चितवनको माडीमा १२० बिगाहा जमीनमा चक्लाबन्दी खेती शुरु



हाम्रो इकोनोमि

 

जिल्लाको माडीमा चक्लाबन्दी खेती शुरु गरिएको छ ।

प्रदेश नं ३ सरकारको सहयोगमा माडी नगरपालिका–८ कान्तिपुरमा रहेको सूर्योदय सहकारी संस्थाले किसानको जग्गा एकीकरण गरी चक्लाबन्दी खेती शुरु गरेको हो

संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलका अनुसार ६८ जना कृषकको १२० बिगाहा जमीनमा चक्लाबन्दी खेती शुरु गरिएको छ ।

कृषकलाई वार्षिक रुपमा एक कट्ठा जग्गाको एक मुरी धान दिने गरी १५ वर्षका लागि भाडामा लिएर सो खेती शुरु गरिएको हो ।

पौडेलले आम्दानीपछि बचत भएको रकमसमेत उनीहरुलाई पनि शेयर सदस्य बनाएर वितरण गरिने जानकारी दिए ।

चक्लाबन्दी खेतीका लागि जमीन मिलाएर धानको बीउ राख्न शुरु गरिएको छ ।

पौडेलले आज दुई क्विन्टल राधा ४ जातको धानको बीउ राखिएको बताए ।

सहकारीले बीउ राख्नका लागि राधा ४ र सावित्रीको १०÷१० क्विण्टल खरीद गरिसकेको छ । केही दिनभित्र बीउ राखिसक्ने जनाइएको छ ।

धान लगाइने जमीनमा यसपछि गहुँ र मकै लगाइँदैछ । सोही क्षेत्रमा चार कट्ठा दश धुर जमीनमा तरकारी खेतीका लागि ग्रिन हाउस निर्माण गरिँदैछ ।

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठका अनुसार यस प्रदेशको चितवनको माडी र सिन्धुलीको दुधौलीमा चक्लाबन्दी खेती शुरु गरिएको हो ।

प्रदेश सरकारले ज्ञान केन्द्रमार्फत जमीन चक्लाबन्दी गर्न रु २५ लाख, विभिन्न कृषि औजार खरीद गर्न रु ६५ लाख, सहकारी खेती शीर्षकमा रु ६ लाख अनुदान दिने श्रेष्ठले जानकारी दिए ।

यससँगै ग्रिन हाउस निर्माणका लागि कन्दमूल तरकारी विकास केन्द्र सिन्धुलीले रु २५ लाख उपलब्ध गराउने श्रेष्ठले बताए ।

चक्लाबन्दी खेती गर्दा मेशिनरी उपकरण प्रयोग गरेर ठूला गरामा आधुनिक खेती गरिन्छ । जसले लागत मूल्य घटाउने श्रेष्ठको भनाइ छ ।

सो क्षेत्रमा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले दुई पटक पुगेर कृषकलाई उत्साहसमेत थपेको स्थानीयवासीले जनाएका छन् ।

कृषकलाई गोलबन्द गर्दै सहकारीलाई विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ ।

केही महीनाअघि ३० जना सदस्यबाट दर्ता भएको सहकारीमा जग्गाधनीलाई समेत सदस्य बनाइनेछ ।

माडी नगरपालिका–८ का अध्यक्ष कृष्णराज अधिकारीले कृषकका जमीनलाई चक्लाबन्दी गरी खेती गर्दा कम खर्चमा धेरै उत्पादन गर्न सकिने बताए ।

माडी नगरपालिकाले समेत तरकारी खेतीका लागि रु पाँच लाख दिने आश्वासन दिएको संस्थाका अध्यक्ष पौडेलले बताए ।

नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले प्रदेश सरकारको यस कार्यक्रममा आवश्यक सहयोग नगरपालिकाबाट हुने बताउनुभयो ।

माडी नगरपालिका उर्वर ठाउँ भएकाले चक्लाबन्दी खेती शुरु भएसँगै यसले अन्य कृषकलाई पनि ज्ञान र सीप आदानप्रदानमा सहयोग पुग्ने ढकालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...