आजभोली बढ्दो आत्महत्याको कारण के हो हेर्नुहोस्



हाम्रो इकोनोमि

 

 

नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन् । दिनहुँजसो आत्महत्याका समाचारहरु पढ्न र सुन्नु परेको छ । त्यसो त आत्महत्याका घटना नेपालमा मात्रै नभएर बिश्वभरि नै हुने गरेका छन् । बिश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार बिश्वमा प्रत्येक बर्ष करीव ८ लाख मानिसले आत्महत्या गर्छन । यस आधारमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गरेको हुन्छ ।

 

नेपालमा आत्महत्या गर्नेहरुमध्ये करीव ७२ प्रतिशतले झुण्डिएर आत्महत्या गर्छन् । बिष सेवन गरेर, आफूले आफैंलाई गोली हानेर, आगो लगाएर, हामफालेर, करेण्ट लगाएर, हातहतियारको प्रयोग गरेर आत्महत्या गर्ने गरेको पाइन्छ । कतिपय अवस्थामा आत्महत्यालाई हत्या भएको भन्दै मुद्दा परेका घटनाहरु छन् । यसले सामाजिक सम्वन्धमा खलल पुर्‍याउँछ । आत्महत्यालाई आफ्नो माग पूरा गराउने सौदाबाजीको रुपमा पनि प्रयोग गर्ने गरेको छ ।

 

नेपाल प्रहरीको पछिल्लो पाँच बर्षको तथ्यांक हेर्दा २४ हजार ६३९ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७४/७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरेको देखिन्छ । ०७३/०७४ मा ५ हजार १३१ जनाले आत्महत्या गरेका छन् भने ०७२/०७३ मा ४ हजार ७०५ जना र ०७१/०७२ मा ४ हजार ३५० जनाले आत्महत्याको बाटो रोजेका छन् । त्यस्तै ०७०/०७१ मा ५ हजार १०७ ले आत्महत्या गरेका छन् ।

 

पाँच वर्षको अवधिमा आत्महत्या गर्नेहरुमा ११ हजार ६४५ महिला रहेका छन् । कुल आत्महत्या गर्नेमध्ये १ हजार १४६ बालबालिका छन् । यस आधारमा देशभरिमा प्रत्येक दिन १४ जनाले आत्महत्या गर्छन् भन्ने हिसाव निकाल्न सकिन्छ । तथ्याङ्क हेर्दा प्रत्येक बर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको छ । यो तथ्याङ्क प्रहरीसम्म आएको जानकारी मात्रै हो ।

 

अहिले पनि दुर्गम ग्रामीण क्षेत्रमा हुने आत्महत्याका घटनाहरु वा शहरमै पनि सम्भ्रान्त घरानामा हुने आत्महत्याका घटनाहरु प्रहरीको अभिलेखसम्म आउँदैनन् । प्रहरीलाई जानकारी गराए पोष्टमार्टम लगायतका कानुनी प्रक्रियाहरु पूरा गर्नुपर्ने झण्झटिलो र खर्चिलोमा लाग्नु भन्दा स्वाभाविक मृत्युु भन्दै अन्तिम संस्कार गर्ने चलनले कतिपय ग्रामीण क्षेत्रका घटनाहरु अभिलेखमा आउँदैनन् । यदि सवै घटनाको अभिलेखीकरण हुने हो भने यो संख्या अझ बढी हुन सक्छ ।

 

प्रत्येक वर्ष सेप्टेम्बर १० लाई विश्व आत्महत्या रोकथाम दिवसका रुपमा मनाइँदै आएको छ । आत्महत्या रोकथाम दिवसको सन् २०१८ को नारा ‘आत्महत्या नियन्त्रणका लागि सबै एकजुट होऔं’ भन्ने तय गरिएको थियो ।

 

डोटी जिल्लामा गरिएको एक अध्ययनबाट कुल आत्महत्या गर्ने संख्याको करीव ३८ प्रतिशत बेरोजगारीका कारण आत्महत्याको तहमा पुग्छन् । विगत तीन बर्षमा डोटी जिल्लामा आत्महत्या गर्ने ४७ व्यक्तिका परिवारका सदस्यहरुमा गरिएको उक्त अध्ययनले प्रेम सम्वन्ध बिग्रेर वा पारिवारिक–सामाजिक कारणले प्रेम बियोगमा परेर आत्महत्या गर्ने १७ प्रतिशत रहेका छन् ।

 

यस्तै पारिवारिक समस्याका कारण आत्महत्या गर्ने अर्थात् परिवारमा भएको झै–झगडा, अभाव वा मनमुटावका कारण आत्महत्या गर्नेहरु १२.७६ प्रतिशत र परीक्षामा असफल भएर १०.६३ प्रतिशत रहेका छन् । स्वास्थ्य समस्या वा मानसिक समस्याका कारण आत्महत्या गर्छ भन्ने आम बुझाई रहेको छ । तर, यस अध्ययनले आत्महत्या गर्नेहरुमध्ये ८.५१ प्रतिशतले मात्रै स्वास्थ्य समस्याका कारण आत्महत्या गर्ने गरेको देखाउँछ । नसालु पदार्थ सेवन गरे ६.३८ प्रतिशत र अन्य सामाजिक झमेलाका कारण ६.३८ प्रतिशतले आत्महत्या गर्ने गरेका छन् ।

 

आत्महत्या प्रायः १५ देखि २४ बर्ष उमेर समूहका व्यक्तिहरुले गरेको देखिन्छ । आत्महत्याको एउटै कारण सवै व्यक्तिमा लागू हुन्छ भन्ने हुँदैन । उदासिनता, रक्सी र अन्य लागु औषधीको दुरुपयोग, दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या, द्वन्द्व, घरेलु हिंसा, आफन्तको मृत्यु, गरिवी, वेरोजगारी, मायामा धोका, पढाइमा असफल जस्ता कारणले व्यक्ति आत्महत्याको तहमा पुग्ने गरेको छ ।

आत्महत्याको कारण

 

आत्महत्याको अर्थ स्वयंलाई मार्नु भन्ने हो । प्रत्येक आत्महत्या व्यक्तिगत समस्याका कारण हुने गर्छन् । व्यक्तिले विभिन्न आकाङ्क्षाहरु पालेको हुन्छ र ती आकाङ्क्षाहरु तत्काल पूरा होऊन भन्ने चाहन्छ । ती चाहनाहरु पूरा नभएपछि आत्महत्या गर्न पुग्छ ।
तर, समग्रतामा अध्ययन गर्दै जाँदा कुनै व्यक्ति आत्महत्याको तहमा पुग्नुको मुल कारण समाज हो । हरेक व्यक्तिका ईच्छा, चाहना, आवश्यकताहरु हुन्छन् । उसले ती ईच्छा, चाहना, आवश्यकताहरुलाई परिपूर्ति गर्न चाहान्छ । तर, समाजले उसलाई छुट दिँदैन । यस्तो अवस्थामा आवेशमा गरिएको निर्णयले व्यक्ति अप्राकृतिक मृत्युवरण गर्छ । व्यक्तिलाई आत्महत्याको तहसम्म पुर्‍याउन समाज उत्प्रेरकको भूमिका गर्छ ।

 

उदाहरणका लागि पछिल्लो समयका आत्महत्याका घटनाहरुलाई लिन सकिन्छ । युवा–युवतीवीच प्रेम सम्वन्ध भयो, उनीहरु बिहे गर्न चाहान्छन् तर समाजले जातको नाममा, धर्मको नाममा, वर्गको नाममा वा यस्तै कुनै वहानामा उनीहरुलाई बिहे गर्ने अनुमति दिँदैन । सँगै मर्ने, सँगै जीउने बाचाका साथ प्रेम गरेको युगल जोडी छुट्टिनु पर्दा युवा वा युवती वा दुवै आत्महत्याको तहमा पुग्छन् ।

 

त्यस्तै परीक्षामा असफल हुँदा धिक्कार्ने हाम्रो समाज बेरोजगार हुँदा “निकम्मा” उपमा दिन्छ । यी र यस्ता कतिपय सामाजिक कुराहरु छन्, जसले गर्दा व्यक्ति आत्महत्याको तहमा पुग्छ । त्यसकारण आत्महत्याको मुख्य कारण समाज नै हो ।

 

