपर्ने प्रोजेक्टलाई अहिलेसम्म केही गर्नुभएको छैन’ भनेर व्यापक प्रचार गरे । म आफै गएर हेरेँ । जहाँजहाँ समस्या थियो, त्यो खोलेँ । र, उहाँहरूको प्रोजेक्टको स्टाटस हेर्दा छक्क परेँ । ‘तपाईंहरूको प्रोजेक्ट अझै डेढ वर्ष आउँदैन’ भनेर फर्किएँ । गत अप्रिलमा आउनुपर्ने काबेली आजसम्म आएको छैन । हाम्रो लाइनचाहिँ बनिसक्यो । त्यस्तै स्थिति हो अन्यत्रको पनि ।

 

हो, हाम्रो लाइन केही ढिलो भएको छ । तर, त्यसमा विभिन्न कारणहरू छन् । रूख काट्ने ठाउँमा त छाडिदिनोस्, नांगो डाँडामा पनि टावर खन्न दिँदैनन्, स्वीकृति नलिईकन । स्वीकृति लिने प्रोसेस लामो छ । धेरै ठाउँको जग्गामा पनि समस्या छ । केही समयसम्म हामीले साइट दिन नसकेपछि ठेकेदार भाग्छन्, ठेकेदार ल्याउनलाई गाह्रो छ । यस्ता  तमाम समस्याका बीचमा पनि हामी चौबिसै घन्टा काममा लागेका छौँ । हामी चाँडै सक्छौँ ।

 

अभियोग ९ : तपाईंको पदीय लाभ परिवारका सदस्यहरूलेउठाइरहेका छन् । प्राधिकरणले ‘आउट सोर्सिङ’ गर्ने तीन तहभन्दा मुनिका कर्मचारी पूर्ति गर्ने जिम्मा सधैँ दाइको कम्पनीलाई मात्रै दिनुहुन्छ । प्राधिकरणले दिने ठेक्का र जनशक्तिसम्बन्धी कामहरूमा पनि उनको प्रभाव देखिने गर्छ ।

यो त मैले सुनेको पनि थिइनँ । मैले भनेको अथवा मेरो मान्छे आउट सोर्सिङ गरेर राखेको छ भने देखाइदिए हुन्छ । मेरो दाइ, भाइलगायत परिवार र वरिपरिकालाई मैले प्राधिकरणमा इन्ट्री नै दिएको छैन । उहाँहरूको न त्यस्तो कम्पनी छ, न उहाँहरू त्यो खालको बिजनेस गर्छन् । आफ्नै हिसाबले लागेका छन्, उहाँहरूको मेरोभन्दा फरक बिजनेस छ । प्राधिकरणमा स्थायी कर्मचारीले नपुग्ने भएपछि टेन्डर गरेर आउट सोर्सिङ भइरहेको छ । त्यो सीधै डाइरेक्टरले हेर्नुहुन्छ ।

 

मैले अहिलेसम्म कसैको सिफारिस पनि गरेको छैन । प्राधिकरणमा दुई/तीन हजार मान्छे ज्यालादारीमा छन् । मेरो पनि त मान्छे होलान् नि त ? तर, पनि मैले एकजनालाई ज्यालादारीमा समेत राखेको छैन । नेता र मन्त्रीहरूले मसँग गर्ने गुनासो भनेकै एकजना मान्छे पनि राखिदिएन भन्ने हो । मेरो कुरा पनि मान्छे राख्न सकिँदैन भन्ने नै हो । आफ्ना मान्छे राखेको भए मलाई यसरी चल्न दिन्थे ? मलाई टिक्न दिन्थे यहाँ ? त्यसकारण यो आरोपमा कुनै तुक छैन ।

 

अभियोग १० : विद्युत् चुहावट घटेको तथ्यांक सार्वजनिक गरेर जनता ढाँटिरहनुभएको छ । तपाईं प्राधिकरणको नेतृत्वमा आउँदा २५ प्रतिशत रहेको चुहावट अहिले १५ प्रतिशतमा झरेको दाबी गर्नुभएको छ । तर, कहाँ–कहाँको चुहावट कसरी नियन्त्रण भयो भन्ने स्पष्ट जवाफ जनतालाई दिनसक्नुभएको छैन ।

हरेक चिजको डाटा छ त । हामी आउँदा नै २६ प्रतिशत चुहावट थियो । त्यसपछि हामीले २२ प्रतिशतमा झार्‍यौँ । त्यसपछि २० प्रतिशतमा झार्‍यौँ । यसपाली १८ प्रतिशत टार्गेट राखेका छौँ । पुससम्म ६ महिनाको संञ्चित नोक्सानी चाहिँ १५ प्रतिशत थियो । त्यो हरेक शाखाबाट हिसाब गरेर आएको हुन्छ । माघमा फेरि अर्को संञ्चित डाटा आउँछ । अलिकति थपघट हुन्छ । अनि, फागुनमा गएपछि हुन्छ । गर्मी याममा फेरि नोक्सानी अलिकति बढ्छ । तराईमा गर्मी बढेपछि लोड बढ्छ, मान्छेले चोर्न पनि थाल्छन् । अहिलेचाहिँ १७/१८ प्रतिशतको हाराहारीमा नोक्सान भइरहेको छ । अब एक महिना बाँकी छ । असारसम्म वर्षभरिको एभरेज नोक्सानी आउँछ । यसपाली हामीले लिएको टार्गेटभन्दा कम आउँछ । हाम्रै पूर्वकर्मचारीले समेत ‘यो डाटा म्यानुपुलेसन हो’ पनि भने । डाटा पनि मैले ढाँटेर हुन्छ ? मैले लुकाउने कुरै होइन ।

