विमानमै पाइलट मस्त निदाएपछि !



हाम्रो इकोनोमि

 

यो तस्वीर हेर्नुस् त, यी नेपाल वायु सेवा निगमका पाइलट हुन् । पाइलटले लगाउने टोपी भित्तामा झुण्ड्याएका छन् ।

घाँटीमा सिरानी अड्डाएर ककपिटभित्रै निदाइरहेका छन् । घर वा होटलभित्र निदाएको भए त ठीकै थियो तर यी पाइलट हवाइजहाज उडाइरहेका बेला विमानभित्रै निदाएका हुन् ।

हवाइजहाजको ककपिटभित्रै पाइलट निदाएको विदेशी समाचार त हामीले पढ्दै आएका हौं, तर यो तस्वीर राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको पाइलटको हो । यी पाइलट हुन् क्याप्टेन नागराज शंकरमूर्ति ।

र, यो तस्वीर हो, एयरबस ३२० न्यारोबडी जहाजभित्र ककपिटमा खिचिएको ।

काठमाडौंबाट दुबई उडेका बेला नागराज मस्त निदाइदिए । र चालक दलका सदस्यसहित १६५ जनाको ज्यानको जिम्मा को–पाइलटकाे भरमा छाडिदिए ।

नेपाल एयरलाइन्समा आउनुअघि हिमालयन एयरलाइन्समा कार्यरत थिए नागराज । हिमालयन एयरलाइन्समा पनि उनी त्यस्तै गर्दथे ।

त्यसैले सुरक्षामा संवेदनशील नदेखिएको भन्दै हिमालयन एयरलाइन्सले बर्खास्त गरेको थियो । त्यसपछि उनी नेपाल एयरलाइन्समा आएका हुन् ।

आफूलाई निष्काशन गरेकोमा हिमालय एयरलाइन्सविरुद्ध उनले अदालतमा मुद्दासमेत हालेका थिए । नागराज भारतीय नागरिक हुन् ।

हालै गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै वरिष्ठ पाइलट विजय लामालाई निगम व्यवस्थापन पक्षले प्रवक्ताबाट हटाएको थियो ।

तर, ककपिटभित्रै निदाइदिने नागराजलाई भने केही नगरेको भन्दै नेपाल एयरलाइन्सका कर्मचारीहरु रुष्ट छन् ।

नेपाल एयरलाइन्सका एक कर्मचारी भन्छन्, ‘मुख्य पाइलट हुन् नागराज, उनी ककपिटभित्रै चुरोट पिउँछन् । त्यतिमात्रै होइन, हरेक उडानमा निदाइदिन्छन् ।

यस्तो गम्भीर लापरवाही हुँदा पनि नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्स चुप लागेर बस्नु आश्चर्यजनक छ ।’

कस्तो अवस्थामा पाइलट निदाउन पाउँछन् ?

कतिपय देशमा पाइलटहरुलाई ककपिटमा सुत्नका लागि अनुमति दिइएको हुन्छ । सामान्यतः लामो उडानमा त्यस्तो गर्ने गरिन्छ, जहाँ ३ या ४ जना पाइलटहरु हुन्छन् ।

अमेरिकाको सन्दर्भमा कम्तिमा दुईजना पाइलट जागेको अवस्था हुनुपर्छ । त्यो स्थितिमा अन्य एक वा दुईजना पाइलट सुत्न सक्छन् ।

रातभरि चल्ने प्लेनमा कम्तिमा एकजना पाइलट जागा रहेको अवस्थामा अर्को सुत्न सक्छ ।

जस्तो कि पिसाव लाग्यो भने उसले अर्को पाइलटलाई छाडेर ट्वाइलेट जान सक्छ । यसबाट अनुमान गरिन्छ कि प्लेनमा एकभन्दा बढी पाइलट जागा हुनैपर्छ ।

आजभन्दा ५ महिना अगाडि गार्जियनले लेखेको एक समाचार अनुसार अष्ट्रेलियामा डेभेनपोर्ट तस्मानियादेखि बास स्ट्रेटको किङ आइसल्याण्डका लागि उडेको जहाजका पाइलट निदाउँदा प्लेन गन्तव्यभन्दा ४६ किलोमिटर टाढा पुगेको थियो ।

सेफ्टी विभागमा पाइलटका आफन्त !

यसैवीच नेपाल वायु सेवा निगमको जहाज ल्याण्ड गर्दा अनावश्यक ‘रिभर्स’ हान्ने गरेका कारण इञ्जिन चाँडो बिग्रने गरेको चर्चा पनि यतिखेर पाइलटहरुवीच चल्ने गरेको छ ।

हवाइजहाज ल्याण्ड गर्नेबेलामा जहाजको गति घटाउन ‘रिभर्स’ हानिन्छ, जुन एकप्रकारको ब्रेकजस्तै हो ।

तर, ७२ नटभन्दा कममा आइसकेपछि रिभर्स हान्दा इञ्जिन बिग्रने डर हुँदाहुँदै एकजना सिनियर पाइलटले ७२ नटभन्दा मुनि दुई–तीनपटक रिभर्स हानेको रेकर्डमा देखिएको एयरलाइन्स स्रोतले बतायो ।

तर, त्यसरी लापरवाही गर्ने पाइलटलाई सेफ्टी विभागका कर्मचारीले संरक्षण गरेको स्रोतको गुनासो छ ।

गल्ती गर्ने पाइलटका नातेदार नै सेफ्टी विभागमा कार्यरत रहेकाले ती पाइलटमाथि कारवाही नभएको स्रोत बताउँछ ।

प्रमाण भए तत्काल कारवाही गर्छौं : महानिर्देशक

यसैवीच, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने यस्तो लापरवाहीको विषयमा उजुरी नआएको बताए । यस्ता विषय प्रमाणित भए तत्काल कारबाही गर्ने उनले बताए ।

‘यस्तो उजुरी आजको मितिसम्म मकहाँ आइपुगेको छैन,’ महानिर्देशक गौतमले अनलाइनखबरसँग भने, ‘यदि कसैले प्रमाणसहित उजुरी गर्नुभयो भने हामी तत्काल कारवाही गर्छौं ।’

उनले पाइलट निदाउनु र ककपिटभित्रै बसेर चुरोट पिउनु सुरक्षामा गम्भीर लापरवाही ठहरिने बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...