सिन्दूर हाल्न नपाई ट्रकले लुट्यो तीन वर्षको प्रेम



हाम्रो इकोनोमि

 

 

सिन्दूर हाल्ने अवसर कुर्दाकुर्दै सदाका लागि छुट्टिएको छ । आफ्नो प्राण प्यारी सुनिताको सिउँदोमा एक चिम्टी सिन्दूर हाल्ने समय कुर्दाकुर्दै भीमबाट दैवले सुनितालाई कहिले भेट नहुने गरी चुँडेर लगेको छ ।

मंगलबार पूर्वपश्चिम राजमार्गको लम्कीमा बिहान कलेजबाट फर्कं‌‍दै गर्दा २२ वर्षीया सुनिताको ट्रकले च्यापेर ज्यान गएको छ । करिब चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे पनि लगातार तीन वर्षसम्म आफन्तको मृत्युको कारणले भीमले सुनिताको सिउँदोमा सिन्दूर हाल्ने अवसर जुट्न सकेन ।

‘बिहे गरेको साल आफ्नै हजुरआमा बित्नुभएकाले सिन्दूर हाल्न मिलेन’ भीमले सुनाए, ‘त्यसपछि पनि लगातार आफन्त बितेपछि सुनिताको सिउँदोमा सिन्दुर रंगाउने सपना अब सपनामै सीमित बन्यो । ललितपुरस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा सिभिल इन्जिनियरिङ अध्ययनरत भीम घटनाको अघिल्लो दिन मात्र काठमाडौंबाट घर पुगेका थिए ।

घर पुगेकै दिन पतिपत्नी कैलालीको घोडाघोडी तालमा घुमफिर गरेर रमाइलो गरे । ‘मध्यरातसम्म लामो सुखदुःख भयो’, भीमले भक्कानिँदै भने, ‘करिब ६ महिनापछिको भेट सुखदुःखका साथै भविष्यको योजनाबारेमा कुरा गर्दै रात बितेको थियो । निद्रा नपुगेकाले बिहान कलेज नजानू भनेको थिएँ तर उनी गइहालिछिन् ।’

बिहान त एक्कासि दुर्घटनाको खबर सुनेपछि भीमको होसहवास उड्यो । कलेज हुँदा पनि सुनिताले भीमलाई फोन गरेकी थिइन् तर मोबाइल साइलेन्समा राखेर सुतेकाले थाहा पाएनन् । ‘दुर्घटनापछि मोबाइल खोलेर हेर्दा त मलाई पनि हजुरसँगै काठमाडौं लिनुहोला भनेर म्यासेज गरेकी रहिछिन्’, भीमले भने, ‘सँगै काठमाडौं जाने र पढाइका लागि अस्ट्रेलिया जाने योजना बनेको थियो । सबै दैवले चुँडाएर लगिदियो ।’

एकअर्कालाई निकै माया गर्ने भएकै कारण पनि दैवले हाम्रो जोडी नसहेको भीम बताउँछन् । भीमले पत्नीको शव हेर्न सकिरहेका छैनन् । ट्रकले सुरुमा हात मात्र च्यापेकोमा पछि ब्याक गरेर टाउकोमै टायर चढाएर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

‘छोरीले अघिल्लो दिन मात्रै पनि भेटेर बुबा एक्लो भाइ छ । उसले चाहेको सबै कुरा पूरा गरिदिनुहोला । हजुरले कुनै चिन्ता नलिनुहोला । म छिट्टै जागिर गरेर पैसा कमाउँछु र हजुरलाई सहयोग गर्छु भनेकी थिई’, सुनिताका बुबा तप रावलले भने, ‘अब त मलाई आश्वासन दिने मान्छे पनि कोही रहेन ।’

अघिल्लो दिन भेट हुँदा देखेको छोरीको हँसिलो अनुहार अब तपले पनि कहिलै देख्न नपाउने भएका छन् । ‘मलाई सधैँ सान्त्वना दिने र आश्वास्त पार्ने छोरी अब म कहिलै पाउने छैन’, तपले भक्कानिँदै भने, ‘छोरीको त्यो मीठो बोली सुन्ने इच्छा अब अधुरै रह्यो ।

दोषी चालकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने कुरा लिखित रूपमै सहमति हुनुपर्ने माग राख्दै आएका पीडित पक्षले अन्त्येष्टि गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
राज्यलाई लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही

    राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सडक, ट्राफिक व्यवस्थापन र सरकारी...

रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...