 

अभियोग ११ : दम्भी हुनुहुन्छ । नेतृत्वले गरेका निर्णयसमेत अटेर गर्नुहुन्छ । तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले तपाईंलाई चिलिमे जलविद्युत् आयोजनाको प्रमुखबाट फिर्ता बोलाउँदा प्राधिकरणमा हाजिर हुनसमेत जानुभएन । बरु, स्थानीयलाई उक्साएर मन्त्रीविरुद्ध नाराजलुस नै गर्न लगाउनुभयो । त्यतिखेर धादिङको ससुराली गाउँबाट मान्छे बोलाएर जुलुस निकाल्न लगाएको आरोप तपाईंमाथि लाग्यो । 

म दम्भी छु, त्यस्तो त लाग्दैन । त्यस वेलाको चिलिमेको घटनाबारे  तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीलाई धन्यवाद दिन चाहन्छु । उहाँले मलाई चिलिमेबाट हटाएर यहाँ नतानेको भए अहिले प्राधिकरणको कार्यकारी निर्देशक हुने थिइनँ । उहाँले मलाई चिलिमेबाट तानिसकेपछि त्यहाँका जनताले मेरा कामहरू सम्झेर आन्दोलन गरे । त्यसमा मेरो के भूमिका भयो र ? त्यसवेला म एउटा कर्मचारी हुँ, कर्मचारीले २१ दिनभित्र रमाना लिनुपर्ने थियो, मैले त्यही अवधिमा रमाना लिएर आएको हुँ ।

 

अब म कसरी अटेरी भएँ ? र, त्यहाँ स्थानीय जनताले आन्दोलन गर्छन् त मैले के भनूँ ? मैले भैँसी काटेर खुवायो, गाई काटेर खुवायोसम्म भने । पत्रिकाहरूले पनि केके लेखे लेखे । त्यतिवेला आन्दोलन गर्ने रसुवाका साथीहरूलाई पनि एकदमै चोट परेको रहेछ । म कार्यकारी निर्देशक भएपछि लोडसेडिङ अन्त्य भयो, ठूलो उपलब्धि भएपछि मेरो चर्चा हुन थाल्यो । एकदिन न उहाँहरू घरमै आउनुभयो । ‘हामीले जे आन्दोलन गरेका थियौँ, त्यसको अहिले जस्टिफाइ भयो, हामी धेरै खुसी भयौँ । त्यसवेला तपाईं, हामीलाई ठुल्ठूला चार्ज लगाएका थिए, तपाईंले अहिले जे काम गरेर देखाउनुभयो, त्यसका लागि धन्यवाद छ’ भनेर जानुभयो ।

 

अभियोग १२ : आलोचना सुन्नै सक्नुहुन्न, पूर्वाग्रही हुनुहुन्छ । आलोचना गर्नेहरूसँग प्रतिशोध साध्नुहुन्छ । प्रशंसा गर्ने कर्मचारी र ठेकेदार कम्पनीलाई काम नगरे पनि च्याप्नुहुन्छ, मन नपरेकाले काम गर्ने पनि पेल्नुहुन्छ ।

प्राधिकरणभित्रका मेरा शत्रुले काम गरिदियो भने मेरो सबभन्दा ठूलो सफलता हो भनेर बुझ्ने मान्छे हुँ म । कुनै पनि कर्मचारीले काम गर्ने भनेको मेरो सफलताका लागि हो । मैले काम गर्ने भनेको मन्त्रीको सफलताका लागि हो । मन्त्रीज्यूको सफलता भनेको प्रधानमन्त्रीको सफलता हो, सरकारको सफलता हो । सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको सपोर्ट नभएको भए मैले कसरी काम गर्न सक्थेँ ? र, तल्लो लेबलबाट पनि सपोर्ट नपाईकन काम गर्न सक्दिनन् नि मैले । त्यसैले मैले कसैप्रति पूर्वाग्रह राख्दिनँ । राम्रो मान्छे छ भने मेरो शत्रु नै भए पनि उसलाई मैले ठाउँमा राखेर काम गराएको छु । तर, जसले चाहिँ कामै गर्दैन, जहिले पनि ब्याकबाइटिङ मात्र गर्छ भने त्यस्तालाई जिम्मेवारी दिएर केही हुँदैन । उहाँहरू आरामसँग बसेकै राम्रो हुन्छ ।

नयाँपत्रिकाबाट खगेन्द्र पन्त

प्रतिक्रिया दिनुहोस
विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

     मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ

मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने

दुर्गा प्रसाईं पक्राउ

  धानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

प्रधानमन्त्रीविरुद्ध नक्कली कागजात तयार गरीयो : महासचिव पोखरेल

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा