हावाहुरीबाट २ जनाको मृत्यु, १०० भन्दा बढि घाइते



हाम्रो इकोनोमि

 

कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । १०० भन्दा बढी घाइते भएका छन् भने भौतिक संरचनामा क्षति पुग्दा जनजीवन प्रभावित भएको छ ।

हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।  त्यस्तै, टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु डगौराको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हावाहुरीका कारण कैलालीमा मात्रै ८० जना घाइते भएका छन् । उनीहरुको अहिले धनगढी अस्पतालमा उपचार भइरहेको छ । अवस्था गम्भीर भएपछि १ जना घाइतेलाई भने नेपालगञ्ज रेफर गरिएको कैलाली प्रहरीले जनाएको छ ।

 

कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यका अनुसार, २३ जना घाइते भएका थिए । यीमध्ये १५ जनाको डिस्चार्ज भएको र ८ जनालाई धनगढी रेफर गरिएको उनले बताए । एसपी आचार्यका अनुसार, घाइतेमध्ये १ गम्भीर भए पनि बाँकीको अवस्था मध्यम छ ।

 

जनजीवन प्रभावित

हावाहुरीले दुवै जिल्लाका भौतिक संरचनामा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, सयौंको संख्यामा रुखहरु ढलेका छन् भने घरका टिनका छाना उडाएका छन् । छाना उडाएपछि रातभर कष्टकर जीवन बिताएकाे पीडितहरुले बताएका छन् ।

 

सडकमा रुख ढल्दा कैलालीका विभिन्न स्थानकाे सवारी आवागमनसमेत प्रभावित भएको छ । यद्यपि, यसलाई हटाएर सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

 

हुरीले कैलालीमा विद्युतका पोलसमेत भाँचिदिएको छ । दर्जनौंको संख्यामा जिल्लाका विभिन्न स्थानबाट पोल भाँचिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । बिजुलीका पोल भाँचिएपछि जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा बन्द भएको छ । प्रहरीका अनुसार, टेलिफोन सेवा पनि प्रभावित भएको छ ।

 

कञ्चनपुरमा पनि हुरीले भौतिक संरचनामा क्षति पुर्‍याएको छ । क्षतिको यकिन विवरण प्राप्त नभए पनि कैयन स्थानबाट घरको छाना उडाएको, रुख भाँचिएको तथा बिजुलीको पोल ढलेको जानकारी प्राप्त भएको कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस
सांसदहरूलाई संसदीय अभ्यासबारे प्रशिक्षण

    प्रतिनिधिसभाका सांसदहरूलाई संघीय संसद् सचिवालयले प्रशिक्षण दिएको छ । संसद भवनभित्रको...

कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण...

राज्यलाई लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही

    राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सडक, ट्राफिक व्यवस्थापन र सरकारी...

रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...