श्रीमान श्रीमतीले भुलेरपनि नगर्नुस् अरुसँग यी ५ कुरा
श्रीमान् श्रीमती एकै रथका दुई पांग्रा हुन् । रथको एक पांग्रा विग्रिए वा नभए रथ अगाडि जान सक्दैन त्यस्तै श्रीमान् श्रीमतीबीच समस्या उत्पन्न भयो भने रथ रुपी सम्बन्धपनि अघि बढ्न सक्दैन ।
त्यसैले श्रीमान् श्रीमतीले वैवाहिक जीवन सन्तुलित र सधैं सुखी राख्नको लागि सचेत हुनुपर्छ । पतिपत्नी बीच कहिलेकाहीँ झगडा हुन्छ । ‘बुढाबुढीको झगडा परालको आगो’ भन्ने त लोक उक्ति नै छ ।
त्यस्ता समस्यालाई आपसी छलफल र कुराकानीबाट समाधान गर्न सकिन्छ । यदी सामान्य समस्या पनि दुई जनाबाट बाहिर जान थाल्यो भने समस्याले थप जटिलता सिर्जना गर्छ । यस्तो व्यवहारले परिवार नै ध्वस्त हुने अवस्थामा समेत पुग्ने गरेको छ ।
पतिपत्नीबीचको समस्या वा झगडालाई तेस्रो व्यक्तिसँग पुर्याउँदा दुई जनाबीचको दरार झन् बढ्ने भएका कारण यस्ता समस्यालाई सकेसम्म दुई जनाबीच नै समाधानको प्रयास गर्ने गर्नुहोस् ।
आफूहरुबीचको सम्बन्धका बारेमा खुल्ला रुपमा साथीहरुसँग कुरा गर्नु र व्यक्तिगत कुरालाई सामाजिक सञ्जालहरुमा सेयर गर्दा कहिले काही समस्या थप जटिल हुन जान्छ ।
पतिपत्नीबीच कतिपय कुराहरु नितान्त व्यक्तिगत हुने गर्छ जुन कुरा तपाइँले अरु साथीलाई सुनाउँदा उसले त्यसस्ता कुरामा खेल्ने मौका पाउँछ ।
उसले त्यस्ता विषय तपाईंका शत्रु वा पति÷पत्नीलाई सुनाइदिने समस्या पनि पर्न जान सक्छ जसका कारण समस्या थप बढ्न जान्छ । यी ५ कुरालाई सकेसम्म तेस्रो पक्षसँग पुग्न नदिने प्रयास गर्नुभयो भने पति पत्नीबीच समस्या देखिने छैन ।
पति पत्नीबीचको झगडा
पति पत्नीबीच कहिलेकाहीँ झगडा हुन सक्छ । माथि नै भनिएको जस्तो पति पत्नीको झगडा परालको आगो जस्तै हो ।
तर यही कुरा अर्को पक्षकहाँ पुग्दा त्यसले उग्र रुप लिने सम्भावना पनि हुन जान्छ । वा तेस्रो पक्षले त्यस्ता कुरामा खेल्ने सम्भावना पनि हुन जान्छ ।
त्यसैले पति पत्नीबीच भएको समस्यालाई आपसी छलफल कुराकानीमा समाधान गर्न जरुरी हुन्छ ।
आर्थिक कुरा
पारिवारिक कलहको अर्को कारण आर्थिक पक्ष हो । आर्थिक रुपमा कमजोर अवस्था भएको खण्डमा यी समस्याहरु धेरै आउने गरेको पाइन्छ ।
पतिले पत्नीको र पत्नीले पतिको कमाइ कम छ, राम्रो गर्न सकेकै छैन भन्ने अरुलाई सुनाउन जरुरी छैन ।
किनकी समस्याहरु त पति पत्नी मिलेर नै समाधान गर्ने हो । आर्थिक रुपमा कमाइ गर्न सकेको छैन, पारिवारिक अवस्था यस्तो कमजोर छ लगायतका कुरा बाहिर गर्दा उनीहरुले तपाई माथि हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन गर्न सक्छन् ।
शयन कक्षका कुरा
शयन कक्षा वा वेडरुमका कुरालाई सामान्यतया दुई जनामा सिमित राख्दा फाइदा पुग्छ । यस्ता विषयमा मानिसहरुको विशेष चासो रहन सक्छ ।
साथीभाइले निकै चासो पूर्वक सोधेको खण्डमा उत्साही हुँदै यस्ता कुराहरु खोल्दा ती विषय कुनै दिन मजाकको विषय बन्न पुग्न सक्छ ।
एक जना मिल्ने साथीबाट अर्कोमा सेयर हुन जानसक्छ र त्यही कुरा पुन पति वा पत्नीले थाहा पाएमा त्यसले सबैभन्दा ठूलो समस्या ल्याउन सक्छ ।
नकारात्मक कुरा
पति पत्नीको सम्बन्ध सधैं राम्रो मात्र हुन्छ भन्ने हुँदैन । यो दुई पक्षबीचको आपसी सहमतिको सम्बन्ध भएका कारण यो सम्बन्धलाई राम्रो बनाउन सकेसम्म सकारात्मक सोच राख्न आवश्यक हुन्छ ।
पति वा पत्नीको नकारात्मक मात्र कुराबारे साथीभाइसँग सेयर गर्नुभयो भने उनीहरुले पनि त्यसमा हो मिलाउने र दुई जनालाई मिलाउनु भन्दा एक पक्षलाई उचाल्ने, डिभोर्सका लागि उक्साउने आदी कार्य गर्न सक्छन् ।
विवाह पूर्वको सम्बन्ध
पति पत्निले विवाह भन्दा पहिलाको सम्बन्धबारेमा कुरा गर्दा धेरैमा समस्या पर्ने गरेको छ । केहीले त्यस्ता सम्बन्धलाई स्वीकार गर्न सक्दैनन् ।
त्यसैले यस्ता सम्बन्धहरुलाई सकेसम्म आफैंमा वा पति पत्नीबीचमा राख्ने गर्नुहोस् ।
‘मेरो पतिको त पहिला फलानो फलानोसँग अफियर रहेछ नि’ वा मेरो पत्नीको फलानोसँग चक्कर चलेको रहेछ नि भन्दै मिल्ने साथीलाई भन्दा पनि त्यस्ता विषय अन्यत्रसम्म फैलने र रमाइलो रमाइलैमा साथी भाइले त्यस्ता विषयलाई उडाउने आदी गर्दा समस्याहरु उत्पन्न हुन जान्छ ।
त्यसैले पारिवारिक समस्या पर्न नदिन पति पत्नी दुई जनाबीच हरेक विषयमा छलफल, समस्याको सुझवुझ पूर्ण समाधान गर्न सकिएको खण्डमा वैवाहिक जीवनलाई राम्रोसँग चलाउन सकिन्छ ।