पौराणिक कालमा पनि आफू पृथ्वीमा जुन काम गर्न आएको हो त्यो काम सकिएपछि “स्वयं समाधिस्थ” भएका कथा पनि पढ्न पाइन्छन् शास्त्रहरुमा । त्यसरी समाधिस्थ हुनु पनि आत्महत्या नै हो । तर, परिस्थिति अनुसार आत्महत्याको परिभाषा फरक–फरक हुँदोरहेछ ।

 

यस्तै, बच्चाहरुको बढ्दो महत्वाकाङ्क्षा र आफ्नो आयश्रोतको तालमेल मिलाउन नसकेर आत्महत्या गर्नेहरू पनि भेटिएका छन् भने अर्कोतर्फ अभिभावकहरुले छोडेर हिँडेपछि उनीहरूका बच्चाहरुको एक्लोपन र गलत सङ्गतले नशालु पदार्थ एवं कुलतमा फस्ने गरेको पनि भेटिन्छ ।

 

अभिभावकहरुको अनुपस्थितिमा जीवनलाई नबुझ्दै गर्ने ‘लिभिङ् टुगेदर रिलेसनसिप’मा धोका, अविश्वास र अपरिपक्व अवस्थामा रहेको अवैध गर्भाधारणले युवायुवतीहरुलाई आत्महत्या गर्न बाध्य बनाएको भेटिन्छ र वृद्धवृद्धाहरुले आफ्नै सन्तानबाट सहनु परेको अपहेलना र मानसिक तनाव आर्थिक अभाव, विभिन्न किसिमका रोगहरुलाई खप्न नसकेका कारण समेत आत्महत्या गर्ने गरेको पाइन्छ ।

 

समाजशास्त्री इमाइल दुर्खिमले सामाजिक, सांस्कृतिक, धार्मिक मान्यताले समाजलाई बाधेर राखेको हुन्छ भनेका छन् । उनले धर्म भनेको एउटा यस्तो संयन्त्र हो जसले व्यक्तिहरु माथि नियन्त्रण गर्दछ भनेका छन् । दुर्खिमले आफ्नो पुस्तक ‘सुसाइड’ मा समाजमा हुने आत्महत्याका घटनाहरु व्यक्तिगत कारण नभई सामाजिक कारणबाट हुने बताएका छन् ।

 

आत्महत्या विश्वभरिमा जनस्वास्थ्यको सवाल बनेको छ । यसले समाज, देश र विश्वलाई प्रभावित बनाएको छ । आत्महत्याबाट युवाहरु बढी प्रभावित रहेका छन् । १५–२९ उमेर समूहका मानिसहरुको दोश्रो ठूलो मृत्युको कारण आत्महत्या बनेको छ । आर्थिक अवस्था कमजोर भएका र मध्यम आर्थिक अवस्था भएका मुलुकहरुमा यो समस्या बढी देखिए पनि विश्वभरि नै समस्याका रुपमा रहेको छ ।

 

पछिल्लो अवस्थामा नेपाली समाजमा आत्महत्याका कारणहरु हेर्दा, सामाजिक सञ्जाल र सञ्चार उपकरणहरुको दुरुपयोग अर्को महत्वपूर्ण कारण भएको छ । सञ्चार उपकरणबाट एक आपसमा जोडिँदै जाँदा प्रेम सम्वन्धसम्म पुग्ने, पछि परिवारका कारण छुट्टिने अवस्था आउने वा धोका पाउने, बालबिवाह र बहुबिवाह बढी हुने, ढाँटेर अर्को बिवाह गर्ने जस्ता घटनाहरु हुँदै जाने र अन्ततः आत्महत्याको तहमा पुग्ने गरेको पाइन्छ । यस्ता घटनामा पनि कारण भने समाज नै हुने गरेको छ ।

 

डोटी जिल्लाको अध्ययनमा शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा आत्महत्या गर्नेको संख्या बढिरहेको पाइन्छ । अभाव, दवाव र अपहेलना शहर भन्दा ग्रामिण क्षेत्रमा बढी भएका कारणले पनि ग्रामिण क्षेत्रका बासिन्दाहरुले आत्महत्याको तहमा पुगेका हुन सक्छन् । अर्कोतर्फ कानुनी उपचारका लागि सहज पहुँच नभएका कारण पनि ग्रामीण क्षेत्रमा आत्महत्याका घटनाहरु बढी छन् ।

 

प्रतिक्रिया दिनुहोस
सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गर्ने सरकारको तयारी

    सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी...

नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...