जेठ दोस्रो साताभित्र तातोपानी नाका खुल्ने



हाम्रो इकोनोमि

 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महीनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले यही ‘मे’ महीना (जेठ १७) भित्रै सञ्चालनमा ल्याउने गरी दुवै मुलुकतिर उक्त नाकाका आवश्यक पूर्वाधारका काम भइरहेको बताउनुभयो ।

 

 

तातोपानी नाका सञ्चालनबारे चीनको सरकारले जानकारी दिइसकेको बताउँदै मन्त्री ज्ञवालीले चीनले आफ्नो क्षेत्रका बस्ती सारिसकेकाले तातोपानी नाकामा अब थोक व्यापार बढी हुने उल्लेख गर्नुभयो । गोरखा भूकम्पले क्षतिग्रस्त भएपछि उक्त नाका त्यसयता सञ्चालनमा आउन सकेको थिएन । सांसदको जिज्ञासापछि उहाँले चीनसँगका अन्य नाकाको पछिल्लो अवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।

 

मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको यही वैशाख ११ देखि १८ गतेसम्मको चीनको राजकीय भ्रमणबारेमा समितिमा जानकारी दिँदै त्यसमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको थियो । साथै उहाँले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत नेपालले लिन सक्ने पारस्परिक लाभका बारेमा प्रकाश पार्दै भारत र चीनसँग नेपालको एक मात्र स्वार्थ भनेको दुवै मुलुकसँग जोडिएर विकास गर्नु हो भन्नुभयो ।

 

मन्त्री ज्ञवालीले नेपालले आफूले नगरेको गल्तीस्वरुप जलवायु परिवर्तनका असरको सामना गर्नुपरेका सन्दर्भमा अन्तरराष्ट्रियस्तरको छलफल गर्नका लागि सो सगरमाथा संवाद अघि सारिएको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको यही वैशाख २६ गतेदेखि हुने भियतनाम र कम्बोडियाको भ्रमणका बारेमा समेत बैठकमा जानकारी दिनुभएको थियो ।

 

बैठकमा समितिका सभापति पवित्रा निरौलाले समितिले सम्बन्धित मन्त्रालय र निकायलाई दिएका निर्देशनको प्रभावकारी पालना नहुने गरेका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले सरकारका उच्चस्तरीय विदेश भ्रमणबारे समितिलाई अग्रीम जानकारी गराई आवश्यक छलफल गर्नुपर्ने धारणासमेत व्यक्त गर्नुभएको थियो ।

 

बैठकमा नेपाल वायुसेवा निगमको जहाज खरीदसम्बन्धी उपसमितिका संयोजक दीपकप्रकाश भट्टले उपसमितिले तयार गरेको अध्ययन प्रतिवेदन समिति सभापतिलाई बुझाउनुभएको थियो । विसं २०७५ मङ्सिर १९ गते गठित उक्त उपसमितिका सदस्यमा दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, सरलाकुमारी यादव र सुदन किराती हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...